विधेयक पास गराउने उपाय कांग्रेसबाट सिकेका छौँ : योगेश
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गतेको संसद बैठकबाट पारित हुने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए । ‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ’, उनले भने, ‘मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पास हुन्छ । त्यसको नजिरचाहिँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।’
‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन’, साक्षात्कारमा बोल्दै उनले भने, ‘तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विधेयक प्रस्तुत गर्ने चलन हुन्छ ।’
संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । उनले भने, ‘त्यतिबेला विधेयक पास भइहाल्यो, हामीले विरोध गर्यौं । नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौं । अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस, तर विधेयक पारित गर्ने कुरालाई रोक्न पाइँदैन ।’
विधेयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विधेयक लिएर पढाउन जान पनि कांग्रेसलाई उनले सुझाव दिए । भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन् । किनभने उहाँले उठाउनुभएको सबै माग विधेयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दापनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो ।’