सातवटै प्रदेश सरकारको वित्तीय अवस्था कमजोर

सातवटै प्रदेश सरकारको वित्तीय अवस्था कमजोर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सातवटै प्रदेश सरकारको वित्तीय अवस्था कमजोर देखिएको छ । संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन, संघबाट हस्तान्तरण हुनुपर्ने अनुदान र संघीय प्रणालीमाथि दुविधाका कारण प्रदेश सरकारको वित्तीय प्रणाली कमजोर देखिएको हो ।

चालु आव पुससम्मको प्रगतिअनुसार सातवटै प्रदेशको कुल राजस्व २६ अर्ब ९० करोड छ । राजस्व संकलनमा प्रदेश ३ अगाडि देखिएको छ । यद्यपि, राजस्व संकलन सन्तोषजनक नभएको सम्बन्धित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकारी स्वीकार्छन् ।

प्रदेश ३ को प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यहाँ नौ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । संविधानले व्यवस्था गरेको राजस्वको अधिकार क्षेत्रभित्रको सवारी कर र घरजग्गा दर्तासम्बन्धी राजस्व प्रदेशले उठाउन नसकेको आर्थिक मामिला मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीले जानकारी दिए ।

बिगतमा यातायात कार्यालय संघकै मातहत सञ्चालनमा आएकाले प्रदेशअन्तर्गत सञ्चालनमा आउन नसकेको उनले बताए ।

‘अहिलेसम्म यातायात कार्यालयबाट संकलन हुने सवारी कर प्रदेशको खातामा आउन सकेको छैन’, उनले भने । यस्तै घरजग्गा सम्बन्धी करसमेत कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रदेशको खातामा हस्तान्तरण नभएको उनको जिकिर छ ।

राजस्व बाँडफाँटमा देखिएको अन्योलले राजस्वको मासिक लक्ष्यसमेत तय गर्न नसकिएको सचिव भण्डारीले बताए । प्रादेशिक अर्थतन्त्रलाई मूलरूपले फरकपार्ने तत्व प्रदेशलाई दिइने खर्चको अधिकार, कर संकलन अधिकार र केन्द्रबाट आउने अनुदान व्यवस्थापन अधिकार (वा सर्तहरू) हुन् ।

 

७ प्रदेशको खर्च ५.८८ प्रतिशत

चालु आवमा संघीय ढाँचामा तीनै तहले आआफ्ना बजेट ल्याएका छन् । तर बजेट कार्यान्वयनमा निकै कमजोर देखिएको छ । ६ महिनामा सातवटै प्रदेशको कुल खर्च ५.८८ प्रतिशत छ । कर्मचारी व्यवस्थापन र पूर्णरूपमा संरचना निर्माण नहुँदा प्रदेशको खर्च कमजोर बनेको हो । पुँजीगत त झनै न्यून देखिएको छ । कुरा पैसाको मात्र नभई पैसा खर्च गर्ने कसरी र कुन निकायमार्फत भन्ने पनि स्पष्ट हुन नसकेको प्रदेश लेखा नियन्त्रकका अधिकारीहरू बताउँछन् ।

केन्द्रमा जस्तो व्यवस्थित वित्तीय प्रणालीको विकास नहुँदा खर्च र राजस्व संकलनमा दुविधा उत्पन्न भएको प्रदेश १ का प्रदेश लेखा नियन्त्रक बालकृष्ण थापाले बताए । उनले भने, ‘यो वर्ष पहिलो बजेट भएकाले कार्यान्वयन चुनौतीपूर्ण छ । संविधानले दिएको अधिकार प्रत्याभूत हुन नसक्दा पनि बजेटमा अपेक्षा गरिएको खर्च र राजस्व संकलनको अनुमानमा मेल खान नसकेको हुनुपर्छ । आगामी दिनमा सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’

तत्कालको चुनौती काम गराउने कर्मचारीको अपर्याप्तता रहेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना सचिव भण्डारीको भनाइ छ । उनले भने, ‘प्रदेश सरकारमा सबै कर्मचारी पुगेका छैनन् । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दीअनुसार थोरै कर्मचारी मात्र छन् । यही छ चुनौती ।’

संघीय संरचना गठन भएपछि पहिलोपटक बजेट आएकाले यस्ता चुनौती देखापरे पनि ती बिस्तारै हल हुने आशा कतिपय जानकारको छ । चुनौती अनेक भए पनि सबै प्रदेशले यसपटक त्यहाँका जनताको आकांक्षा सम्बोधन गर्ने हिसाबबाट बजेटमा प्राथमिकता तोक्ने काम गरिरहेको बताएका छन् ।

सडक, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत पूर्वाधार निर्माणसँग सम्बन्धित निकायका एकाइ अझै प्रदेशमा आउन नसकेको भण्डारीले बताए । सबैभन्दा धेरै बजेट सडकमा छ । तर, अहिलेसम्म डिभिजन कार्यालय आएको छैन, सडक कार्यालय हस्तान्तरण भएका छैननन् । उनले भने, ‘स्वास्थ्य, शिक्षा, पर्यटनका एकाइ पनि छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.