यूएईविरुद्ध खेल्न क्रिकेट टोलीको घोषणा : शरद टोलीमा परेनन्
काठमाडौं : यसै महिना सुरु हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको द्विपक्षीय क्रिकेट शृंखलाका लागि आइतबार १६ सदस्यीय टोलीको घोषणा गरिएको छ।
यूएईविरुद्घको शृंखला जनवरी २५ देखि फेब्रुअरी ३ तारिखसम्म यूएईमै सञ्चालन हुनेछ। कप्तान पारस खड्का नेतृत्वमा घोषित राष्ट्रिय टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन्।
अन्य खेलाडीमा अविनाश बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, मो. आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्।
यसैगरी तीनजना वैकल्पिक खेलाडीमा ललित भण्डारी, सुसन भारी र विक्रम सोभ छन्।
यूएईविरुद्घको खेलका लागि घोषित टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर भने परेका छैनन्। स्वास्थ्य समस्याका कारण शरदले आफ्नो नाम फिर्ता लिएको बताइएको छ।शरदलाई पूर्ण रूपमा स्वस्थ्य हुन करिब तीनदेखि चार साता समय लाग्ने जनाइएको छ।
हाल अस्ट्रेलियाको बिग बास लिग र बंगलादेश प्रिमियर लिग खेल्न व्यस्त रहेका सन्दीप भने क्याम्पमा सहभागी हुन सोमबार नेपाल फर्कने भएका छन्।
आईसीसीका प्रतिनिधि अमिनुल इस्लामको नेतृत्वमा रहेको तीन सदस्यीय छनोट समितिले खेलाडी चयन गरेको हो। छनोट समितिको सदस्यमा राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का रहेका थिए।
नेपाली टोली प्रतियोगितामा सहभागी हुन जनवरी २२ तारिखमा यूएईतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। यूएई भ्रमणका क्रममा नेपालले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र तीनवटा टीट्वेन्टी खेल्नेछ।
नेपालले पहिलो एकदिवसीय जनवरी २५ मा र दोस्रो एकदिवसीय जनवरी २६ तारिखमा खेल्नेछ। तेस्रो एकदिवसीय भने जनवरी २८ मा हुनेछ।
यसैगरी पहिलो टीट्वेन्टी जनवरी ३१, दोस्रो टीट्वेन्टी फेब्रुअरी १ र तेस्रो टीट्वेन्टी फेब्रुअरी ३ तारिखमा खेलिनेछ। सबै खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल ग्राउन्डमा खेलिनेछ।