बार्सिलोनाको लगातार सातौं जित
म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा बार्सिलोनाले लेगानेसमाथि ३—१ गोलको जित हात पारेको छ । जितसँगै ‘लिग लिडर’ बार्सिलोनाले आफ्नो निकट्तम प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग पुनः पाँच अंकको अग्रता लिएको छ ।
सबै प्रतियोगितालाई मिलाउँदा बार्सिलोनाको यो लगातार सातौं जित हो । घरेलु मैदानमा खेलिएको खेलमा लियोनल मेसी, लुइस स्वारेज र ओसमेन डेम्बेलले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको ३२औं मिनेटमा डेम्बेलले बार्सिलोनाका लागि पहिलो गोल गरे ।
सोही गोलका कारण पहिलो हाफमा बार्सिलोना अगाडि रह्यो । ५७औं मिनेटमा लेगानेसका मार्टिन ब्राथवेटले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी मिडल्सब्रोबाट ऋणमा लेगानेसमा आबद्ध भएका हुन् ।
यसैगरी ७१औं मिनेटमा उरुग्वेका अनुभवी खेलाडी स्वारेजले बार्सिलोनालाई २—१ को अग्रता दिलाए । निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि अर्जेन्टिनी स्टार मेसीले अर्को गोल थप्दै बार्सिलोनालाई सहज जित दिलाए ।
मेसी ६४औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । प्रशिक्षक अर्नेष्टो भाल्भर्डले खेलको प्रारम्भमा मेसीलाई बेञ्चमा राखेर डेम्बेल, स्वारेज र फिलिप कोउटिन्होलाई विपक्षीको पोष्टमा आक्रमणको जिम्मा सुम्पिएका थिए ।
सहभागी सबै टोलीले २०/२० खेल खेलिसक्दा साविक विजेता बार्सिलोना ४६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ४१ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो, ३६ अंकसहित रियल म्याड्रिड तेस्रो, ३३ अंकसहित सेभिल चौथो र ३२ अंकसहित डेपोर्टिभो आल्भेस पाँचौं स्थानमा छन् । लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ ।