चक्रव्यूहमा नेकपा कार्यदल, तीन गुट, तीनथरी कुरा

चक्रव्यूहमा नेकपा कार्यदल, तीन गुट, तीनथरी कुरा

काठमाडौं : सत्तारूढ नेकपाको तल्लो तहमा पार्टी कमिटी नभएको ९ महिना बितेको छ । एकता टुंगो लगाउन पटकपटक कार्यदल बन्यो । पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव तयार पार्न १० दिनको समयावधि दिइएको थियो । तर कार्यादलले २२ दिन गुजारिसकेको छ ।

पछिल्लो १३ दिनपछि सोमबार कार्यदलको केही घण्टा मात्रै बैठक बस्यो । तर अहिलेसम्म उसले एकता प्रक्रिया कसरी टुंग्याउने भन्ने मापदण्ड नै बनाउन सकेको छैन । कार्यदल संयोजकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा छन् । शीर्ष नेताहरूकै स्वार्थ टकराउँदा कार्यदलले काम गर्न नसकेको हो । २४ पुसको बैठकमा कार्यदल सदस्यसमेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अर्का सदस्य लेखराज भट्टले आफूहरूको माघे संक्रान्तिसम्म कार्यव्यस्तता रहेको बताएपछि बैठक स्थगित भएको थियो । त्यसपछि सोमबारबाट भने फेरि कार्यदल सक्रिय हुन थालेको छ।

स्वार्थ आआफ्नै

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आआफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका छन् ।

त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका नेताकार्यकर्तालाई बढीभन्दा बढी समेट्न चाहेका छन् । अझ नेतृत्वमै आफ्ना समूहलाई स्थापित गराउन सके आगामी दिनमा आफूअनुकूल काम गराउन सकिनेमा नेताहरूमा स्वार्थ हाबी हुँदा एकता प्रक्रियाले गति लिन नसकेको नेकपाकै नेताहरू बताउँछन् ।

अध्यक्ष ओली प्रदेश कमिटीसम्म सचिवालयले गरेको निर्णय हुबहु कार्यान्वयनमा लैजान चाहन्छन् । दोहोरो कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई समेत लत्याएर प्रदेश ५ र गण्डकी प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीसमेत रहेका नेताहरूलाई नै पार्टी प्रदेश कमिटीको इन्चार्ज बनाएका छन् । त्यसमा ओली पक्ष डगमगाउने देखिन्न ।

नेपाल पक्षले भने दोहोरो कार्यकारी जिम्मेवारीमा फरक मत राखेको छ । नेपालले नै त्यसको नेतृत्व गरेका छन् । नेपाल पक्षले प्रदेश कमिटी सदस्यहरूमा पनि केही असहमति राखिरहेको छ । त्यसमा पुनर्विचार गर्नुपर्ने नेपाल पक्षका नेताहरूको मत छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा झन्डै एक दर्जन, ३ मा ७ जना, प्रदेश ५ मा कोमल वलीसहित ७ जना र कर्णाली प्रदेशमा मेनुका पछाईलगायतलाई ओली पक्षले विधानविपरीत प्रदेश कमिटी सदस्य चयन गरेको आरोप नेपाल पक्षको छ ।

नेकपा विधानमा प्रदेश कमिटी सदस्य बन्न पार्टी सदस्य भएको आठ वर्ष हुनुपर्ने व्यवस्था छ । उक्त प्रावधानविपरीत कतिपयलाई प्रदेश सदस्य बनाइएको नेपाल पक्षको भनाइ छ । नेपाल पक्षले अन्य पार्टीबाट प्रवेश गरेकाहरूको योग्यता नपुग्ने र उनीहरूका हकमा मनोनीतको विशेष व्यवस्थाबाट मात्र नियुक्ति गर्न सकिने मत राख्दै आएको छ । ‘विधानको व्यवस्थाअनुसार योग्यता नपुगेका साथीहरूको हकमा पुनर्विचार गर्नुपर्छ’, नेपाल पक्षीय एक नेताले भने । ओली पक्ष भने विशिष्ट परिस्थितिमा प्रदेश कमिटी चयन भएको र कमिटीको बैठकसमेत बसिसकेकाले अब नाममा पुनर्विचार गर्न नसकिने पक्षमा छ ।

यही विषयमा विवाद बढेपछि संयोजक थापा र महासचिव पौडेलले दुई अध्यक्षसँग परामर्श गर्ने बताएर बैठक स्थगित गरेका थिए । तर अध्यक्ष ओलीले टुंगिइसकेको नाममा विवाद नगर्न निर्देशन गरेको स्रोत बताउँछ । अहिले नेपाल पक्षले योग्यता पुगेका तर कमिटीमा नसमेटिएका भनिएका नेताहरूलाई समेट्न विधान संशोधन गरी कमिटीको आकार बढाउने गरी कार्यदल अगाडि बढेको छ । यसमा ओली र दाहाल पक्ष पनि सहमत छन् ।

दाहाल पक्षको पनि यसभित्र स्वार्थ छ । दाहाल पक्षले एकताका क्रममा तत्कालीन आफ्ना ‘जम्बो पोलिटब्युरो सदस्य’लाई प्रदेश कमिटीसम्म समावेश गर्ने नीति लिएको थियो । तर त्यसो गर्दा पनि कतिपय नेता छुटेका छन् । अहिले १० प्रतिशतसम्म सदस्य थप गर्न सकिए आफ्ना तर्फबाट पनि केही नेताहरूलाई समेट्न सकिने आसमा दाहाल पक्ष छ ।

सबैभन्दा बढी टकराव जिल्ला नेतृत्वमा

विगतमा तत्कालीन दुवै पार्टीका दुईदुई जना रहेको प्रदेश कार्यदलले जिल्ला नेतृत्वका विषयमा केन्द्रीय कार्यालयमा प्रस्ताव सिफारिस गरेको थियो । कतिपयमा कार्यदल तहमै जिल्ला नेतृत्वको भागबन्डा लगाएका थिए भने कतिपयमा दुवै पक्षले आआफ्ना तर्फबाट नेतृत्व गर्ने नेताहरूको नाम सिफारिस गरेका थिए । अहिले कार्यदलले त्यही विगत कार्यदलको सिफारिसलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने ओली पक्षको मत आएपछि नेपाल पक्ष झस्किएको छ । नेपाल पक्षले एकता भनेको दुई पार्टीका सम्बन्धित कमिटीबीचको भएकाले कार्यदलको सिफारिसमा कतिपय ‘पूर्वाग्रही’ पनि भएको भन्दै नमान्ने अडान लिइरहेको छ ।

कार्यदल निष्क्रिय बनाउने खेल

निश्चित समायावधिमा काम गर्न नसकेको र विवाद मिलाउन नसकेको भन्दै कार्यदललाई निष्किय बनाउने खेल भएको आशंकासमेत नेताहरूले गर्न थालेका छन् । शीर्ष नेताहरूकै शक्तिसंघर्ष टकराउँदा कार्यदलले एकता प्रक्रिया कसरी टुंगो लगाउने भन्ने मापदण्डसमेत बनाउन सकेको छैन । कार्यदलमा विवाद देखाएर एकताको छिनोफानो गर्ने जिम्मा पुनः दुई अध्यक्ष वा सचिवालयमा ल्याउने खेलका रूपमा लिइएको छ । वरिष्ठ नेता झलनाथ खनालले कार्यदललाई प्रधानमन्त्रीबाट सहयोग नभएको बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कार्यदललाई दिएको समयावधिभित्रै काम फत्ते गर्न सघाउनुपथ्र्यो । तर त्यस्तो देखिएको छैन । प्रधानमन्त्रीले कार्यदललाई सघाउनुपर्छ । अन्यथा दुर्भाग्य निम्ताउँछ’, उनले भने ।

कार्यदलले अहिलेसम्म विधान संशोधनका विषयमा भने केही सहमति जुटाएको छ । पार्टी अन्तरिम विधानको प्रस्तावनामा साम्यवाद शब्द थप्ने, दुईदुई महिनामा स्थायी समितिको बैठक बोलाउने, विशेष प्रदेश कमिटी बनाउने र भौगोलिक प्रदेश कमिटीको अहिलेको आकारमा १० प्रतिशतसम्म संख्या बढाउने विषयमा कार्यदल सदस्यहरूबीच सहमति जुटेको छ । सहमतिको विषय प्रस्तावका रूपमा अध्यक्षद्वयमार्फत सचिवालय हुँदै स्थायी समितिमा अनुमोदन गराउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.