बाहिरिए साबिक विजेता फेडेरर
मेलबर्न : प्रभावशाली खेलाडी रोजर फेडेरर, एन्जेलिक केर्बर र मारिसा सारापोभा वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमै पराजित भएका छन्।
पुरुष एकलतर्फको आइतबार भएको चौथो चरणको खेलमा १४औं वरीयताका ग्रिसका स्टेफानोस सिसिपसले आफूभन्दा निकै शक्तिशाली स्विस प्रतिद्वन्द्वी फेडेररलाई ६-७ (११), ७-६ (३), ७-५, ७-६ (५) अंकले हराए।
फेडेरर तेस्रो वरीयतामा आसीन खेलाडी हुन्। ३७ वर्षीय अनुभवी खेलाडी फेडेरर अस्ट्रेलियन ओपनमा लगातार दुई पटकका साबिक विजेता पनि हुन्।
उनले हालसम्म ६ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। २० वर्षीय सिसिपस भने कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने ग्रिसको पहिलो खेलाडी बनेका छन्।
दोस्रो वरीयतामा आसीन स्पेनिस खेलाडी राफेल नाडाल भने प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। उनले चौथो चरणको खेलमा चेक गणतन्त्रका टोमस बेर्डिचलाई ६-०, ६-१, ७-६ (४) अंकले हराए।
स्पेनका रोबर्टो बाउटिस्टा पनि छैटौं वरीयतामा आसीन क्रोएसियन खेलाडी मारिन सिलिचलाई ६-७ (६), ६-३, ६-२, ४-६, ६-४ ले हराउँदै अन्तिम आठमा प्रवेश गरे। अमेरिकाका फ्रान्सिस टिफोएले बुल्गेरियाका ग्रिगर दिमित्रोभलाई पाखा लगाए।
महिला एकलतर्फ दोस्रो वरीयतामा आसीन जर्मन खेलाडी केर्बर तुलनात्मक रूपमा कमजोर अमेरिकी प्रतिद्वन्द्वी ड्यानियल रोज कोलिन्ससँग पराजित भइन्।
कोलिन्सले चौथो चरणको खेलमा केर्बरलाई ६-०, ६-२ को सोझो सेटमा हराइन्। रुसी टेनिस सुन्दरी सारापोभा भने १५औं वरीयतामा आसिन अस्ट्रेलियन खेलाडी आस्लिघ बार्टीसँग हारिन्। बार्टीले सारापोभालाई ४-६, ६-१, ६-४ ले पराजित गरिन्।
यसैगरी आठौं वरीयतामा आसीन चेक गणतन्त्रकी पेत्रा भितोभा उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिइन्। उनी १७ वर्षीया अमेरिकाकी किशोरी अमान्डा आनिसिमोभालाई ६-२, ६-१ अंकले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन्।