बजारमा ‘लमजुङ चिया’
बेसीसहर : लमजुङको पहाडी गाउँमा उत्पादित चिया बजारमा आएको छ। लमजुङको दोर्दी गाउँपालिका–८ बन्सारको दुबारगाउँमा उत्पादन गरिएको ‘लमजुङ चिया’ बजारमा ल्याइएको हो।
क्रिस्टा टी प्रालिले उत्पादन गरेको चिया बजारमा ल्याइएको हो। चिया उत्पादक ओमलाल गुरुङले लमजुङ चिया शुद्ध अर्गानिक रहेको र प्रालिको नाममा चिया बजारमा ल्याइएको बताए। हाल मासिक तीन सय किलो चिया उत्पादन भएको र यो बढ्ने क्रममा रहेको उनले बताए। कम्पनीले एक सय, दुई सय र पाँच सय ग्रामको चियाको प्याकेट बनाएको छ। एक ग्रामको एक रुपैयाँका दरले मूल्य राखिएको छ।
गुरुङले दुबारगाउँमा २०६७ सालमा २५ रोपनी जग्गामा इलामबाट ल्याइएको गुम्दी जातको एक लाख बिरुवा रोपेर चियाखेती सुरु गरेका थिए। अहिले एक सय ५० रोपनीमा चिया विस्तार गरिएको छ। परम्परागत रूपमा चिया टिप्ने, माड्ने, चाल्ने लगायतका विधि प्रयोग गरिएकाले कुनै रासायनिक पदार्थ प्रयोग नभएको गुरुङले बताए। ‘तीन वर्षअघिदेखि नै अनौपचारिक रूपमा चिया बजारमा ल्याएका थियौं’, गुरुङले भने, ‘बुधबारदेखि औपचारिक रूपमा बजारमा चिया बिक्री सुरु गरेका छौं।’ बेसीसहर बजारको झिङ्गेखोला स्थानमा चियाको होलसेल तथा खुद्रा बिक्री सुरु गरिएको छ। यहीबाट अन्य जिल्लाका बजारमा चिया बिक्री गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
लमजुङ चिया अमेरिका र जर्मनमा समेत बिक्री हुने गरेको उनले सुनाए। गुरुङका अनुसार अमेरिका र जर्मनका व्यापारी तीन÷तीन महिनामा गाउँमै आएर चिया लैजाने गरेका छन्। ‘हिमाली काखमा उत्पादित चिया निकै राम्रो हुने भन्दै ५० केजीका दरले लैजाने गरेका छन्’, गुरुङले भने, ‘उनीहरूले यसलाई ‘ब्ल्याक टी’ नभई ‘रेड टी’ को नाम दिएका छन्। त्यहाँका चिया पारखीले निकै मन पराएका छन्।’ दुबारमा रहेको चियाबारीमा अहिले इलामबाट दुईजना चिया प्राविधिक ल्याएर काम गर्दैछन् भने स्थानीय १५ जनासम्मले रोजगार पाएका छन्।
अहिले १०/१५ दिनको फरकमा चिया टिप्ने र प्रशोधनको कामसमेत भइरहेको छ। बन्सारसहित चिती, हिलेटक्सार लगायतका स्थानमा समेत चियाखेती बिस्तार गरी लमजुङलाई चियामा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको गुरुङले बताए। चियाखेतीबाट तत्काल आम्दानी गर्न नसके पनि दीर्घकालीन रूपमा फाइदा हुने देखेर आफू यसतर्फ लागेको गुरुङले बताए।