ट्याक्स हेभन मुलुकमा हाम्रो कुनै कम्पनी छैन: चौधरी ग्रुप
काठमाडौं : चौधरी घराना समूहका व्यवसायी अरुण चौधरीले खोज पत्रकारिता केन्द्र (खोपके) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आफ्नो परिवारको ब्रिटिस भर्जिन आइल्याण्डको अर्सिन लिमिटेडमा कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा तयार पारेको रिपोर्टअनुसार उक्त कम्पनीमा आफू तथा आफ्नो परिवारको कुनै सदस्यको आवद्धता नरहेको प्रस्ट पारेका छन् ।
सूचनालाई आधार बनाई तीन चार वर्षअघि पनि यस्तै प्रकृतिको समाचार आएको बताउँदै चौधरीले १५ वर्षअघि खुलेको उक्त कम्पनी करिब सात वर्षअघि नै बन्द भइसकेको जानकारी गराए।
चौधरीले विज्ञप्तिमार्फत प्रतिवेदनले औंल्याएको कम्पनी भएको मुलुकमा समेत आफू र आफ्ना परिवारका कुनै सदस्यले हालसम्म यात्रा नगरेको बताए। 'कम्पनीको सेयर होल्डर भनेर मेरा छोराहरूको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरूको उमेर १० र ५ वर्षमात्र थियो,' चौधरीले विज्ञप्तिमा भनेका छन्, 'हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीले छोरालाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए, हामीले खोलेनौं।ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरूपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला।'