विद्यार्थी र अभिभावकबीच फुट्सल
काठमाडौं : जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल) ले एकेडेमीमा रहेका विद्यार्थी र उनीहरूका अभिभावकबीच मैत्रीपूर्ण फुट्सल सम्पन्न गरेको छ। आइतबार सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा करिब २ दर्जनभन्दा बढी विद्यार्थी तथा अभिभावकको संलग्नता थियो।
एकेडेमीका संस्थापक तथा प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकलाई एउटै मैदानमा उतार्दा उनीहरूले एक अर्काको मनोविज्ञान बुझ्ने तथा मित्रवत् व्यवहार हुने भएकोले खेल आयोजना गरिएको हो।
अभिभावकले छोराछोरीको लागि समय दिने तथा बच्चाहरूको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरूलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त जेएफए नेपाल सन् २०१० मा स्थापना भएको एकेडेमी हो। जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई प्याकेजमा फुटबल ट्रेनिङ गराइरहेको छ।
ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत थाइल्यान्ड, चीन लगायतका देशहरूमा समेत पठाइरहेको छ।