भारतमा १६ बालबालिका सहित ३१ रोहिंग्या पक्राउ
नयाँदिल्ली : भारतको उत्तराखण्ड राज्यस्थित त्रिपुरामा भारतीय प्रहरीले १६ जना बालबालिका सहित ३१ जना मुस्लिम अल्पसंख्यक रोहिंग्यालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६ जना महिला पनि छन् । बंगलादेश जान तयार नभएपछि उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
म्यानमारबाट दशौं हजारको संख्यामा लखेटिएका रोहिंग्या समूदायका मानिस अधिकांश भारतमा छन् । भारत सरकारले भने उनीहरुलाई अवैध रुपमा बसोबास गर्दैआएका विदेशीको सूचीमा राखेको छ ।
म्यानमारबाट लखेटिएपछि उनीहरु भारतबाहेक बंगलादेश, नेपाल, पाकिस्तान लगायत मुलुकमा शरणार्थीको हैसियतमा रहँदैआएका हुन् । केही साताअघि मात्रै एक हजारभन्दा बढीको संख्यामा उनीहरु भारतबाट बंगलादेश गएका थिए । तर सीमाक्षेत्रको बार नाघेर भारत छिरेको पछिल्लो समूहलाई भारत प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीहरुका अनुसार पक्राउ परेकाहरुलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने छ । यस क्रममा उनीहरुलाई १४ दिन न्यायीक अदालतमा राखिने बताइएको छ ।पछिल्लो ६ वर्षयता भारतका मुस्लिम प्रभावित विभिन्न क्षेत्रमा रोहिंग्या समूदाय लुकिछिपी बस्दैआएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।