७५ पुगे लघुवित्त
काठमाडौं : चालु आवको यस अवधिमा पाइपलाइनमा रहेका १० वटा लघुवित्तले वित्तीय कारोबार सञ्चालन अनुमति पाएका हुन्। देशभर ७५ वटा लघुवित्त संस्था सञ्चालनमा आएका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म ६५ वटा लघुवित्त सञ्चालनमा थिए। चालु आवको यस अवधिमा पाइपलाइनमा रहेका १० वटा लघुवित्तले वित्तीय कारोबार सञ्चालन अनुमति पाएका हुन्।
राष्ट्र बैंकले केही समयअघि वित्तीय कारोबार गर्न इजाजत दिएका लघुवित्तमा जालपा लघुवित्त वित्तीय संस्था पोखरा, महिला सामुदायिक लघुवित्त घोराही, स्मार्ट लघुवित्त घोराही र युनिक नेपाल लघुवित्त वित्तीय संस्था कोहलपुर छन्।
दिव्य लघुवित्त वित्तीय संस्था नमोवुद्ध काभ्रेपलाञ्चोक, स्वेडा लघुवित्त वित्तीय संस्था धुनिवेसी र ग्रामीण स्वयंसेवक लघुवित्त हरिवन पनि चालु आवमा सञ्चालनमा आएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। यसै अवधिमा महिला लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्था बनेपा ,आदर्श लघुवित्त वित्तीय संस्था बर्दिबासले पनि लघुवित्त सञ्चालन अनुमति पाएका छन्।
पछिल्लो समय राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका स्वेडा, ग्रामीण स्वयंसेवक, महिला, मानुषी, आदर्श, युनिक नेपाललगायत लघुवित्त वित्तीय संस्था गैरसरकारी संस्थाबाट लघुवित्त वित्तीय संस्थामा परिवर्तन भएका हुन्।
यी वित्तीय संस्थामध्ये दिव्य लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको वित्तीय संस्था हुन् भने अन्य चारदेखि १० जिल्ले रहेको प्रवक्ता पौडेलले बताए। राष्ट्र बैंकले तोके बमोजिम ‘घ’ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाले ग्रामीण क्षेत्रका गरिव, महिला, सिमान्तकृत र पिछडिएका वर्गमा लघु कर्जा विस्तार गर्दै आएका छन्। यस्ता वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा थोरै पुँजी परिचालन गरेर चालनमा आएका हुन्छन्। गैरसरकारी संस्था र अन्य गरी करिब एक सय २५ वटा संस्था लघुवित्त सञ्चालन इजाजत प्राप्त गर्र्न पाइपलाइनमा छन्।
लघुवित्त वित्तीय संस्थाको कर्जा करिब साढे एक खर्ब पुगेको लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले बताए। ‘अहिले यी संस्थाले करिब २८ लाख घरपरिवारमा लघुवित्तको सेवा पुर्याउँदै आएका छन्’, उनले भने, ‘पुराना लघुवित्तलाई लगानी गर्न केही सहज भए पनि नयाँलाई लगानीका लागि वाणिज्य बैंकबाट कर्जा सापटी लिन गाह्रो भएको उनको भनाइ छ। ‘नयाँ लघुवित्तले वाणिज्य बैंकबाट १३/१४ प्रतिशतसम्म कर्जाको ब्याज तिरेर लगानी गर्न गाह्रो भएको छ’, उनले भने ‘राष्ट्र बैंकले ब्याजदर (क्याप)को सीमा हटाए पनि १८ प्रतिशतभन्दा माथि नजान अनुरोध गरेको छ।’
अहिले अधिकांश लघुवित्तले १८ प्रतिशत ब्याजदरमै लगानी गरे पनि केहीले भने १९ प्रतिशतसम्म ब्याज लिइरहेका छन्। ‘नयाँ आएका लघुवित्तलाई गाह्रो छ’, उनले भने, ‘वाणिज्य बैंकले एकल विन्दुमा ब्याजदर घटाउने भने पछि केही सहज हुने आशमा हामी छौं।