कांग्रेस तनहुँ द्वन्द्व : विवाद मिलाउन नेतृत्व जिल्लामा

कांग्रेस तनहुँ द्वन्द्व : विवाद मिलाउन नेतृत्व जिल्लामा

तनहुँ : पार्टी सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका आधा दर्जन शीर्ष नेता आइतबार दमौलीमा भेला भएका छन्। 

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसह महामन्त्री गोविन्दराज जोशी पक्षबीच द्वन्द्व चुलिएका बेला पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला, पूर्वउप सभापति एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य डा. रामशरण महतलगायतका नेताले दमौली बीपी स्मृति भवनस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेट गरेका हुन्।

कार्यक्रममा तनहुँका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेल तथा नेता ध्रुव वाग्लेलगायत उपस्थित थिए।

 
पार्टी नेतृत्व एकलौटी ढंगले अघि बढेको र आफ्ना कार्यकर्तामाथि प्रतिशोध गरेको आरोपमा पूर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षले माघ ८ गते दमौलीमा विशेष अधिवेशनको तयारी गरिरहँदा एकैसाथ शीर्ष नेता दमौली आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा एकताको आवश्यकता रहेको बताए। ‘चुनावमा एमाले र माओवादी एक भएर लडे हामी एउटै पार्टी दुईवटा भएर गएपछि कहाँ जितिन्छ ?,’ उनले भने, ‘असन्तुष्टि भए अविश्वासको प्रस्ताव पार्टीभित्र राखिनुपर्छ विशेष अधिवेशन गरिनु हुँदैन।’ 

कार्यक्रममा पार्टी महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक भए कसैले हराउन नसक्ने भन्दै असन्तुष्ट पक्षलाई पनि बोलाएर छलफल गर्नुपर्ने बताए। उनले विधानले नदिने कुरा नगर्न असन्तुष्ट पक्षलाई सुझाव दिए। 

पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीभित्र गुटगत झगडाका कारण संगठनलाई देशैभर समस्या परेको बताए। 

उनले भने,‘गुटगत द्वन्द्वका कारण अनुशासन समिति नै गठन हुन सकेको छैन।’ उनले पार्टीमा भागवण्डाको अन्त्य हुनुपर्ने र इमान्दारको मूल्यांकन हुनुपर्ने बताए। पार्टीलाई लिंकबाट चलाउनुपर्ने भन्दै उनले तलमाथि हुन दिन नहुने पनि उल्लेख गरे। 

अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टीको जनाधार अहिले पनि कमजोर नभएको भन्दै कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताए। ‘पार्टीमा विधिपूर्वक काम हुनुपर्छ र विधिपूर्वक प्रतिपस्पर्धा हुनुपर्छ,’ उनले भने,‘विधिलाई मिचेर गरिने गतिविधिलाई साथ हुँदैन।’

कार्यक्रममा तनहुँका केन्द्रीय सदस्य शंकर भण्डारीले समग्र विकासको नेतृत्व पार्टीले गर्दा पनि सबै क्षेत्रमा चुनाव हार्नु दुःखद् भएको टिप्पणी गरे। 

उनले जिल्लामा वरिष्ठ नेता पौडेल र नेता जोशीबीचको विवाद मिलाउनु आवश्यक रहेको बताए। ‘पार्टीभित्रका कमजोरी, अन्याय र गुनासा भए व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘त्यसलाई समेट्न विधानभित्रैबाट छलफल गर्नुपर्छ। पार्टीभित्रै छलफल गरेर विवाद समाधान गरिनुपर्छ।’

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँको कांग्रेस विगतजस्तो नभएको भन्दै कटाक्ष गरे। उनले प्रतिशोध र स्वार्थका कारण तनहुँ कांग्रेसको पक्षमा हुन नसकेको बताए। 

पार्टी कार्यालय सबैको साझा हुनुपर्ने र कसैका प्रति पूर्वाग्रही भावना नेतृत्वले राख्न नहुने उनले बताए। पौडेलले व्यक्तिभन्दा विधान ठूलो भएको भन्दै पार्टी विधानबाहिर गएर गतिविधि नगर्न जोशी पक्षलाई सन्देश दिए। उनले भने,‘पार्टीभित्रै अविश्वासको मत राख्न सकिन्छ।’

विवाद समाधानको पहल 
दुई नेताको द्वन्द्व सतहमा आएर समानान्तर समिति बन्ने अवस्था देखिएपछि शीर्ष नेतृत्व दमौली आएको हो। तर सबै नेता सहभागी कार्यक्रममा वरिष्ठ नेता पौडेल र जिल्लाकै अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई भने अनुपस्थित थिए। 

लमजुङमा कांग्रेसका संस्थापक नेता तारानाथ कोइरालाको पुण्य तिथिमा सहभागी हुन आउँदा दमौली आएको भनिए पनि शीर्ष नेता दमौली आउनुलाई विवाद समाधानको पहलको रुपमा हेरिएको छ।

केन्द्रीय नेताले सबै पक्षलाई समेट्नुपर्ने सन्देश दिए पनि घुमाउरो पारामा विशेष अधिवेशनको भने विरोध गरेका छन्। 

यसले जिल्ला नेतृत्वलाई ढाढस दिएको छ। नेता जिल्ला आउँदा विवाद समाधानमा पहल गर्ने बताए पनि गृहजिल्लामै रहेका पूर्वसह महामन्त्री गोविन्दराज जोशीसँग भने कुनै पनि नेताले भेटघाट नगरेको श्रोतको दाबी छ। 

जोशी पक्षले विशेष अधिवेशन गरेमा समानान्तर दुई समिति सतहमा आउने र यसले कमजोर बनेको पार्टीमा थप क्षति पुग्ने जिल्ला नेतृत्वको विश्लेषण छ। कार्यक्रमले कार्यकर्तामा नेतृत्वको सन्देश दिने बुझाई जिल्ला नेतृत्वको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.