खरको छानोमुक्त गाउँपालिका बनाइने

खरको छानोमुक्त गाउँपालिका बनाइने

कालिकोट : पचालझरना गाउँपालिकालाई खरको छानोमुक्त बनाउने घोषणा गरिएको छ। गत पुस ८ गते छिमेकी गाउँपालिका पलाँताको खाडामा भएको आगलागीमा ३२ घर नष्ट भएपछि पचालझरनाले आफ्नो गाउँपालिकाभरि खरको छानो हटाउने घोषणा गरेको हो।

पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले पलाँताको खाडामा भएको आगलागीजस्तै आफ्नो गाउँपालिकाका बासिन्दाले क्षति बेहोर्नु नपरोस् भन्नका लागि खरको छानो हटाउन लागेको बताए। उनले भने, ‘तेस्रो गाउँसभामा निर्णय नै गरेर सुरुवातका लागि ५ लाख बजेट विनियोजन पनि गरेका छौं, चालु आर्थिक वर्षमा गाउँपालिकाको एउटा वडाबाट सुरुवात गर्ने तयारी छ। आगामी आर्थिक वर्षसम्म गाउँपालिका नै खरमुक्त बनाउनेछौं।’

उनका अनुसार पचालझरना वडा नम्बर १ सिकु, वडा नम्बर २ खरकोट, वडा नम्बर ३ लाफा र खाद्रु, वडा नम्बर ४ राम्नाकोटका घरको छानो खरको छ। वडा नम्बर ६ तोलिभीड, तुडिखेत र बोलुगाउँ, वडा नम्बर ८ खडीतोली, छेप्राखेत, गोठी, मय र बिस्खेत तथा वडा नम्बर ९ कोटिला र तिखार्तीलगायत बस्तीका घर खरले छाएका छन्। ती बस्तीमा कुनै एउटा घरमा आगो लागे गाउँ नै सखाप हुने जोखिम छ। बर्सेनि खडेरीका बेला आगलागीको जोखिम हुन्छ।

२ हजार ३ सय घरका ७५ प्रतिशत घरको छानो खरले छाएका छन्। गाउँपालिका अध्यक्ष सेजुवालले भने, ‘पत्थरले छाएका घर १५ प्रतिशत छन्, कमेरो माटोले ढलान गरेका घर ५ प्रतिशत र टिनको छानो भएका घर ५ प्रतिशत छन्।’ गाउँपालिकाले खरको छानो पूर्ण विस्थापन गरी टिनको छानो लगाउने तयारी गरिएको छ।

त्यसका लागि गाउँपालिकाभरि खरले छाएका घरको तथ्यांक संकलन सुरु गरिएको छ। त्यसपछि यस वर्ष गाउँपालिकाले छानो फेर्न सुरुवात मात्र गर्नेछ। अर्को वर्ष प्रदेश र संघीय सरकारसँग सहयोग मागेर पूरै गाउँपालिकालाई खरको छानोमुक्त बनाउने गाउँपालिकाले जनाएको छ।

किसानलाई गोठालो भत्ता

गाउँपालिकाले भेडा, बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिने निर्णय गरेको छ। व्यावसायिक रूपमा भेडा र बाख्रापालन गर्ने किसानलाई पशुपालनमा उत्साहित गर्न प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने निर्णय गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन्। उनले यसका लागि बजेटको व्यवस्था गरेको जानकारी दिइन्।

गाउँपालिकामा ५० भन्दा बढी भेडा, बाख्रापालन गरिरहेका किसानलाई गोठालो भत्ताबापत मासिक १ हजार र सयभन्दा बढी भेडा, बाख्रा पालिरहेका किसानलाई मासिक २ हजार प्रदान गरिने उनले बताइन्।

वडा नम्बर ७ का भेडापालक लोगिन्द्र ऐडीले गाउँपालिकाको निर्णयले खुसी भएको बताए। उनले भने, ‘हामी तीन भाइले २ सय ५० भेडा पालिरहेका छौं।’ कर्णाली प्रदेश सरकारले पचालझरना गाउँपालिकामा बाख्रापालनका लागि १ करोड बजेट विनियोजन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह गाउँपालिका पचालझरनालाई खसीबोका उत्पादन केन्द्र बनाउन विकास गर्न स्थानीय बाख्रा पाल्ने किसान लक्षित गरी बाख्रा खरिद तथा खोर व्यवस्थापन गर्न प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.