जब जलाउन लाग्दा सँगै अर्को शव भेटियो..

जब जलाउन लाग्दा सँगै अर्को शव भेटियो..

दोलखा :  मलामी बन्नु पर्दा कसैलाई राम्रो लाग्दैन। त्यसमाथि झन् अकास्मात अपरिचितको मलामी बन्नु पर्दा झन् राम्रो लाग्ने कुरै भएन। अन्तिम संस्कारको विधि सकेर घाटमा जलाउन लाग्दा सँगै अर्को शव भेटिएपछि मलामी तनावमा परेका छन्। 

भीरबाट लडेर शनिबार मृत्यु भएका भीमेश्वर नगरपालिका–१ का ४४ वर्षीय कालुमान थामीको शवका सबै कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो। झोलामा कपडा होला भनेर खोल्दा नवजात शिशुको शव भेटियो !

‘दागबत्ती दिन लागेको बेला पोस्टमार्टम गरी सिलाइएको अवस्थाको शिशुको शव भेटिएपछि सबै मलामी छक्क परे’, मलामी गएका भीमेश्वर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर थामीले भने,  ‘कोही अस्पताललाई गाली गर्न थाले।’

मलामी गएका सय बढी मलामी जलाउन लाग्दा सँगै अर्को शव भेटिएपछि तनावमा देखिए। वडाध्यक्ष थामीले भने तत्काल प्रहरीलाई खबर गरे। प्रहरीले राति ८ बजे बच्चाको शव बुझेर फेरि अस्पताललाई बुझायो। मृतक थामीको अन्तिम बिदाई त्यसपछि मात्र भयो।

माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको शव माघ ५ गते बिहान करिब ७ बजे भीमेश्वर नगरपालिका–२ को भीरमुनी भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरिएको थियो। 

पोस्टमार्टमपछि प्लाष्टिकमा प्याक गरिएको शव बुझेर अस्पतालबाटै गाडीमा राखेर घाटतर्फ लगिएको थियो।

अस्पताल के भन्छ ?
शनिबार थामीको शव आफैंले पोस्टमार्टम गरेको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. क्षमता घिमिरेले जानकारी दिइन्। 

‘पोस्टमार्टम गरेर सिलाएपछि कार्यालय सहायकले अरु काम गर्छन्’, डा. घिमिरेले जिम्मेवारीबाट पन्छिने कुरा गरिन्। उनले शनिबार साँझ प्रहरीले फोन गरेपछि मात्र बच्चाको शवसँगै गएको थाहा पाएको बताइन्। 

‘बच्चाको शव पठाउन खोजेको चाहिँ होइन’, डा. घिमिरेले भनिन्, ‘हाम्रो तर्फबाट पनि गल्ती भयो।’ उनले गल्ती स्वीकार गरेपनि थामीको परिवारलाई समेत दोषी देखाइन्। ‘शव नहेरी लानु उनीहरुको पनि गल्ती हो’, डा. घिमिरेले भनिन्। 

माघ ४ गते शुक्रबार चरिकोट अस्पतालमा बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृत अवस्थामा ४ केजी तौल भएको बच्चा जन्मेको अस्पतालले जनाएको छ। 

परिवारलाई शव बुझाउने कानुनी प्रक्रियाको खिल्ली उडाउँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले गैर जिम्मेवार जवाफ दिए।  ‘डिस्पोज गर्ने क्रममा थियौं तर उनीहरुले जम्मै उठाएर लगिदिए छन्’, उनले भने। 

परिवारले बच्चाको शव नलगेपछि के कारणले जन्मनु अघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनको लागि बच्चाको पोस्टमार्टम समेत गरिएको अस्पतालले जनाएको छ। 

यो घटना सार्वजनिक भएपछि अस्पतालको पोस्टमार्टम गृहमा अनुमानसम्म गर्न नसकिने लापरबाही हुने गरेको खुलेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.