कैलाली नाकाबाट छ महिनामा १० अर्बको आयात
धनगढी : सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा नौ अर्ब ९९ करोड ६७ लाख बराबरकाे सामान आयात गरिएको छ। सामान आयातवापत करिब दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।
चालु आवमा सबैभन्दा बढी असोज महिनामा ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको थियो। यस्तै भदौमा ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए।
पेट्रोल र डिजेल सबैभन्दा बढी आयात भएको छ। दुई अर्ब ५० करोडको डिजेल र ६४ करोड ७९ लाखको पेट्रोल आयात गरिएकाे छ। त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी ३३ करोड ४८ लाख ६७ हजार मूल्य बराबरकाे बिस्कुट आयात भएको छ। चालु आवमा हालसम्म ३९ करोड ५६ लाख छ हजार बराबरको मात्रै निर्यात भएको छ।
गत आर्थिक वर्षमा कार्यालयले तीन अर्ब ८७ करोड राजश्व सङ्लन गर्ने लक्ष्य राखेकोमा चार अर्ब २० करोड राजश्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षका लागि कार्यालयले पाँच अर्ब ३७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।
रासस