मुगुमा भारी हिमपात : यस्तो देखियो रारा ताल किनार
मुगु : जिल्लाको उच्च हिमाली क्षेत्रमामा परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ।
मंगलबार बिहान पाँच बजेबाट जिल्ला सदरमुकाम गमगढी बाहेक चारै स्थानीय तहका उच्च हिमाली क्षेत्र र आसपासका गाउँमा भारी हिमपात भएको हो।
जिल्लाका उच्च हिमाली क्षेत्रमा मंगलबार बिहान ५ बजेदेखि सदरमुकाम गमगढी र आसपासका गाउँमा पानी र अन्य क्षेत्रमा भारी हिमपात सुरु भएपछि जिल्लाको जनजीवन कष्टकर बनेको हो।
भारी हिमपातले सदरमुकाम गमगढी बाहेकका खत्याड गाउँपालिकाको खमाले, चाकपाडे, कवा, कोटिला, लमेरा, भाकोडी, सेरी, जोखिलेख, साडबाडा, डाडुपाटा, श्रीकोट, गम्था, ल्याचुरी, नर्खजी, सोरु गाउँपालिकाको रुमा, कच्चे, गिलाह, कालै, धैनाकोट, सोरुकोट, नेहर मुगुम कार्मारोङ्ग गाउँपालिकाको ९ वटैवडाको १५ गाउँ र छाँयानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढीको आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको छ।
हिमपातपछि निजी तथा सरकारी विद्यालय बन्द रहेका छन् भने सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीसमेत हिमपातले नआएपछि सरकारी कर्मचारी कार्यालयमा आगोतापेर बसेका छन्।
मंगलबार बिहान पाँच बजेबाट परेको हिमपातले जिल्लाको हवाई तथा सडक यातायातसमेत अबरुद्ध हुदा रारा विमानस्थलमा तीन दर्जन भन्दा बढी यात्रु होटलमा बस्न बाध्य भएका छन्।
सुर्खेत, नेपालगञ्ज बाट मुगु आउदै गरेका यात्रु बाहक तथा ढुवानीका सवारी साधन जिल्लाको सीमाक्षेत्रको घुच्चिलेखमा रोकिएका छन्। सदरमुका गमगढीबाट अन्यत्र जाने दुई दर्जन भन्दा बढी सवारी गमगढीमै रोकिएकाले सदरमुकामबाट अन्यत्र जाने यात्रुहरु अलपत्र परेका छन्।