प्रधानमन्त्री ओली स्विजरल्याण्ड जाँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्याण्ड जाँदैछन्।उनी वर्ल्ड इकोनोमिक फोरमको ४९ औं बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाबोस जान लागेका हुन्।
प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय टोली डाबोसतर्फ प्रस्थान गर्दै छ। आर्थिक दृष्टिकोणले विश्वशक्ति आर्जनको रस्साकस्सी चल्ने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम)मा नेपालले यथार्थपरक अर्थ राजनीति केन्द्रित प्रस्तुति दिनसके प्रधानमन्त्रीको उपस्थितिले सार्थकता पाउने विज्ञहरूले बताएका छन्।
नेपालले उदीयमान अर्थतन्त्रबीचको मुलुकको द्वारका रूपमा नेपाललाई प्रस्तुत गर्नुपर्ने उनीहरूले बताएका छन्। उक्त फोरम विकास र समृद्धिका लागि अन्तराष्ट्रिय विश्वास आर्जन गर्ने चर्चित थलोको रूपमा चर्चित छ। प्रधानमन्त्री ओलीले डाबोसमा उपस्थित छुट्टाछुट्टै सत्रमा धारणा व्यक्त गर्न सक्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।
स्विट्जरल्यान्डको डाबोसमा विभिन्न देशका राजनीतिज्ञ, उद्यमी/व्यावसायी अर्थनीति विज्ञ र कार्यकारीहरूको उपस्थिति रहनेछ। आगामी मंगलबार आरम्भ भएर शुक्रबार सकिने उक्त बैठकले विश्वको अर्थराजनीति केलाउँदै भावी विश्वको अर्थआधार निर्देश गर्छ।उक्त फोरममा अतिकम विकसित मुलुकको सूचीबाट नेपालबाट प्रधामन्त्री जान लागेका हुन्।