माझी बस्ती हस्तान्तरणमा ढिलाइ

माझी बस्ती हस्तान्तरणमा ढिलाइ

बागलुङ : पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा विस्थापित माझी परिवारले अझै घर पाएका छैनन् । बागलुङ नगरपालिका—१ खनियाँ घाटमा विस्थापितका लागि १४ वटा घरसहित नमुना बस्ती तयार गरिएको छ। तर, जग्गाको कित्ताकाट, लालपुर्जालगायत समस्याका कारण हस्तान्तरण गर्न नसकिएको नगरपालिकाले जनाएको छ। ‘हामीले करिब ३० वर्ष सरकार, नेता र कर्मचारीकै आश्वासनमै बितायौं’, उमा माझीले भनिन्, ‘बल्लतल्ल घर त बन्यो तर पाँच महिनाभन्दा बढी भयो बस्ती हस्तान्तरण भएको छैन ।’

२०४६ मा सडक खन्ने क्रममा घरबास गुमाएका परिवार तीन दशकदेखि बागलुङ–१ स्थित बाँगेचौर खेल मैदानछेउ टहरामा बस्दै आएका थिए। लामो समयपछि घरमा बस्न पाउने अवस्था आए पनि हस्तान्तरणमा ढिलाइ हुँदा ढुक्कले बस्न नपाएको उनको गुनासो छ। ‘तीन दशक सास्ती र सकसमा बितायौं’, फूलमाया माझीले भनिन्, ‘सरकारले ढिलै भए पनि सबैलाई एकै ठाउँमा घर निर्माण गरिदिएकोमा खुसी लागेको छ ।’ जतिसक्दो छिटो नगरपालिकाले लालपुर्जासहित घर दिए दुःखजिलो गरेर जीवनयापनमा लाग्ने उनले बताइन्। ‘नगरपालिकाका सरहरूले सबै हेरेर जानुभएको छ’, उनले भनिन्, ‘अब छिट्टै आउँछौं भन्नुभएको छ, हामी हस्तान्तरणको प्रतीक्षामा छौं ।’

२०७३ मा बागलुङ नगरपालिका, नगर विकास कोष र माझी बस्ती व्यवस्थापन समितिबीच बस्ती व्यवस्थापनका लागि घर बनाउने गरी त्रिपक्षीय सम्झौता भएको थियो। ८२ लाख लागतमा ब्लक र जस्तापाता प्रयोग गरी खनियाँघाटमा घर निर्माण गरिएको हो। १ करोड १३ लाख लागत अनुमान गरिए पनि ठेकेदार कम्पनी मुक्तिनाथ बीएन्डबी त्रिशक्ति निर्माण सेवाले ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो। नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण गरिएको हो ।

‘सुरुमा नगरपालिकाको बेवास्ता, निर्माण कम्पनीको लापरवाही, सरकारी प्रक्रिया केही झन्झटिलो भएकाले बस्ती निर्माणमा ढिलाइ भयो’, माझी बस्ती व्यवस्थापन समिति अध्यक्ष केबी राना मगरले भने, ‘नयाँ वर्ष, बडादसैंमा नयाँ घर दिने आश्वासन हुँदाहुँदा बल्ल घर त पाउने अवस्था भयो। तर, फेरि बस्ती हस्तान्तरणमा उस्तै समस्या र ढिलाइ देखिएको छ। हामीले जतिसक्दो छिटो दिन दबाब दिइरहेका छाैं ।’

अब छिट्टै हस्तान्तरण गरिने नगरपालिकाले बताएको छ। मेयर जनकराज पौडेलले लालपुर्जासहित नयाँ घर हस्तान्तरण गर्न लागिएकाले प्रक्रियागत रुपमा केही मिलाउँदा ढिलाइ भएको बताए। ‘हामी पनि बस्ती हस्तान्तरण गर्न आतुर छौं’, उनले भने, ‘तर, व्यक्तिको जग्गा नगरपालिकाले खरिद गरेर घर निर्माण गरेकाले माझी परिवारको नाममा बनाउँदा ढिलाइ भएको हो ।’ यसका लागि नापी कार्यालयबाट कर्मचारी लगेर कित्ताकाटलगायत कार्य गरिसकिएको जानकारी उनले दिए। भने, ‘अब धेरै समय लाग्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.