हिउँ परेपछि दोलखाका आलु किसान उत्साहित
दोलखा : जिल्लाको माथिल्लो भूभागमा हिमपात भएपछि स्थानीय आलु किसान उत्साहित भएका छन् । हिउँ परेपछि माटोको उर्वराशक्ति बढ्ने, माटोको चिस्यान लामो समयसम्म कायम रहने भएकाले करिब ५ सय आलु किसान उत्पादन बढ्ने भएपछि उत्साहित भएका हुन् ।
बुधबार बिहान परेको बाक्लो हिउँका कारण लाकुरीडाँडा, शैलुङ, कालिञ्चोक, जिरी, झ्याँकू, माली क्षेत्रका आलु किसान बढी लाभान्वित हुने भएका छन् ।
भीमेश्वर नगरपालिका–९, खरीढुंगाकी किसान हस्तमाया श्रेष्ठले बाक्लो हिमपात भएपछि यो वर्ष विगतको भन्दा एकतिहाइ बढी आलु फल्ने बताइन् । ‘उनीहरुले वर्षमा करिब ५० लाखसम्मको आलु बिक्री गर्ने गरेका छन्’, किसान श्रेष्ठले भनिन्, ‘हरेक घर परिवारले वर्षमा कम्तीमा एक लाखसम्मको आलु बिक्री गर्छन ।’
सुर्के मावि खरिढुङ्गाका प्रधानाध्यापकसमेत रहेका किसान जयबहादुर श्रेष्ठले हिउँ पर्ने आसमा बसेका किसान अहिले रमाएको बताए । हिँउ परेपछि माटोको उर्वराशक्ति बढ्नुका साथै गोडमेल पनि धेरै गर्नु नपर्ने कारण किसानहरु उत्साहित भएका प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
जिल्ला समन्वय समितिका सदस्य एवम् खरिढुङ्गाका किसान जीतबहादुर श्रेष्ठका अनुसार खरीढुङ्गा आसपासमा करिब ३ हजार रोपनीमा आलु खेती हुने गरेको छ । जाडो सिजनमा उत्पादन हुने आलुलाई ठेकेदारले पनि बढी मूल्य दिने गरेको उनको भनाई छ ।
दोलखाको माथिल्लो भेगबाट वर्षमा करिब ९ करोडको आलु विक्री हुने गरेको तथ्याङ्क छ । आलु बेचेर परिवारको रामै्र गुजारा चलाउने गरेका खरीढुङ्गाका स्थानीय किसानलाई हिउँ पर्दा जाडोको चिन्ता भन्दा आलु राम्रो उत्पादन हुने खुशीले उत्साहित बनाउने गरेको छ ।
काठमाडौको कालिमाटीमा शैलुङ, मूडे, खरीढुङ्गाको आलु राम्रै मूल्यमा बिक्री हुने गरेको स्थानीय किसानहरुको अनुभव छ । यी क्षेत्रमा उत्पादित आलु सिजनमा ५५ देखि ८० रुपैयाँ धार्नीसम्म बिक्री हुने गरेको छ । अफ सिजनमा आलु एक सय रुपैयाँ धार्नीसम्म पुग्ने गरेको छ ।