नेपाल टेलिकमको उल्टो बाटो
काठमाडौं : पछिल्ला केही वर्षयता नेपाल टेलिकमले उल्टो बाटो समाएको छ। सरकारी स्वामित्वको टेलिकम निजी कम्पनीसँग पछिपर्दै गएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक महिना सार्वजनिक गर्ने तथ्यांकले टेलिकमलाई टेलिफोन र इन्टरनेट सेवामा नेपालकै ठूलो कम्पनीका रूपमा प्रस्तुत गरेको छ। सेवाका हिसाबले अझै अग्र स्थानमा भए पनि आम्दानीमा टेलिकम पछि छ।
टेलिकमको यही घट्दो आम्दानीलाई एउटा विषय बनाएर गत साउन २९ गते टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरियो। त्यसको करिब पाँच महिनापछि बल्ल टेलिकमले नयाँ प्रबन्ध निर्देशकका रूपमा डिल्लीराम अधिकारीलाई पाएको छ। नयाँ प्रबन्ध निर्देशक अधिकारीमाथि उल्टो बाटोमा हिँडेको टेलिकमलाई सही बाटो पहिल्याउने चुनौती छ। टेलिकमको कुल आम्दानीलाई हेर्दा कम्पनी हरेक अघिल्लो आवको तुलनामा झिनो भए पनि सवल देखिन्छ।
आव २०७४÷७५ को आम्दानीलाई अघिल्ला दुई आवसँग तुलाना गर्दा एक प्रतिशतका दरले वृद्धि भएको देखिन्छ। आव २०७२÷७३ मा कुल ४४ अर्ब १३ करोड आम्दानी गरेको टेलिकमले आव २०७३÷७४ मा ४४ अर्ब ३९ करोड आम्दानी गरेको थियो। २०७४÷७५ मा कम्पनीको कुल आम्दानी ४४ अर्ब ७५ करोड पुगेको छ। यो हिसाबले हेर्दा टेलिकमले हरेक वर्ष थोरै भएतापनि प्रगति गरिरहेको देखिन्छ।
कुल आम्दानीमा झिनो प्रगति देखिए पनि सञ्चालन आम्दानीका हिसाबले टेलिकम हरेक वर्ष उल्टो यात्रा तय गरिरहेको छ। आव २०७४÷७५ को सञ्चालन आम्दानीलाई अघिल्ला दुई आवसँग तुलाना गर्दा टेलिकमले आव २०७२÷७३ भन्दा चार प्रतिशत र आव २०७३÷७४ भन्दा तीन प्रतिशले आम्दानी गुमाएको छ।
आव २०७२÷७३ मा टेलिकमको सञ्चालन आम्दानी ४० अर्ब ७० करोड थियो। त्यो घटेर आव २०७३÷७४ मा ४० अर्ब ३१ करोडमा पुगेको थियो। त्यसमा पनि आव २०७४÷७५ मा घटेर ३९ अर्ब १४ करोडमा पुगेको छ। टेलिकमको कुल आम्दानी र सञ्चालन आम्दानीबीच देखिएको अन्तरलाई ब्याजबाट भएको आम्दानीले ढाकछोप गर्न मद्दत गरेको छ। टेलिकमले पछिल्ला तीन आवमा ब्याज आम्दानी स्वरुप क्रमसः तीन अर्ब ४३ करोड, चार अर्ब आठ करोड र पाँच अर्ब ६१ करोड कमाएको छ।
यो हरेक आवमा बढ्दै आएको देखिन्छ। यसको प्रतिफल टेलिकमले आफ्नो आम्दानी बढिरहेको देखाउन सफल भएको छ। तर, ब्याजबाट हुने आम्दानीलाई कम्पनीले गरेको आम्दानीका रूपमा लिन नसकिने भन्दै टेलिकम उल्टोबाटोमा हिँडीरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बताउँदै आएका छन्। ‘टेलिकमको हरेक वर्ष आम्दानी बढेको देखिन्छ’, मन्त्री बास्कोटाले भने, ‘तर वास्तवमा आम्दानीलाई मेन्टेन गर्नेकाम बैंकबाट आउने ब्याजले गरेको छ।’ ब्याज सँधै आइरहन्छ भन्ने हुँदैन।
सञ्चालन मुनाफाबाटै आफूलाई सवल बनाउन नसक्दासम्म टेलिकम सफल नहुने मन्त्री बास्कोटाको भनाइ छ। त्यसैले नयाँ प्रबन्ध निर्देशक अधिकारीमाथि यो चुनौतीको विषय छ। तथ्यांक हेर्दा टेलिकमको आम्दानी हुने हरेक क्षेत्रबाट प्रत्येक वर्ष आम्दानी गुमाउँदै गएको छ।
कुन क्षेत्रबाट कति गुमायो
टेलिकमको आम्दानी हुने क्षेत्रमा पीएसटीएन, एडीएसएल, फाइबर टू दी होम (एफटीटीएच), वाईम्याक्स, सीडीएमए–पोस्टपेड÷प्रिपेड(कल तथा डाटा), जीएसएम–पोस्टपेड÷प्रिपेड(कल तथा डाटा), इन्टरकनेक्सन, भ्यालु एडेड सर्भिस (भीएएस) र ब्याजबाट हुने आम्दानी पर्छ। त्यसमध्ये पीएसटीएन, एडीएसएल, वाईम्याक्स, सीडीएमए–पोस्टपेड÷प्रिपेड(कल तथा डाटा), जीएसएम–पोस्टपेड(कल तथा डाटा) र इन्टरकनेक्सनबाट आम्दानी गुमाउँदै गएको छ।
आव २०७४÷७५ मा पीएसटीएनबाट भएको आम्दानीलाई अघिल्ला दुई आवसँग तुलना गर्दा टेलिकमले आव २०७२÷७३ भन्दा १२ प्रतिशत र आव २०७३÷७४ भन्दा नौ प्रतिशले आम्दानी घटेको छ। यस्तै एडीएसएलबाट क्रमसः १५ र १९ प्रतिशत, वाईम्याक्सबाट ३३ र ३६ प्रतिशत, सीडीएमए–पोस्टपेडबाट ४५ र ३२ प्रतिशत र सीडीएमए–प्रिपेडबाट ३१ र १९ प्रतिशत आम्दानी घटेको देखिन्छ।
सबैभन्दा बढी प्रयोग हुने जीएसएम मोबाइलतर्फ पनि टेलिकमले सोचेअनुसार आम्दानी गर्न सकेको छैन। जीएसएम–पोस्टपेड अन्तर्गत आव २०७४÷७५ मा भएको आम्दानीलाई अघिल्ला आवसँग तुलान गर्दा आव २०७२÷७३ भन्दा ०.४५ प्रतिशत र आव २०७३÷७४ भन्दा ११ प्रशितले घटेको देखिन्छ। यस्तै, अर्को टेलिफोन सेवा प्रादयक कम्पनीको सिम प्रयोग गरी टेलिकमका ग्राहकसँग कुरागरेबापत टेलिकमलाई बुझाउनुपर्ने शुल्कका रूपमा हुने आम्दानी पनि घट्दै गएको छ। इन्टरकनेक्सनमा आव २०७२÷७३ र आव २०७३÷७४ भन्दा आव २०७४÷७५ मा क्रमसः २८ र ८ प्रतिशतले घटेको पाइएको छ। इन्टरकनेक्सनमार्फत आव २०७२÷७३ मा ११ अर्ब ४३ करोड आम्दानी गरेको टेलिकमको आव २०७४÷७५ मा आइपुग्दा त्यो आम्दानी घटेर आठ अर्ब २८ करोडमा झरेको छ।
आम्दानी वृद्धि भएका क्षेत्र
अम्दानीका स्रोतमध्य टेलिकमले एफटीटीएच, जीएसएम–प्रिपेड, भीएएस र ब्याजमामात्र हरेक वर्ष वृद्धि गर्दै गएको छ। टेलिकमका यी स्रोतबाट हुने आम्दानीमा पनि प्रतिशतका हिसाबले विस्तारै कम हुँदै आएको देखिन्छ। आव २०७२÷७३ र २०७३÷७४ मा एफटीटीएचबाट भएको आम्दानीलाई आव २०७४÷७५ सँग तुलना गर्दा क्रमसः १५१ र ७५ प्रतिशतले वृद्धि भएको छ। आव २०७२÷७३ एफटीटीएचमार्फत २९ लाख १५ हजार कमाएको टेलिमले आव २०७३÷७४ मा ४१ लाख ९५ हजार र आव २०७४÷७५ मा ७३ लाख ३१ हजार कमाएको छ।
कमाइ हुने एफटीटीएचलाई टेलिकमले विस्तार गर्न भने सकेको छैन। एफटीटीएचलाई छोडेर उल्टै पुरानो प्रविधि एडीएसएलमा लगानी गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक रूपमै ‘टेलिकमको उल्टो गति’ भन्दै आएको छ। यस्तै जीएसएम–प्रिपेडअन्तर्गत अघिल्ला दुई आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा क्रमसः १२ र ३ प्रतिशतले वृद्धि भएको देखिन्छ। टेलिकमको सबैभन्दा ठूला आम्दानीको स्रोतका रूपमा रहेको यसको आम्दानी पनि विस्तारै घट्दै गएको छ।
यसको प्रमुखकारण पछिल्लो समय ओभर दी टप (ओटीटी) को प्रयोगमा भएको वृद्धिको असर भएको टेलिकम बताउँदै आएको छ। आव २०७२÷७३ मा जीएसएम–प्रिपेडमा प्राधिकरणले २१ अर्ब ५६ करोड आम्दानी गरेको टेलिकमले आव २०७४÷७५ मा जम्मा तिन प्रतिशत वृद्धि गरेर २१ अर्ब ५६ करोड आम्दानी गरेको छ।
अर्को आम्दानीमा वृद्धि देखिएको शीर्षक भ्यास हो। टेलिकमले उपलब्ध गराएको विभिन्न भ्यास (विभन्नि अफर, चार नम्बर म्यासेज सिस्टम, मिसकल अलार्ट, वाउँटाइम, मूभि मस्तीलगायत सेवा) बाट भने राम्रो आम्दानी भएको छ। आव २०७३÷७४ मा १५ करोड ४१ लाख यसमार्फत आम्दानी गरेको टेलिकमले आव २०७४÷७५ मा २०७ प्रतिशतले वृद्धि भएर ४७ करोड २७ करोड आम्दानी भएको छ। कम्पनीले ब्याजबाट मात्रै आव २०७४÷७५ मा पाँच अर्ब ६१ करोड ५१ लाख आम्दानी गरेको देखिन्छ। यो आम्दानी आव २०७२÷७३ र २०७३÷७४ को भन्दा क्रमसः ६४ र ३८ प्रतिशतले वृद्धि हो। यही ब्याजबाट भएको आम्दानीले टेलिकमलाई नाक जोगाउन सजिलो भएको छ। ब्याजबाट हुने आम्दानीकै कारण टेलिकमको वार्षिक कुल आम्दानीमा एक प्रतिशत भएता पनि वृद्धि भएको देखिन्छ।
टेलिफोनमा ५२ प्रतिशत हिस्सा
दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनासम्मको तथ्यांकका आधारमा टेलिफोन सेवामा टेलिकम ५२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ। ल्यान्डलाइन फोनमा एकाधिकार रहेको अवस्थामा पनि मोबाइलसहित जम्मा ५२ प्रतिशत बजार ओगटेको छ। अर्कोतर्फ एनसेलले मोबाइल सेवामा मात्रै प्रदान गर्दा पनि ४१ प्रतिशत बजार ओगटिसकेको छ। तथ्यांकअनुसार हालसम्म टेलिफोन सेवा सब्सक्राइबरको संख्या चार करोड ११ हजार छ।
त्यसमध्ये टेलिकमको दुई करोड आठ लाख छ, त्यसमा जीएसएम मोबाइल प्रयोगकर्ता एक करोड ८४ लाख छन्। एनसेलले एक करोड ६३ लाख ग्राहक छन्। इन्टरनेटमा टेलिकमका ग्राहक संख्या ७४ लाख ४९ हजार र एनसेलका ६२ लाख ५६ हजार छन्। एनसेलले मोइबल ब्रोडब्यान्डकै भरमा ६२ लाख प्रयोगकर्ता पुर्याउँदा टेलिकमले एडीएसएल, वाइम्याक्स, एफटीटीएचलगायत इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।