दुई महिनामा २६ जनाले घुस फिर्ता गरे

दुई महिनामा २६ जनाले घुस फिर्ता गरे

काठमाडौं : असोजमा एक लाख घुस रकमसहित तत्कालीन महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी श्यामकुमार राई पक्राउ परे। राईविरुद्ध घुस मागेको जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘स्टिङ अपरेसन’मार्फत पक्राउ गर्न सफल भयो। राईले टेलिभिजन खरिद गर्न लगाएर एक व्यवसायीलाई बिल भुक्तानी गर्न दबाब दिएका थिए।

त्यसअघि गत भदौमा मनहरा खोलाबाट बालुवा झिक्ने सेटिङ मिलाउने भन्दै महानगरीय प्रहरी प्रभाग काँडाघारी र ठिमी वृत्तमा कार्यरत नौ जनालाई अख्तियारले पक्राउ गरेको थियो। ठकेदारबाट ३० हजार लिएका उनीहरूलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको थियो।

यी दुई घटनापछि भदौयता उपत्यकाका प्रहरी घुससहित पक्राउ परेका छैनन्। बरु घुस रकम आफैं खुरुखुरु कार्यालयमा फिर्ता गर्न थालेका छन्। अख्तियारको ‘स्टिङ अपरेसन’ उपत्यकामा व्यापक सञ्चालन रहेको थाहा पाएपछि प्रहरी नेतृत्वले पैसा खानेले जागिर छाडे हुन्छ भनी कडा निर्देशन दिएको थियो।

आयोगको अपरेसनको केही प्रभाव उपत्यकामा राम्रै देखिएको छ। मंसिरदेखि हालसम्म २६ जना प्रहरी कर्मचारीले आफूलाई आएको घुस रकम फिर्ता गरेको पाइएको छ। प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सइ)सम्मले रकम फिर्ता गरेका हुन्।

पुस १८ गते थानकोटमा सइ विश्वनाथ त्रिपाठीले लु १ ख ९४६९ नम्बरको बसलाई रोके। खेलकुदका सामग्री ल्याएको भनेपछि बसका चालकसँग त्रिपाठीले कागजात मागे। बसका सहचालकले ‘सर बरु कुरा मिलाऊँ’ भन्दै एक हजार पाँच सय रुपैयाँ घुस दिने बताए। तत्कालै त्रिपाठी सहचालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाए। त्रिपाठीले घुस रकमसमेत कार्यालयमै बुझाए।

मंसिर १७ गते साँझ ६ बजे सातदोबाटोमा बसभित्र पाकेटमारी गर्न खोजेको आरोपमा प्रहरी जवान लालप्रसाद शिवाकोटीले सुवास थापा मगरलाई पक्राउ गरे। थापा मगरले शिवाकोटीलाई एक हजार पाँच सय रुपैयाँमा कुरा मिलाइदिन आग्रह गरेका थिए। तर शिवाकोटीले दिन खोजेको घुस रकमसहित थापा मगरलाई महानगरीय प्रहरी वृत्त साददोबाटोमा बुझाइदिए। र प्रहरीले थापा मगरविरुद्ध मुद्दा चलायो।

यी दुई घटना उदाहरण मात्रै हुन्। मंसिर र पुसमा मात्रै २६ जना प्रहरी कर्मचारीले घुस दिन खोज्ने सवारी चालकलाई कारबाहीको दायरमा ल्याएका छन्।

महानगरीय प्रहरी कार्यालयले घुस दिनेलाई कारबाही गरेको प्रशंसा गर्दै एक सई, तीन असई, दुई हवल्दार एक जवान गरी सात जनालाई पुरस्कृत गरेको छ।

मंसिरदेखि हालसम्म उपत्यकामा घुस रकममा कोही प्रहरी कारबाहीमा परेका छैनन्। बरु ड्युटीमा नजाने, खटाएको ठाउँमा समयमा नपुग्ने, अनुमतिबिना बिदामा बस्ने जस्ता कार्यालयगत त्रुटिमा कारबाहीमा परेका छन्।

यी हुन् पुरस्कृत प्रहरी कर्मचारी

- सइ विश्वनाथ त्रिपाठी (थानकोट वृत्त)

- असइ हरिबहादुर खड्का (ठिमी वृत्त)

- असइ उमेश भट्टराई (रानीपोखरी)

- असइ फाल्गुण श्रेष्ठ (रानीपोखरी)

- हवल्दार लक्ष्मण यादव (रानीपोखरी)

- हवल्दार जालन्धर राय यादव (रानीपोखरी)

- जवान लालप्रसाद सापकोटा (ट्राफिक वृत्त सातदोबाटो)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.