पोखराको ढल फेवातालमा
पोखरा : यहाँको प्रमुख आकर्षण फेवाताल प्रदुर्षणको चपेटामा परेको छ। पोखरा बजार क्षेत्रका घरहरुबाट निस्कने फोहोर पानी सोझै तालमा मिसिदा ताल प्रदुर्षणका चपेटामा परेको हो।पोखराको विन्ध्यवासिनी मन्दिर, सृजना चोक, मानवअधिकार चोकका प्रत्येक घर-घरबाट निस्केको फोहोर र्फिके खोलामा मिसिएर फेवातालमा पुग्ने गर्छ।
पछिल्लो समयमा फेवातालको मुख्य स्रोत हर्पन खोला पनि मुहानबाटै प्रदुर्षण हुने गरेको छ। पोखरा महानगरपालिकाको चंकपुर, पामेबाट निस्कने फोहोर समेत हर्पन खोला हुँदै तालमा मिसिने गरेको छ। ताल साँघुरो हुने क्रम तिब्र रुपमा बढ्दै गर्दा ताललाई प्रदुर्षणले पनि ढपक्क ढाकेको संरक्षणकर्मी हेमन्त ढकालले बताए।
२०१८ सालको नापी अनुसार १० वर्गकिलोमिटर रहेको फेवाताल ०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भेमा ४.२० वर्गकिलोमिटरमा खुम्चिएको छ। २०७२ मा पोखरा २३ गुणेको फाँट र अन्नपूर्ण गाउँपालिकाको सामुदायिक वन नै बगाएर तालमा मिसाउँदै तालको क्षेत्रफल मात्र होइन गहिराई समेत पुरिएको छ।
पोखरामा जारी बृहत सफाइ कार्यक्रम अन्तर्गत १ सय ३८ औं हप्ताको सफाई सकिएको छ। पोखरा महानगरले आकासको पानी नियन्त्रणका लागि सडकको किनारामा बनाएको ढल तालमै सोझ्याएको छ।
पुगरेर टुंगिने र्फिके, बुलौदी खोलामा समेत बाथरुमको मात्र होइन सेप्टीट्ङ्कीको फोहोर पनि मिसाइने गरेको अध्ययनले देखाएको छ। तालको पानी प्रदुषण रोक्न महानगरले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा ताल प्रदुषणको चपेटामा समेत परेको हो।
मुख्य जिम्मेवार निकाय पोखरा महानगरपालिका र अन्य सरोकारवाला निकायले विश्वकै आकर्षक फेवाताल संरक्षणम चासो नदिएकाले पनि ताल प्रदुर्षण र पुरिने क्रम बढेको छ।