दशगजामा तारबार लगाउँदै भारत, नेपाली भू–भाग डुबान हुने खतरा

दशगजामा तारबार लगाउँदै भारत, नेपाली भू–भाग डुबान हुने खतरा

महेन्द्रनगर : भारतीय वन विभागले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार नजिकै दशगजाबाट केही पर आफ्नो जङ्गल क्षेत्रमा ट्रेन्ज(खाल्डो) खनेर तारबार लगाउने काम सुरु गरेको छ। नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१ देखि करिब २ किलोमिटरको क्षेत्रफलसम्म तारबार लगाउन थालेको हो। 

चारवर्षअघि भारतको वन विभागले दुधुवा नेशनल पार्क संरक्षण गर्ने भन्दै कञ्चनपुरको पुनर्वासस्थित दशगजा नजिकै आफ्नै भूमिमा ट्रेन्ज खनेर तारबार लगाउने काम गरेको थियो। उक्त कामको नेपाली पक्षबाट चर्को विरोध भयो। विरोध भएपछि भारतले उक्त काम रोक्यो। तर अहिले सोही काम पुनः भारतीय पक्षले पुनर्वासको डोकेबजार क्षेत्र नजिकै सुरु गरेको छ।

‘२-३ दिन भयो भारतीय वन विभागले दशगजा नजिकै क्षेत्रमा डोजर चलाएर ट्रेन्ज खन्ने काम सुरु गरेको छ’ पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्यालले भने, ‘डोकेबजारदेखि ट्रेन्ज खनेर तारबार लगाउने काम थालिएको छ।’ उनले नेपाली पक्षसँग कुनै समन्वय नै नगरी भारतीय पक्षले नेपाली वस्तिलाई असर पर्ने हिसाबले ट्रेन्ज खन्ने काम गरेको बताए।

‘विगत केहि वर्षअघि समेत भारतले यहाँ ट्रेन्ज खन्ने काम सुुरु गरेको थियो’ उनले भने, ‘नेपाली पक्षको विरोधपछि काम रोकेको हो, तर अहिले फेरि दादागिरी शैलीमा काम थालेको छ।’ भारतीय वन विभागले गर्न थालेको कामले नेपाली भूमि वर्षातमा डुबानमा पर्ने खतरा रहेको उनले बताए। 

‘वर्षातमा पानीको बहाव बढेर आउँछ, निकासको बाटो भएन भने वस्ति डुबानमा पर्ने छ’ अर्यालले भने, ‘भारतीय पक्षले गर्न थालेको कामका बारेमा प्रदेश सभा सदस्यदेखि सीडीओ र मेयरसम्मलाई जानकारी गराइएको छ।’ 

भारतले आफ्नै भूमिमा भनेर दाबी गरे पनि नेपाल भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादा विपरित उक्त कार्य गरिरहेको जानकारहरु बताउँछन्। ‘भारतीय वन विभागले आफ्नो जंगल क्षेत्र संरक्षण गर्ने भन्दै ट्रेन्ज खनिरहेको भनेको छ’ सशस्त्र सीमा सुरक्षा बल ३५ नम्बर गण अन्र्तगत बिओपीका ईन्चार्ज माधवप्रसाद जोशीले भने, ‘हाम्रो टोलीले स्थलगत गएर बुझेको हो, उनीहरुले आफ्नो नेशनल पार्कका जनावर भाग्नबाट जोगाउन र काठ तस्करी रोक्न ट्रेन्ज खनेको बताइरहेका छन्।’

ट्रेन्ज खनेर तारबार लगाउने वहानामा अग्लो डिल निर्माण गर्ने र त्यसले वर्षातका समयमा भारततर्फ निकास हुने पानी रोकिन गई नेपाली वस्ति डुब्ने खतरा रहेको स्थानीय बताउँछन्। 

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भारतीय वन विभागले ट्रेन्ज खनेर तारबार लगाइरहेको भन्ने जानकारी आएको बताए। ‘त्यहाँको वन विभागले दुधुवा नेशनल पार्कलाई संरक्षण गर्ने भन्दै तारबार लगाउन लागेको भन्ने छ’ उनले भने, ‘यसका विषयमा बुझ्ने काम भइरहेको छ, हामी स्थलगत रुपमा गएर भए पनि यसका बारेमा अध्ययन गरेर केन्द्रमा जानकारी गराउँछौं।’

भारतीय पक्षसँग समेत आवश्यक समन्वय गरेर त्यसले नेपालतर्फ असर पु¥याउने देखिए रोक्न पहल गरिने प्रशासनले जनाएको छ। नेपाली पक्षले आफ्नै भूमिमा विकास निर्माणका काम गर्न खोजे भारतीय पक्षले अवरोध गर्दै आइरहेको छ। 

केही महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रले गड्डाचौकी नजिकै आफ्नै भू–भागमा नयाँ सडक खोल्न खोज्दा दशगजा नजिकै निर्माण गर्न थालेको भन्दै भारतीय पक्षले अवरोध गरेको थियो।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.