प्रदेश तीनबाट पहिलो पटक सवारी दर्ता सुरु
हेटौंडा : प्रदेश संरचना अनुसार प्रदेश ३ बाट पहिलो पटक सवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर ३ अन्तर्गतको यातायात व्यवस्था तथा सेवा कार्यालय हेटौंडाले बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्दै आएको विद्युतीय जीपलाई प्रदेशको पहिलो नम्बर दियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाको नाममा दर्ता रहेको विद्युतीय जीपको नम्बर प्रदेश ३–०३–००१–झ–०००१ रहेको छ । कार्यालय उद्घाटन कार्यक्रममा एक निजी र एक भाडाका सवारी दर्ता गरिएको छ । काठमाडौंबाहिर पहिलोपटक हेटौंडा कार्यालयले प्रदेश संरचनाबाट सेवा दिन सुरु गरेको कार्यालय प्रमुख पोषण थापाले बताए ।
‘सवारीसाधनको अनुमतिपत्र नवीकरण, नयाँ अनुमतिपत्र वितरणका साथै नयाँ संरचनाअनुसार सवारी दर्ता पनि थालेका छौं’, उनले भने, ‘३ नम्बर प्रदेश अन्तर्गत रहेका १० वटा यातायात कार्यालयमध्ये काठमाडौं उपत्यकाभित्र रहेका ४ वटा कार्यालयले भने सवारी अनुमतिपत्र जारी गर्नुका साथै पुरानै प्रक्रियाबाट सवारी दर्ता गराइरहेका छन् ।’
अन्य सेवा बुधबारबाटै सुरु भए पनि नयाँ अनुमतिपत्र वितरणको काम सुरु हुन भने केही समय लाग्ने थापाले बताए ।
‘भौतिक संरचना निर्माण भइनसकेकाले नयाँ अनुमतिपत्र वितरणमा भने केही समय लाग्छ’, उनले भने, ‘हामीले यहाँबट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान तथा नवीकरण गर्न सक्छौं ।’
प्रदेशको यातायात सम्बन्धी ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी रहेको छ । साथै त्यससम्बन्धी निर्देशिकाहरु समेत निर्माण भइरहेकाले नयाँ अनुमतिपत्र वितरणको काम तत्कालै सुरु गर्न नसकिएको कार्यालय प्रमुख थापाले बताए । प्रदेश ३ को हेटौंडा कार्यालयले यो सेवा सुरु गरे पनि अन्य प्रदेशमा भने प्रदेश संरचना अनुसार सवारी दर्ता सुरु भएको छैन ।
प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका उद्घाटन गर्दै मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले प्रेदश अन्तर्गत काम सुरु भएपछि जनताले नयाँ सरकारको अनुभूति पाउनुपर्ने बताए ।
सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘प्रदेश संरचनाअनुसार पहिलो पटक सवारी दर्ता सुरु गरिएकाले केही प्राविधिक तथा अन्य समस्या पर्न सक्छ,त्यसको लागि मन्त्रालयसँग समन्वय गरेर तपाईहरु काम गर्नुहोस् ।’
सवारी दर्ता, नवीकरण, नयाँ अनुमतिपत्र लगायतको काम पहिलेभन्दा निकै सहज हुने भन्दै उनले यातायात क्षेत्रमा रहेको समस्याहरु समाधानमा पनि प्रदेश सरकार लागि परेको बताए ।