एउटा चिनियाँ कम्पनीसँग असफल टेलिकम अर्कोसँग जोडिँदै

एउटा चिनियाँ कम्पनीसँग असफल टेलिकम अर्कोसँग जोडिँदै

काठमाडौं : नेपाल गत पुस २६ गते पहिलोपटक चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको थियो। तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्तरूपमा इन्टरनेटको उद्घाटन गरेका थिए।

चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै टेलिकमकी तत्कालीन कार्यकारी निर्देशक कामिनी राजभण्डारीले अब इन्टरनेटमा भारतको एकाधिकार तोडिएको उद्घोषणसमेत गरिन्। सोहीबेला एक वर्षको अवधिमा नेपालमा चीनबाट १० जीबी प्रतिसेकेन्ड इन्टरनेट ल्याउनेसमेत उद्घोष भएको थियो। उद्घोष गरेको एक वर्ष पूरा भइसकेको छ। यो अवधिमा टेलिकमले चिनियाँ इन्टरनेटमा कुनै किसिमको प्रगति गर्न सकेको छैन। बरु टेलिकमले नयाँ चिनियाँ कम्पनीसँग सम्झौता गरेर इन्टरनेट ल्याउने तयारी गरेको टेलिकमको व्याकबोन ट्रास्ममिसन निर्देशनालयकी प्रबन्धक संगिता पहाडीले जानकारी गराएकी छन्। एक वर्षअघि चाइना टेलिकम कम्पनीसँग सम्झौता गरेर नेपालमा इन्टरनेट भिœयाएको टेलिकमले अब चाइना युनिकम कम्पनीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ।

यसका लागि टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको पहाडीले बताइन्। उनका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै चीनको नयाँ कम्पनीबाट नेपालमा इन्टरनेट भिœयाउने तयारी भएको हो। त्यसका लागि कम्पनी पूर्णरूपमा तयारी भइसकेको उनले बताइन्। उनका अनुसार पुरानै मूल्यमा नयाँ कम्पनीबाट इन्टरनेट ल्याउने तयारी भएको छ। चाइना टेलिकम र चाइना युनिकम दुवै चिनियाँ सरकारी कम्पनी भएकाले दुवैबाट आउने ब्यान्डविथको मूल्य एउटै हुनेछ। यसअघि नेपाल टेलिकमले चाइना टेलिकमसँग मासिक २५ डलर प्रतिएमबी पीएसका दरले १.५ जीबीपीएस इन्टरनेट ल्याएको थियो। त्यही मूल्यमा नयाँ कम्पनीसँगबाट इन्टरनेट ल्याउने तयारी भइरहेको छ।

अन्य मुलुकबाट आउने इन्टरनेटको मूल्य घटेर प्रतिएमबीपीएस १० डलरको हाराहारीमा आइसकेको अवस्थामा टेलिकमले नयाँ चिनियाँ कम्पनीसँग सम्झौता गर्ने हो भने त्यसबाट टेलिकमले ठूलो नोक्सान बेहोर्नुपर्नेछ। पहाडीका अनुसार पहिलो कम्पनीबाट टेलिकमले १० जीबी इन्टरनेट ल्याउने गरी सम्झौता गरेको हो। चीनबाट इन्टरनेट ब्यान्डविथ थप गर्न ब्यान्डविथको खपतमा वृद्धि हुनुपर्नेछ। त्यो अहिले भएको छैन। आवश्यक पर्नेबित्तिकै कम्पनीले उक्त कम्पनीबाट १० जीबी इन्टरनेट ल्याउन सक्नेछ। अर्कोतर्फ यसबीचमा अर्को कम्पनी पनि सम्झौताका लागि तयार भएकाले प्रक्रिया अघि बढाएको उनले बताइन्।

‘नयाँ कम्पनीबाट पनि १० जीबीपीएस ल्याउन सकिन्छ’, पहाडीले भनिन्, ‘अर्को कम्पनीसँग पनि सम्झौता गर्दा अर्को १० जीबी इन्टरनेट थपिने भएकाले टेलिकम अघि बढेको हो। यो टेलिकमका लागि पनि फाइदाजनक हुनेछ।’ टेलिकमका सहप्रवक्ता शोभन अधिकारी नयाँ कम्पनीसँग सम्झौता गर्दा अप्सन हुने भएकाले त्यो टेलिकमका लागि फाइदा हुने बताउँछन्। ‘यदि एउटाबाट आएको इन्टरनेटमा केही समस्या आए अर्को कम्पनीबाट आउने इन्टरनेट वैकल्पिक हुन्छ’, उनले भने, ‘साथै हाम्रो क्षमतामा पनि वृद्धि हुने भएकाले नयाँ सम्झौता गर्दा टेलिकमलाई फाइदै हुनेछ।’

नयाँ कम्पनीसँग सम्झौता गर्दा टेलिकमलाई वैकल्पिक बाटोका हिसाबले फाइदाजनक भए पनि एउटै मूल्यमा सम्झौता गर्दा टेलिकमलाई ठूलो असर पर्ने विज्ञ बताउँछन्। जनअपेक्षाभन्दा बाहिर गएर टेलिकमले चिनियाँ कम्पनीसँग महँगो मूल्यमा सम्झौता गरेको थियो। त्यतिबेला भारतीय एयरटेलसँग मासिक २४ डलर प्रतिएमबीपीएस तिरिरहेको टेलिकमले चाइना टेलिकमलाई २५ डलर प्रतिएमबीपीएस तिरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.