कर्णालीमा भारी हिमापात

कर्णालीमा भारी हिमापात

कर्णाली ब्युरो, सुर्खेत : कर्णालीका जुम्ला, मगु, डोल्पा र हुम्लामा मंगलबार दिनभरि नै हिउँ परेको छ। केही ठाउँमा जिल्लामा पानी परेको छ। सुर्खेत, दैलेख र जाजरकोटका केही स्थानमा भने असिनापानीसमेत परेको छ। चिसो बढेपछि मंगलबार व्यापार व्यवसायदेखि सरकारी कामसमेत प्रभावित भएका छन्।

माथिल्लो डोल्पा र हुम्लाका अधिकांश भागमा रातिदेखि नै हिउँ पर्न सुरु भएको थियो। माथिल्लो डोल्पामा करिब दुई फिटसम्म हिउँ जमिसकेको शे–फोक्सुण्डो गााउँपालिका साल्दाङका कार्माछिरिङ लामाले जानकारी दिए। पुसमा परेको हिउँ नबिलाउँदै यसपटक दुई फिट बढी हिउँ परेपछि गोरेटो बाटो भएका क्षेत्रमा कठिनाइ उत्पन्न भएको छ। कर्णालीमा यस वर्ष चारपटकसम्म हिउँ परिसकेको छ। सरकारी कार्यालयका प्रतिनिधिहरूले दिनभर कार्यालयमा आगो तापेर बिताएका थिए। हिमपातपछि डोल्पाको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको बताइएको छ।

हिउँ खेल्दै रारा घुम्न आएका पर्यटक। तस्बिर : जीवन सेजुवाल

हिउँवर्षाले ग्रामीण भेगमा बढी प्रभाव पारेको छ। निरन्तर हिउँ पर्न थालेपछि वस्तुभाउलाई दानापानी दिन कठिन भएको जगदुल्ला गाउँपालिकाका कृषक हरिबहादुर थापाले बताए। मंसिर र पुसमा परेको हिउँले जमिन साह्रो हुने भए पनि माघको हिउँले बाँधिएको जमिनलाई खुकुलो बनाउने र नयाँ पालुवा पलाउने भएकाले किसानका लागि लाभदायक मानिन्छ।

पाखो जमिनमा बाली र फलफुलका बिरुवा लगाएका किसानले भने यसपटकको हिउँका कारण पानी चहार्न सहज भएको बताएका छन्। उनीहरूले हिउँपोखरीमा हिउँ जम्मा गरेका छन्।

यस्तै मुगु र हुम्लामा पनि मंगलबार बिहान पाँच बजेबाट भारी हिमपात भएको छ। सदरमुकामबाहे अन्य क्षेत्रमा हिमपातले जनजीवन कष्टकर पारेको छ। पहिले पानी परेर पछि हिउँ जम्न थालेपछि यसवर्षकै अत्यधिक हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।

हिउँमा पानीको मात्रा धेरै भएका कारण बुधबारसम्म हिउँ पर्न नरोकिए केही क्षेत्रमा पहिरो जानसक्ने खतरा पनि रहेको भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ। सदरमुकाम र तल्लो क्षेत्रमा आधा फिटसम्म परे पनि लेकतिर भने तीन फिटसम्म परेको स्थानीयले बताएका छन्।

हवाई र सडक यातायात ठप्प

मंगलबार निरन्तर बर्सात र हिउँ पर्न थालेपछि कर्णालीका अधिकांश क्षेत्रमा हवाई सेवा ठप्प भएका छन्। जुम्ला, हुम्ला, मुगु र डोल्पाका विमानस्थलबाट मंगलबार कुनै पनि उडान हुन सकेनन्। हवाई यातायात ठप्प हुँदा नेपागलन्ज झर्ने तयारी गरेका तीन दर्जन पर्यटक रारा विमानस्थल मुगुमै रोकिएका छन्। सडक यातायात पनि प्रभावित बनेको छ। नेपालगन्ज र सुर्खेतबाट मुगु जाँदै गरेको यात्रुवाहक र मालवाहक गाडी मगु र जुम्लाको सीमामा पर्ने घुच्ची लेखमा थन्किएका छन्।

यस्तै डोल्पाको हवाई मात्रै होइन आन्तरिक सडक यातायात पनि ठप्प भएको छ। दुनै–जुफाल चल्दै आएका सना सवारी बन्द हुँदा यात्रुहरूले आवतजावत गर्न पाएनन्। बिहानै आधा फिट हिउँ जमेपछि डोल्पाको जुफालमा कुनै पनि विमानले उडान नभरेको गोमा एयरका स्टेसन इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए। उडान प्रभावले नेपालगन्ज तथा सुर्खेतका अस्पतालम रेफर गरिएका बिरामी सदरमुकाममै रोकिएका छन्। सोमबार रातिदेखि नै हिउँ पर्न थालेको हुम्लामा विद्युत् गृहमा समस्या आएपछि आपूर्ति बन्द भएको छ।

हिमपातले स्थानीय उत्साहित

जाजरकोट हिमपातसँगै बाली सप्रने भन्दै स्थानीय उत्साहित भएका छन्। ‘हिउँ परेको बेला निकै चिसो हुन्छ। कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने, ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौं, हिउँपरेको वर्ष भोकमरी हुँदैन।’

हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरू नसुक्ने, पाखोबारीमा लगाएका अन्नपात, फलफुल र तरकारी खेती सप्रने थापाले बताए। जिल्लाको कुसे, बारेकोट र जुनीजाँदे गाउँपालिकाका विभिन्न बस्तीमा भारी हिमपात भएको छ। हिमपातले नयाँ पालुवा पलाउनुका साथै बाली सप्रने भन्दै किसानहरूले माघको हिउँलाई अवसरका रूपमा लिएका छन्।

 (सुर्खेतबाट गोविन्द देवकोटा, जुम्लाबाट नन्दराम जैसी, मुगुबाट जीवन सेजुवाल, डोल्पाबाट टेकबहादुर शाही)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.