भक्तपुरमा शिव सर्किट बन्‍ने

भक्तपुरमा शिव सर्किट बन्‍ने

काठमाडौं : भक्तपुरमा शिव सर्किट बन्ने भएको छ। सूर्यविनायक नगरपालिकाले नगरका सबै १० वटै वडाका शिवालय समेटेर शिव सर्किट बनाउन थालेको हो। लटरम्वेश्वर, आशापुरेश्वर, कैलाशनाथ, नन्दीकेश्वर, डोलेश्वर, सुवर्णेश्वर, अनन्तलिंगेश्वर, सोमलिंगेश्वर, गुप्तेश्वर, धर्मेश्वर र चरखण्डी गरी ११ शिवालय जोडेर शिव सर्किट बनाउन लागिएको हो। उता छिमेकी भारतले तयार पारेको रामायण सर्किटका १५ धार्मिक स्थानमा जनकपुर समेटिएको छ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक किरण थापाले हालै सम्पन्न सर्भेअनुसार ११ शिवालय करिब १४ किलोमिटर दूरीको बन्नेछ। उनले भने, ‘राजधानी काठमाडौंसँग जोडिएर र थुप्रै मठमन्दिर भएर पनि ओझेलमा परिरहेको भक्तपुर र त्यसमा पनि सूर्यविनायक नगरपालिकाको विशेष पहिचान शिव सर्किटमा भेटिनेछ। यसले नगरसँगै जिल्लाको अस्तित्वलाई उचाइमा पुर्‍याउने छ।’

बालकोटबाट सुरु भएर यो सर्किट चित्तपोलमा पुगेर टुंगिनेछ। साबिकका कटुञ्जे, नंखेल, सिपाडोल र चित्तपोल गाउँ विकास समितिलाई गाभेर सूर्यविनायक नगरपालिका बनाइएको हो। यसअघि अनन्तलिंगेश्वर भएको स्थानको नामबाट नगरपालिका बनाइएको भए पनि पछिल्लो समय बालकोट, सिरुटार, गुन्डु र दधिकोट गाविसलाई पनि जोडेपछि सूर्यविनायक नगरपालिका बनेको हो। यी सबै गाविस जोडिँदा त्यहाँभित्रका शिवसँग सम्बन्धित मठमन्दिरलाई समेटेर शिव सर्किट बनाउन सकिएको वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका थापाको भनाइ छ।

नगरपालिकाका मेयर वासुदेव थापाले सर्किटका लागि विशेषगरि सडक पूर्वाधारको विकास गरिरहेको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘सर्किटको सर्भे सकिएको र विस्तृत अध्ययन परियोजना (डीपीआर) तयार पार्ने काम पनि लगभग सकिएको छ, करिब एक महिनाभित्रै लगानी लगायतका विस्तृत विषयबारे टुंगो लाग्नेछ।’ त्यसलगत्तै टेण्डर आह्वान गरी दुई वर्षभित्र काम सक्ने उनको भनाइ छ। शिव सर्किट सूर्यविनायक नगरपालिकाको पहिचान बन्ने उनको भनाइ छ। नगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना पनि बनाइरहेको छ।

गुरुयोजनाअन्तर्गत नगर क्षेत्रलाई धार्मिक पर्यटकको प्रमुख गन्तव्य बनाउन ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने मूल नारा नगरपालिकाले तय गरिसकेको छ। थापाले धार्मिक पर्यटकलाई आकर्षित गरी आर्थिक पर्यटनको विकासमार्फत पर्याप्त आम्दानी सिर्जना गर्न नगरपालिकाभित्रका प्रत्येक वडामा रहेका शिवालय मन्दिरहरुको प्रवद्र्धनसमेत गरी शिव सर्किटको रूपमा विकास गर्ने काम भइरहेको बताए। सर्किटले जोडिने धेरै शिवालयमा सडक सञ्जालले जोडेको छ भने केहीमा कच्ची सडकमात्र छ त्यसलाई पनि पक्की बनाउने योजना छ।

सूर्यविनायकमा बनेका केदारनाथको शिर डोलेश्वर मन्दिर र एसियाकै अग्लो शिवको मूर्तिले यसअघि नै धार्मिक पर्यटनको प्रवद्र्धन गरिरहेका छन्। नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले साँगास्थित वडा नम्बर १० मा रहेको ठूलो शिव (कैलाशनाथ) सम्म पुग्न मूलसडकबाट झोलुंगे पुल निर्माण गर्न लागिएको पनि जानकारी दिए। झोलुंगे पुलका लागि स्थानीय कृषि सडक तथा पूर्वाधार विकास (डोलिडार) ले यो वर्ष दुई करोड ६० लाख विनियोजन गरेको छ। उनले थपे, ‘झोलुंगे पुल बनेपछि शिव हेर्न आउनेलाई सहजमात्र हुनेछैन, यो पनि आकर्षणको केन्द्र हुनसक्छ।’ उनका अनुसार, सूर्यविनायक नगरभित्र रानीकोटमा भ्यूटावर बनाउन एक करोड रुपैयाँ छुट्याएर काम अघि बढाइएको छ।

नगरभित्र घ्याम्पेडाँडा, अनन्तलिंगेश्वर डाँडा र बोकाचोगढी पनि पर्यटकीय दृष्टिले चर्चित छन्। संघीय सरकारले पनि सूर्यविनायकको करिब पाँच हजार रोपनी क्षेत्रफलमा राष्ट्रिय प्राणी उद्यान बनाउने काम अघि बढाइसकेको छ। नगरपालिकाको समन्वयमा बनाइरहेको उद्यानको विस्तृत अध्ययन परियोजना पनि अन्तिम चरणमा पुगेको छ भने परियोजनाअनुसार दुई सय ४५ रोपनीमा सातवटा ब्लकमा संरचना बन्दैछ। नगरपालिकाको चालु आवको कूल बजेट साढे ७६ करोडमध्ये शिव सर्किटलाई पूँजीगत खर्चमार्फत प्रयोग गर्ने गरी प्राथमिकता दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.