डोल्पा ३ दिनदेखि सञ्चारविहीन
दुनै, डोल्पा : हिमाली जिल्ला डोल्पामा रेडियो लिङ्क ह्याङ भएपछि तीन दिनसम्म दुनैलागायत आसपासका क्षेत्रहरु सञ्चार बिहीन भएका छन्। शुक्रबार २ बजेपछि रेडियो लिङ्कमा समस्या आएपछि डोल्पा सदरमुकाम ३ दिनसम्म सञ्चार बिहीन भएको हो।
जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेखमा राखिएको रेडियो लिङ्क ह्याङ भएपछि त्यहाँबाट सञ्चालनमा रहेका नमस्ते,एडिएसएल र ल्याण्डलाइन फोन सबै बिच्छेद हुँदा डोल्पा सदरमुकामलगायत आसपासका क्षेत्रहरु टेलीकमका सेवाबाट प्रभावित भएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दियो।
मौरेमा रहेको रेडियो लिङ्कको टावरमा आइतबार प्राविधिकले काम गर्दा मौरेको लेख डोल्पाको रसिको डाँडामा राखिएको रेडियो लिङ्क दुबै ह्याङ हुँदा सञ्चार बिच्छेद हुन पुगेको दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराइले जानकारी दिए।
आइतबार ३ बजे मात्रै दुनैलगायत आसपासका टावरबाट फोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएका छन्। तीन दिनमा लाखौंको घाटा टेलिकमले व्यहोरेको र सरकारी तथा गैरसरकारी कार्यालयमा समेत त्यसको असर परेको कर्मचारी बताउँछन् ।
दसैंदेखि यता डोल्पामा रहेका नमस्ते तथा स्काइका साथै ल्याण्डलाइन र एडिएसएल सेवा प्रभावकारी नभएको सेवाग्राहीको गुणासो रहेको छ। नेट नचल्ने, फोन समयमा नलाग्नेजस्ता समस्याबाट पीडित भएका सेवाग्राहीको गुनासो बढेको छ।
रेडियो लिङ्क ह्याङ भएपछि सदरमुकारलगायतका केही क्षेत्रहरु सञ्चारबिहीन भए भने जिल्लाका धो,सहरतारा र कालिकाको बिटिएसमा भने नेटवर्क नगएको दूरसञ्चार कार्यालयले जानकारी जनाएको छ।दूरसञ्चार कार्यालयले रेडियो लिङ्कमा राखिएको क्षेत्र मात्रै सञ्चार बिहीन भएको बताएको छ।