आइसीसीको अवार्डमा विराट कोहलीको ह्याट्रिक
नयाँदिल्ली : भारतीय क्रिकेटर विराट कोहलीले इन्टर नेशनल क्रिकेट काउन्सिलको आइसीसी अवार्ड-२०१८ मा कब्जा जमाएका छन् । उनले आईसीसी क्रिकेटर अफ द इयर, द आईसीसी मेन्स टेष्ट प्लेयर अफ द इयर र द आईसीसी एक दिवसीय प्लेयर अफ द इयरको उपाधि जितेका हुन् ।
योसँगै उनी सर गारफिल्ड सोभर्स ट्रफीका पनि हकदार बनेका छन् । विराटले पहिलो पटक आइसीसी मेन्स टेस्ट क्रिकेटर अफ दि इयर अवार्ड जितेका हुन् । यसका अलावा विराट लगातार दोस्रो पटक आइसीसी मेन्स वान डे क्रिकेटर अफ दि इयर पनि भएका छन् ।
तीनवटा अवार्ड जित्दै विराटले ह्याट्रिक गरेका छन् । ३० वर्षीय कोहली क्रिकेटर अफ दि इयर, टेस्ट क्रिकेटर अफ दि इयर र वान डे क्रिकेटर अफ दि इयर बनेका छन् । साथै विराट कोहलीलाई टेस्ट र वान डे टिम अफ दप इयर दुवैको कप्तान पनि चुनिएको छ । अर्थात् विराटले एकसाथ पाँच उपलब्धि हासिल गरेर आफूलाई क्रिकेटका बादशाहका रुपमा उभ्याएका छन् ।
अवार्ड पाएपछि खुशी जनाउँदै उनले आफ्नो प्रदर्शन शानदार हुनुमा टिमका साथीहरुको पनि योगदान रहेको बताएका छन् । उनले अवार्डबाट खुसी मात्रै नमिल्ने बताउँदै यसले आफूलाई अझै राम्रो प्रदर्शन गर्न पनि हौसला दिने प्रतिक्रिया दिएका छन् । कोहलीले यो वर्ष आफ्नो कडा मेहनतले आफूलाई यति ठुलो सफलतामा पुर्याएको बताएका छन् । उनले एडिलेडमा अस्ट्रेलियाविरुद्ध मिलेको जीत र बक्सिङ्ग डे टेस्टको जितलाई यो सालकै सबैभन्दा शानदार समय भनेका छन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले मंगलवार आइसीसी अवार्ड २०१८ को घोषणा गरेको हो । यसमा वान डे र टेस्ट टिम अफ दि इयर पनि सामेल छन् । भारतका कप्तान विराट कोहलीलाई आइसीसीको 'टेस्ट र वान डे टिम अफ दि इयर-२०१८' दुवैको कप्तान बनाइएको छ ।
कोहलीलाई दुवै फर्म्याटको कप्तान बनाइएको बारे बोल्दै आइसीसीले भनेको छ, 'उनले २०१८ मा १४ वान डे म्याचमध्ये नौमा भारतलाई जिताए । कुल मिलाएर भारतले १४ खेलमा जितेर केबल ४ मा मात्रै हार भोगेको छ। अन्य दुई खेल बराबरी भएका थिए ।'
टेस्टको कुरा गर्दा विराट कोहलीले सन् २०१८ मा सबैभन्दा धेरै रन बनाए । उनले १३ टेस्टमा ५५.०८ को औसतमा १३२२ रन बनाए । 'आइसीसी वान डे टिम अफ दि इयर-२०१८' मा कप्तान विराट कोहलीका अलावा भारतको तर्फबाट रोहित शर्मा, कुलदीप यादव र जसप्रीत बुमराह अटेका छन् ।
को को परे ?
रोहित शर्मा (भारत), जोनी बेयरस्टो (इङ्ग्ल्यान्ड), विराट कोहली (भारत, कप्तान), जो रूट (इङ्ग्ल्यान्ड), रोस टेलर (न्यूजील्यान्ड), जोस बटलर (विकेटकिपर, इङ्ग्ल्यान्ड), बेन स्टोक्स (इङ्ग्ल्यान्ड), मुस्ताफिजुर रहमान (बंगलादेश), राशिद खान (अफगानिस्तान) कुलदीप यादव (भारत) र जसप्रीत बुमराह (भारत) ।