देशका विभिन्न भागमा वर्षा र हिमपात : जनजीवन कष्टकर बन्दै

देशका विभिन्न भागमा वर्षा र हिमपात : जनजीवन कष्टकर बन्दै

बेनी : वर्षा र हिमपातका कारण म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङको जनजीवन प्रभावित बनेको छ। सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो। मुस्ताङको जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडकमा हिउँ जमेपछि जोमसोम-मुक्तिनाथ र जोमसोम-लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ। एक फिटसम्म बाक्लो हिउँ जमेको छ। बेनी-जोमसोम सडकको यातायात सेवामा हिमपातले असर गरेको छैन्। बुधबार बिहानसम्म यातायातका साधन भने चलिरहेका छन्। 

ठिनीका सुवास थकालीले चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बताए। घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौरी, च्याङग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। चरनका लागि छाडिएको छैन्। वर्षासँगै हावाहुरी पनि चलेको छ। 

पर्यटकीय स्थल सुनसान छन्। जोमसोम-पोखरा हवाई उडान हिमपात, हावाहुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । तारा एयरका कर्मचारी दुर्गा पुनले मंगलबारदेखि हवाई उडान नभएको बताए।

सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेका छन्। सडक, पुल, भवन, सिचाई लगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ‍। उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेसीका न्यानो स्थानमा झरेका थिए। 

मनाङमा भएको हिमपात। तस्बिर सौजन्य : ब्रिज गुरुङ-एक्याप मनाङ

वर्षा र हिमपातले कृषकमा भने खुसीयाली छाएको छ। यो वर्ष मुस्ताङमा तेस्रो पटक हिउँ परेको हो। वर्षा भएपछि सिचाई हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका २ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए। 

म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा, मंगला र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने टोड्के, अन्नपूर्ण गाउँपालिका ६ को घोडेपानी, मोहरेडाँडा, खोप्रा लगायतका स्थानमा पनि हिमपात भएको छ । 

हिउँ पर्न थालेपछि बढेको चिसोले सर्वसाधारण घरबाहिर निस्कन नसकेको र पर्यटक आगमन नभएकाले सुनसान रहेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए। गुर्जामा हिउँ परेर चिसो बढेपछि पठनपाठन बन्द भएको स्थानीय जनकल्याण माविका प्रअ रुपेश सुवेदीले बताए। 

मनाङमा पनि भारी हिमपात
हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमन ठप्प बनेको छ। मंगलबार दिउँसोदेखि लगातार हिमपात भैरहेको स्थानीयले बताएका छन्।

सदरमुकाम चामेसहित तिमाङ, दानाक्यु, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू लगायतका क्षेत्रहरुमा हिमपात भएको स्थानीयले बताएका छन्। हिमपातले जनजीवन कष्टकर बनेको छ। 

गौरी शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले सडक र पदयात्रा मार्गमा हिउँ जम्ने गरी हिमपात भएको बताए। हिमपातका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेको छैन्।

तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी ब्रिज गुरुङले हिमपातका कारण पर्यटकहरु गन्तब्यमा जान रोकिएको बताए।

प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीकाअनुसार हिमपातले बाहिर निस्कन सक्ने अवस्था छैन। हिमपातले चिसो बढेको र जनजीवन कष्टकर बनेको उनले बताए।खत्रीकाअनुसार बटुवा तथा पर्यटकको आवतजावत रोकिएको छ। 

निस्याङ गाउँपालिका-१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेकाअनुसार अत्यधिक चिसोले सानासाना खोलाहरू जमेका छन । धारामा पानी झर्न सकेको छैन। हिउँमा चिप्लिएर लडिने भएकाले मानिसहरु आवतजावत गर्न सकेका छैनन । 

केही दिन अघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमाल हिउँले ढाकिएका छन्। हिउँ परेपछि हिमालमा पनि रौनक देखिएको छ। मनाङमा हिउँ परेसँगै लमजुङका विभिन्न क्षेत्रमा हल्का वर्षा भएको छ। माथिल्लो क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा पानी परेकाले किसान खुसी देखिएका छन्।

मनाङमा परेको हिमपात। तस्बिर : नवीनराज कुइँकेल

मनाङमा परेको हिमपात। तस्बिर : नवीनराज कुइँकेल

सन्तोष गौतम-बेनी /नवीनराज कुइँकेल-लमजुङ/


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.