६ करोड ५० लाख पाउण्ड खर्चेर डे जोङलाई भित्र्याउँदै बार्सिलोना
बार्सिलोना : स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले डच क्लब आयाक्सका मिडफिल्डर फ्रेन्की डे जोङलाई भित्राउने निश्चित भएको छ । २१ वर्षीय डे जोङलाई क्लबमा आबद्ध गर्ने विषयमा छिट्टै सम्झौता गरिने बार्सिलोनाले जनाएको छ ।
डे जोङका लागि बार्सिलोनाले ६ करोड ५० लाख पाउण्ड (करिब नौ अर्ब ७० करोड ४५ लाख नेपाली रुपैयाँ) खर्चने भएको छ । बार्सिलोना र डे जोङबीच पाँच वर्षका लागि सम्झौता हुने समाचारमा जनाइएको छ । डे जोङ बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्ने २०औं डच खेलाडी बन्ने छन् ।
नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका डे जोङ रक्षापँक्तिबाट खेल्न पनि उत्तिकै सिपालु छन् । डे जोङलाई भित्राउन इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, इटालियन क्लब युभेन्ट्स र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले पनि प्रयास गरेका थिए ।
डे जोङ सन् २०१५ मा अर्को डच क्लब विलेमबाट आयाक्समा आबद्ध भएका थिए । उनले यसबीचमा आयाक्सका लागि ६५ खेल खेले । उमेर समूह हुँदै उनले सन् २०१८ मा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । नेदरल्यान्ड्सबाट उनले हालसम्म पाँच खेलमात्र खेलेका छन् ।