वाइडबडीको गम्भीर छानबिन होस् : सिटौला
भद्रपुर : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वाइडबडी प्रकरणमा अनुसन्धान गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन्।
छानबिन समितिको प्रतिवेदनअनुसार अनियमितता पुष्टि भए दोषीलाई कारबाहीका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ।
प्रेस क्लब भद्रपुरले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वाइडबडी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने प्रस्ट पारे।
‘पार्टीले आन्तरिक रूपमा बनाएको छानबिन समिति र सरकारले पनि बनाएको समितिले तटस्थ रूपमा छानबिन गरेर त्यहीअनुसार कारबाही अघि बढाइनुपर्छ’, उनले भने, ‘सरकारले पनि राजनीतिक पूर्वाग्रह नराखी छानबिन गर्नुपर्छ।’
पुराना जहाजकै ऋण तिरिनसकेको अवस्थामा वाइडबडीले वायुसेवा निगमलाई अझै डुबाउने उनको भनाइ थियो।