सरकारको विश्वसनीयतामै प्रश्न उठ्यो : प्रकाशमान सिंह

सरकारको विश्वसनीयतामै प्रश्न उठ्यो : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पछिल्लोपटक गरिएका कतिपय निर्णयले सरकारको विश्वसनीयतामै प्रश्चचिह्न उठेको तर्क गरेका छन्।

डाक्टर गोविन्द केसीसँग यसअघि नै सम्झौता गरेको सरकार यतिबेला उनले उठाएका मागप्रति नकारात्मक देखिनुले सरकारको विश्वसनीयतामा प्रश्न उठेको उनको दावी छ।

‘मानवीयताको आधारमा पनि सम्झौता गरिसकेपछि के त्यस्तो अप्ठ्यारो पर्‍यो ?’, उनले प्रश्न गरे, ‘समझदारी टुटाउने सरकार र नेताको विश्वसनीयतामा ठूलो प्रश्न चिह्न खडा भएको छ।‘

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले तनहुँस्थित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र नेपालगञ्जस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म संसद चल्न नदिने बताए।  

‘यी दुई अस्पताल संघीय सरकारमार्फत् सञ्चालन हुने निर्णय मन्त्रिपरिषद्‍बाट नभएसम्म संसदको कुनै प्रक्रिया अघि बढ्न दिँदैनौँ’, सिंहले भने। सिंहले यसअघि सहमतिको सरकारको निर्णयबाट गठन भएका अस्पतालहरू कांग्रेस नेताको नाममा भएकै कारण संघीय सरकार मातहत नल्याइएको दावी गरे।

यसअघि सोमबार दुईपटक बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले अवरोध गरेपछि स्थगित भएको थियो। मंगलबारको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि स्थगित गरेका छन्।   

>>> सरकार भन्छ : गिरिजा-सुशीलको नामका अस्पताल खारेज गरिएको छैन

‘गिरिजाप्रसाद कोइरालाका नाममा र सुशील कोइरालाका नाममा बनेका अस्पताल संघीय सरकारको मातहतमा नआउने निर्णय किन गरियो ?’, उनको प्रश्न थियो, ‘हामी जन्मनुभन्दा अगाडि राजनीति सुरु गर्नुभएको, राणा शासन विरुद्ध लाग्नुभएको र शान्ति प्रक्रियाको नेतृत्व गर्नुभएको नेताहरूको भूमिकाको रिवार्ड (सम्मान) मा दुई तिहाइको सरकारको जेस्चर (हाउभाउ) यही हो त ?’

उनले मन्त्रीपरिसद्‍बाट भएको निर्णय पूर्वाग्रहपूर्ण भएको दावी गरे। ‘सरकारले अन्यायपूर्ण तवरले निर्णय गरेको छ’, सिंहले भने, ‘दुई तिहाइको दम्भमा कांग्रेस नेता भएकै कारण स्वीकृति दिइएन।‘

सहमतिको आधारमा बनेको तत्कालीन सरकारले स्वीकृति दिएको कुरा अहिले आएर बिर्सन नहुने उनको भनाई छ। गिरिजाप्रसाद र सुशीलको नाम जोडिएकै कारण वर्तमान सरकारले राष्ट्रलाई आवश्यकता भएको र संचालनमा रहेका अस्पताललाई नजरअन्दाज गरेको उनको दावी छ।

पहिलो संविधानसभापछि चारवटा कम्यनिस्ट सरकारले जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभा पछि गठित सुशील कोइराला नेतृत्वको सरकारले जारी गरेको उदाहरण दिँदै उनले ‘दुई तिहाइको सरकारले नकारात्मक सोच राखेर काम गरेको’ बताए।

वर्तमान सरकारले कुनै पनि क्षेत्रमा सही ढंगले काम गर्न नसकेको उनको दावी छ। ‘दुई तिहाई सरकार कुनै पनि क्षेत्रमा राम्रोसँग कदम अगाडि बढाउन सकेको छैन’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.