एउटा तग्रिंदै, अर्को धराशयी बन्दै
काठमाडौं : नेपालमा प्रकृति विशेषका दुई फरक धारका नीजि क्षेत्रबाट डेरी उद्योग सञ्चालनमा छन्। तर दुवै उद्योगको मुख्य कच्चा पदार्थ तरल दूध नै हो। फरक यति छ, एउटाले कच्चा दूध प्रयोग गरी पाउडर दूध (एसएमपी) उत्पादन गर्छ भने अर्कोले कन्डेन्स मिल्क उत्पादन गर्छ।
विनोद चौधरी घराना समूहको लगानीमा हेटौंडामा हेटौंडा डेरी इण्डस्ट्रिजले मुख्य गरी कन्डेन्स मिल्कको उत्पादन गर्दै आएको छ। यो दूध नेपालमा पहिलोपटक यही उद्योगले उत्पादन गर्न सुरु गरेको हो। कन्डेन्स मिल्क उत्पादन गर्ने अर्को उद्योग हालसम्म सञ्चालनमा आएको छैन। अर्को व्यापारिक घरानाको प्रतिनिधित्व गर्ने राजुबाबु श्रेष्ठ हुन्। जसले चितवनमा चितवन मिल्क लिमिटेड सञ्चालन गरेका छन्। यो उद्योग नीजि क्षेत्रकै सबैभन्दा ठूलो लगानीको पाउडर दूध उत्पादन गर्ने कारखाना हो। दुई उद्योगमध्ये चितवन मिल्क एकपटक सफल रूपमा सञ्चालन भएर धरासायी हुँदै पुनः सञ्चालनमा आएर तङ्ग्रिने क्रममा छ। अर्को कन्डेन्स मिल्क उत्पादन गर्ने हेटौंडा डेरी भने सफल रूपमा सञ्चालन भएर अहिले धरासायी हुने बाटोमा लम्किँदैछ।
ती दुवै उद्योग डेरी उद्योग संघसँग आवद्धसमेत छन्। डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीका अनुसार दुवै उद्योगसामू एउटै समस्या छ, लागत मूल्य अत्याधिक भएको स्वदेशी कच्चा दूध। भारतको विभिन्न तहमा अनुदान प्राप्त दूधको तुलनामा नेपालको दूध निकै महँगो छ। जसले नीजि क्षेत्रबाट ठूलो लगानी भएर पनि यस्ता उद्योग नियमित रूपमा सञ्चालनमा आउन ठूलो चुनौती सामना गर्नुपरेको छ। ‘भारतमा गाईभैंसीको खरिद, गोठ, दाना, घाँसेबाली, कारखाना सञ्चालन तथा प्रशोधन, बजार र निर्यातसम्ममा त्यहाँको सरकारले अनुदान दिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘यसले गर्दा उनीहरूको दूध प्रतिलिटरमा हामीभन्दा नौ रुपैयाँ सस्तो पर्छ।’
बाहिरबाट आकर्षक प्याकेट र महँगो मूल्यमा आउने सबै पदार्थ उच्च गुणस्तरको अनि नेपालमा उत्पादन भएको गुणस्तरहीन भन्ने सोचका कारण नेपालका उद्योग धरासायी बनेका श्रेष्ठको भनाइ छ। उनले भने’, श्रेष्ठले भने, ‘स्वदेशी उद्योग जोगाउन हाम्रो सोचमा परिवर्तन ल्याउन आवश्यक छ। बाहिरबाट आउने पदार्थको तुलनामा हामीले उत्पादन गर्ने पदार्थको गुणस्तरमा खोट लगाउने ठाउँ छैन।’
तङ्ग्रिँदै चितवन मिल्क
त्यो बेला दूधको उत्पादन निक्कै थियो। खरिदकर्ता डेरी औंलामा गनिन्थे। बिक्री हुन नसकेको दूध फाल्नुपर्ने अवस्था आएको समयमा २०६४ मा चितवनमा करिब डेढ अर्बको लगानीमा चितवन मिल्क स्थापना भयो। विभिन्न आरोह अवरोह पार गरी यो उद्योग गत फागुनदेखि पुनः सञ्चालनमा आएको हो। यसअघि यो उद्योग दुईपटक बन्द भइसकेको छ। एकपटक अत्याधिक दूध उत्पादन हुने समय र कम उत्पादन हुने समयमा कच्चा दूधको एकै प्रकारको मूल्य कायम हुँदा किसानलाई भुक्तानी गर्न नसक्दा ठूलो घाटा लागेर उद्योग बन्द भयो।
दोश्रो पटक २०७२ मा आएको भूकम्पका कारण क्षतिग्रस्त उक्त उद्योग करिब अढाई वर्षसम्म बन्द रह्यो। ‘बन्दका कारण हामीले डेढ अर्बकै घाटा व्यहोर्नु पर्यो’, श्रेष्ठले भने, ‘अहिले सबैको साथ र सहयोगमा पुनः सञ्चालनमा ल्याएको छु, अब जस्तोसुकै समस्या आए पनि बन्द गर्दिनँ।’ अबको १० वर्षसम्म नेपालको पाउडर दूधको माग धान्ने सक्ने क्षमता रहेको उनले बताए। चितवन मिल्कले पाउडर दूधसँगै डेरी ह्वाइटनर र बटर पनि उत्पादन गर्छ।
स्वदेशीले माग धान्ने
मुलुकका तीनवटा उद्योगले दैनिक तीन लाख १० हजार लिटर दूध प्रशोधन गरी पाउडर दूध उत्पादन गर्न सक्छ। देशभित्र पाउडर दूधको माग वार्षिक करिब चार हजार मेट्रिक टन छ। तीनवटै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सके वार्षिक ६ हजार टन पाउडर दूध उत्पादन हुन सक्छ। स्वदेशमै मागअनुसार पाउडर दूध उत्पादन भए करिब १० अर्ब मूल्यबराबरको पाउडर दूधसहित दुग्धजन्य पदार्थको आयात रोकिन्छ। स्वदेशी उद्योगलाई जोगाउने उद्देश्यले हालै कृषि तथा पशुपंंक्षी विकास मन्त्रालयले पाउडर दूधको आयात रोक्ने आन्तरिक तयारी गरेको जनाएको छ।
मन्त्री चक्रपाणी खनालले स्वदेशी पाउडर प्लान्ट बचाउन आयात रोक्ने बताए। मन्त्रालय र दूध उद्योगहरूको छलफल पश्चात् कच्चा दूध प्रयोग गरी पाउडर दूध तयार पार्ने उद्योगहरूलाई प्रतिलिटर ६ रुपैयाँसम्म अनुदान उपलब्ध गराउने तयारी पनि भएको छ। यो प्रस्ताव हाल अर्थ मन्त्रालयमा विचाराधीन छ। सरकारले विभिन्न क्षेत्रमा कम्तिमा पाँचदेखि २० टन क्षमताको गरी पाँच सय टनको भण्डारण गृहसमेत निर्माण गरिदिनुपर्ने माग राखिएको छ। यसले १५ देखि २० अर्ब रुपैयाँ जोगिने विश्वास छ।
कन्डेन्सको बजार घट्दै
देशभित्रको कन्डेन्स मिल्कको माग पूरा गर्न सुरुआती समयमा करिब साढे ६ करोडको लगानीमा २०६५ मा हेटौंडामा हेटौंडा डेरी इण्डस्ट्रिज स्थापना भएको हो। अहिले यसको कूल लगानी १९ करोड पुगेको छ। उत्पादन कालदेखि नेपाली सेनाले कन्डेन्स मिल्क उक्त कारखानाबाट खरिद गरे पनि यो माघदेखि कन्डेन्स मिल्क लिन छाडेको छ। त्यसको साटो पाउडर दूध खरिद गर्ने सेनाको प्रक्रिया अघि बढेको छ।
कूल उत्पादनको करिब ९० प्रतिशतका दरले वार्षिक रूपमा साढे तीन सय टन कन्डेन्स मिल्क सेनाले खपत गर्दै आएको थियो। ‘कन्डेन्स मिल्कको ९० प्रतिशत बजार नै हाम्रो गुम्यो’, उद्योगका म्यानेजर घिमिरेले भने, ‘यसले गर्दा उद्योगलाई धेरै ठूलो धक्का लागेको छ। हामीसँग अर्को वैकल्पिक बजार पनि छैन।’ बाँकी १० प्रतिशत बजार चकलेट कारखाना र सुपर मार्केट मात्रै हो।
रूपन्देही, चितवन, बारा, पर्सा, मकवानपुर, रौतहट लगायतका ५० हजार किसानको ६५ वटा संस्थामार्फत दूध संकलन गर्दै आएको यो उद्योगले कन्डेन्स मिल्कको बजार गुमेपछि दैनिक दूध संकलनको परिमाण पनि घटाउने नीति अख्तियार गर्न थालेको छ।