महिनावारीमा पनि ढुक्कसँग स्कुल
गुल्मी : महिनावारीका बेला पनि छात्राहरू ढुक्कसँग स्कुल जान थालेका छन्। महिनावारी स्वास्थ्यबारे ज्ञान नहुँदा ग्रामीण क्षेत्रका किशोरी महिनामा चार दिन स्कुल जाँदैनथे। छात्रामैत्री शौचालय निर्माणसँगै सेनेटरी प्याड प्रयोग गर्नुपर्ने जानकारीपछि उनीहरू स्कुलमा नियमित भएका हुन्।
गुल्मी दरबार–६ चारपालास्थित ईश्वरी माविका छात्रा महिनावारी स्वास्थ्यबारे खुल्न थालेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालको भनाइ छ। ‘उनीहरू खुलेरै आफ्ना कुरा राख्छन्’, उनले भने, ‘सचेतना अभियान सञ्चालन भइरहेको छ। अभियानका दौरान स्कुलमा पुग्दा सेनेटरी प्याड प्रदान गरेपछि छात्राहरू अच्चमित हुन्थे।’
उनका अनुसार कक्षा ५ देखि १२ सम्म अध्ययनरत छात्रालाई सुरक्षित महिनावारी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। सेनेटरी प्याड पाएपछि छात्राहरू ढुक्कसँग पढ्न आउन थालेको उनले सुनाए।
‘प्याड नहुँदा इन्टरभलमा घर जाने गर्थें’, १० मा पढ्ने कुसुम परियारले भनिन्, ‘अहिले स्कुलमै प्याड उपलब्ध छ। म्याडमसँग मागेर प्रयोग गर्छौं।’ विद्यालयमा छात्राले फोकल शिक्षकलाई आफ्ना समस्या सुनाउँछन्। पुरुष शिक्षकलाई पनि उनीहरूले आफ्ना कुरा भन्ने गरेका छन्।
प्याडको व्यवस्था र छात्रा शौचालय भएपछि नियमित उपस्थिति बढ्दै गएको छ। बीचमै छाड्ने र तीन–चार दिन नआउने समस्या हटेको सूर्योदय मावि जुभुङका प्रधानाध्यापक सन्तोष गौतमको भनाइ छ। ‘छात्राहरूको शिक्षण सिकाइ क्रियाकलापमा महिनावारीले धेरै अर्थ राख्छ’, उनले भने, ‘महिनावारी भएका बेला पनि उनीहरू ढुक्कसँग विद्यालय आउने गर्छन्।’
गुल्मीदरबारका आधारभूत र मावि गरी १७ शैक्षिक संस्थामा छात्रालाई अभिमुखीकरण गराइएको छ। झन्डै १ हजार ५ सय छात्रा लाभान्वित भएका छन्। ‘विषय देख्दा सानो लाग्छ’, स्वास्थ्य संयोजक अर्यालले भने, ‘तर, यसले विद्यालयमा छात्रालाई प्रत्यक्ष प्रभाव पार्दो रहेछ।’
सात वर्षदेखि गुल्मीमा अभियानकै रुपमा महिनावारी स्वास्थ्यसम्बन्धी कार्यक्रम विद्यालयमा अघि बढिरहेको छ। सेवा सञ्चारको अगुवाइमा इस्मा, मदाने, छत्रकोट, धुर्कोट गाउँपालिकामा अभियान सञ्चालन गरिएको हो। छात्रालाई अभिमुखीकरण, फोकल शिक्षक व्यवस्था, इन्सिनेटरसहितको छात्रा शौचालय, प्याडको नियमित व्यवस्था र सञ्जाल गठनपछि विद्यालयलाई नै सुरक्षित भएको घोषणा गर्ने गरिएको छ।
जिल्लाका १ सय २० भन्दा बढी विद्यालय महिनावारी भएका बेला सुरक्षित भएका छन्। जिल्लाका सबै स्थानीय तहका पदाधिकारीले अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन्। मालिका गाउँपालिकाले १६ विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको अध्यक्ष रीतबहादुर थापाले बताए।