‘व्यवस्थित सहरी विकासमा क्रियाशील छाैँ'

‘व्यवस्थित सहरी विकासमा क्रियाशील छाैँ'

काठमाडाैं : नेपालको सहरी विकास, सुरक्षित भवन निर्माण र व्यवस्थित आवासको क्षेत्रमा सहरी विकास तथा तथा भवन निर्माण विभागले केन्द्रदेखि स्थानीय तहसम्म काम गरिरहेको छ । तहमा बन्ने पूर्वाधार निर्माण सकेपछि सम्बन्धित क्षेत्रलाई हस्तान्तरण गर्ने र व्यवस्थित सहर बनाउने काममा विभागले योगदान गरिरहेको छ । विभागले पछिल्लो समय गरिरहेको कामकारबाही सहितको समसामयिक विषयमा विभागका महानिर्देशक मणिराम गेलालसँग अन्नपूर्णकर्मी राजु बास्कोटाले गरेको कुराकानी :

सहरी विकास, आवास र भवन निर्माणका काममा विभागले कसरी प्राथमिता दिएको छ ?

हामीले मुख्यगरी भवन, आवास र सहरी विकासका तीन क्षेत्रमा काम गर्ने गरेका छौं । तीनवटै यसको कार्यक्षेत्र हो । यसमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन गराउने काम भवन निर्माणमा पर्छ । सबै सरकारी भवन, सरकारी कार्यालय, प्रत्येक जिल्ला सदरमुकाममा कम्तिमा एउटा सभाहल बनाउने, व्यक्तिगत रूपमा कसैले घर बनाउँदा राष्ट्रिय भवन संहिताले राखेको प्रावधानअनुसार गरेको छ छैन त्यसको अनुगमन गर्ने काम गरेका छौं । नक्सापास गर्ने काम सम्बन्धित स्थानीय तहबाटै हो । भवन ऐन २०५५ ले अनुगमनको अधिकार विभागलाई दिएको छ ।

अनुगमनबाट फेला परेका संहिता पालना नभएका र मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएका भवन के हुन्छन् ?

मापदण्ड पालना नगरी बनाइएका भवनहरूलाई भत्काउन नगरपालिकालाई निर्देशन दिने काम हामी गर्छौं । विभाग नियन्त्रणमुखी मात्रै होइन, मापदण्ड कार्यान्वयन गर्नेबारे जानकारी पनि दिइन्छ । भवन बनाउन आवश्यक डिजाइन तथा भवन संहिता छ । सरल भाषामा भवन निर्माण निर्देशिका बनाइएको छ । भवन निर्माणका निम्ति विभिन्न ३१ प्रकारका भवनका डिजाइन छन् । कुनै पनि डिजाइन प्रयोग गरेर घर बनाउँदा भूकम्प प्रतिरोधी छ छैन भनेर पुनः प्रमाणित गरिरहनु पर्दैन । यी घर आफैंमा भूकम्प प्रतिरोधी हुन् । घरको नक्सापास गर्न एकदमै सजिलो छ । यही नक्साअनुसार घर बनाएको अवस्थामा तुरुन्तै पास हुन्छ ।

यसका लागि आवश्यक जनशक्ति चाहिन्न र ?

सुरक्षित घर बनाउन आवश्यक डकर्मी चाहिन्छ । यसका लागि विभगले आवश्यक डकर्मी÷सिकर्मीको तालिम दिने गरेको छ । नयाँ सिभिल इन्जिनियरहरूलाई नक्सा आदि प्राविधिक विषय हुने भएकाले तालिम दिइन्छ । स्टक्चरल इन्जिनियरबाहेक अरुलाई पनि तालिम दिने गरेका छौं । दक्ष जनशक्ति परिचालन गरेरै भवन निर्माणको काम अगाडि बढाइरहेका छौं ।

संघीय संसद्को भवन निर्माण कुन चरणमा छ ?

हामीले तत्कालै गर्न खोजेको भवनको कामका रूपमा यो संसद् भवन परेको छ । सिंहदरबारको पुतली बगैंचामा यो भवन बनाउँदै छौं । यसको विस्तृत डिजाइन तयार भइसकेको छ । ठेक्काको प्रक्रिया माघको अन्तिमतिरै सुरू गर्दैछौं ।

अन्तर्राष्ट्रिय सभा हलको निर्माण नि ?

एकैपटक धेरै क्षमतामा अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्दा सभाहलको अभाव छ । यसका लागि हामीले नेपाल नागरिक उडड्यान प्राधिकरण भक्तपुरको जग्गामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल बनाउँदै छौं । यसको पनि डिजाइनको चरणमा छ । विभिन्न जिल्लामा १८ वटा सभा हल चालू अवस्थामा छन् । थप सभाहल बनाउने चरणमा छौं । सबै जिल्लामा कम्तिमा एक एकवटा सभाहल बनाउने गरी काम अगाडि बढाइरहेका छौं ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतको अनुदान कहिलेबाट लागू हुन्छ ?

आगालागीको जोखिममा रहेका तराई क्षेत्र अन्य क्षेत्रका लागि घरको छानो हटाएर जस्ताको छानो राख्न प्रतिघर ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था सहितको सुरक्षित नागरिक आवास कार्यक्रम ल्याइएको हो । यसलाई कार्यान्वयन गर्न कार्यविधि बनाएर स्वीकृत गरिसकिएको छ । अब योजना संकलन गर्ने, स्थान छनोट गर्ने र स्थानीय तह तोक्ने काम हुँदैछ । छिट्टै कार्यान्वयन गर्दैछौं ।

यो कार्यक्रमअन्तर्गतको सुविधा तराई क्षेत्रका स्थानीय तहका लागि मात्र हो कि सबै तहले पाउने हुन् ?

पैसाको उपलब्धताअनुसार सबै स्थानीय तहलाई दिनेछौं । यो कार्यक्रम खरको छानो भएका घरका लागि हो । यसअन्तर्गत सजिलै आगलागी नहुने जस्ताको छानो लगाउन नगद ५० हजारको अनुदान दिने हो ।

विभागले बनाएको इचंगुनारायणको अपार्टमेन्ट किन अझै अलपत्र ?

सहरी गरिबका लागि आवास सुविधा दिन इचंगुनारायणमा तीनवटा आपर्टमेन्ट बनाइएका छन् । तर, सहरी गरिब पहिचान हुन नसकेका कारण भवन बनेर पनि प्रयोगमा आउन सकेको छैन । गरिबी निवारण तथा सहरी विकास मन्त्रालयले यसको मापदण्ड बनाएर गरिब पहिचान गर्नुपर्ने हो । गरिबको पहिचान नभएकै कारण यसको उपयोग गर्न नसकिएको हो । सर्वत्र यसको चासो पनि बढेको छ । गरिब पहिचान भएपछि सम्बन्धित गरिबलाई नै यो भवन प्रयोग गर्ने दिनेछौं ।

यसअघि मुख्यमन्त्रीलाई राख्ने विषय पनि उठेको थियो नि ?

सहरी गरिब पहिचान हुन नसकेको र वर्षौंदेखि भवन प्रयोगविहीन भएकाले अन्य प्रयोजनका निम्ति दिने विषयमा छलफल गरेका थियौं । तर १२ करोड रुपैयाँमा बनाएको यो भवनभित्रै संरचना तोडमोड गर्नुपर्ने भएको छ । कोठा ठूलो बनाउनु पर्ने, पार्किङ, सभा हलसहितको संरचना बनाउँदा भवन निर्माण गरेको भन्दा बढी खर्च गर्नुपर्ने भएकोले तोडमोड गर्न व्यावहारिक भएन । त्यसैले अब हामी यसलाई सहरी गरिबकै निम्ति प्रयोगमा ल्याउने निष्कर्षमा पुगेका छौं ।

सहरी विकासमा कस्तो काम भइरहेको छ ?

सबैभन्दा धेरै काम गरिरहेको भनेकै सहरी विकासको क्षेत्रमा हो । २९३ नगरपालिकामा आवश्यक कार्यालयको व्यवस्था मिलाउने काम सहरी विकासले नै गरेको हो । नगरपालिकामा आवश्यक सहरी पूर्वाधार बनाउने जिम्मा पनि सहरी विकासकै हो । सहरमा फोहोरको व्यवस्थापन, ढल, नाला, सडक, सौन्दर्यीकरण सहितका काम गर्ने काम हामीले गरिरहेका छौं । पछिल्लो समय सहरी क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न निकै गाह्रो विषय भएको छ । फोहोर सहरमा हुन्छ, सहरमा फाल्ने ठाउँ हुँदैन । त्यसलाई बाहिर लैजानु पर्छ । स्थानीयले सहरले फोहोर उत्पादन गर्ने बाहिर ल्याएर फाल्ने भनेर विरोध गर्ने गरेका छन् । जनकपुरमा प्रोजेक्ट सकिँदा पनि काम गर्न नसकेर दातृ निकायको सहयोग नै फिर्ता भएको छ । बुटवल र सिद्धार्थनगरमा पनि यो समस्याकै कारण फोहोरमैला व्यवस्थापनको काम हुन सकेको छैन ।

सघन सहरी विकास कार्यक्रमका काम कहाँ पुग्यो ?

भारतसँग सीमा जोडिएका १८ वटा जिल्लाका सदरमुकाममा सहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अगाडि सारिएको छ । ३ देखि ४ वर्षसम्म काम गर्ने भनेर प्रतिवर्ष ५० करोड रुपैयाँ खर्च गर्ने कार्यक्रम अगाडि बढेको छ । यसमा सुरुमा लिइएका १८ वटा र थप दुई नगरपालिका गरेर सडक, नाला, बजार केन्द्र, बसपार्क, सहरी सौन्दर्य सहितको सहरी पूर्वाधार बनाउने भन्ने कार्यक्रम छ ।

सहरी विकासका अन्य कार्यक्रम ?

पहिले छुट्टाछुट्टै नगरपालिकामा काम हुने गथ्र्यो । अहिले सहरी करिडोर बनाएर त्यसको पूर्वाधार विकासमा लागेका छौं । विराटनगर, धरान, वीरगन्ज, पथलैया, हेटांैडा सहितका सहरी करिडोरका काम भइरहेका छन् । यसमा पूर्वाधारको मात्रै नभएर आर्थिक एवं सामाजिक ग्रामीण भेगका स्थानीयलाई सहरी क्षेत्रमा लिंक गराउने काम पनि हुँदैछ । विराटनगर, धरान, इटहरी समेटिएको एक, सिद्धार्थनगर बुटवल अर्को र लेखनाथ पोखरालाई मेगासिटीको रूपमा अगाडि बढाइरहेका छौं । यस क्षेत्रमा पूर्वाधार विकास गर्न र आर्थिक गतिविधिको केन्द्र बनाउन विभाग अघि सरेको छ ।

एक सहर एक पहिचान कार्यक्रमले के गर्छ ?

भक्तपुरलाई सांस्कृतिक, लुम्बिनीलाई धार्मिक, पोखरालाई पर्यटकीय, ईलामलाई चिया पर्यटन सहितको कार्यक्रम ल्याएका छौं । अर्को नयाँ सहर पनि अगाडि बढिरहेको छ । यस्ता नयाँ सहर मध्यपहाडीमा १०, हुलाकीमा १०, तराईमधेसमा ५, प्यूठानको भिङ्ग्री र सुर्खेतको भेरीगंगामा गरी २७ वटा नयाँ सहरको कार्यक्रम छ । लुम्बिनी, बारा, पालुङटार, डडेल्धुरा र वालिङ गरी पाँचवटा स्मार्ट सिटी बन्दैछन् । अहिले तीन वटाको मात्र काम हुँदैछ । चालू आवदेखि नयाँ कार्यक्रममा हिमाली सहरको काम हुनेछ । यो वर्ष खाद्य हरियाली सहरको काम पनि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.