भोलि शान्तिपूर्ण तवरले विधेयक पारित हुन्छ : सभामुख महरा
काठमाडौं : सभामुख कृष्णाबहादुर महराले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा विधेयक शान्तिपूर्ण तवरले पारित गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै महराले यस्तो बताएका हुन्। ‘अघिल्लो बैठकमा जे जस्ता समस्या देखिए पनि अब शान्तिपूर्णा तवरले विधेयक पारित गर्ने गरी छलफल भइरहेको छ’, सभामुख महराले भने, ‘प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमा प्रक्रियागत हिसाबले भाग लिइसकेको छ। सदनको प्रकियामा पनि भाग लिएर पारित गर्न सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’
महराले कांग्रेसले सदनमा उठाएको विषय र विधेयक फरक भएकाले यसमा विवाद गर्नु आवश्यक नरहेको बताए। कांग्रेसले राखेको अस्पतालको नामको किचलो र विधेयक फरक विषय भएको उनको भनाइ छ।
‘नेताका नामका अस्पतालको विवाद र चिकित्सा शिक्षा विधेयक फरक विषय हुन्’, सभामुख महराले भने, ‘अलगअलग विषयलाई एक्कै ठाउँमा जोडेर हेर्नु ठिक छैन ।’
मंगलबारको बैठकमा कांग्रेस सांसदले अमर्यादित भाषा बोल्दासमेत सभामुखले सचेत नगराएको भन्दै सत्तापक्षीय सांसदले नै आपत्ति जनाइरहेका बेला महराले भने आफूले त्यस्तो भाषा बोलेको नसुनेको बताए।
‘सदनमा सबै मान्यज्यूले मर्यादा राख्नुहुन्छ। मैले कसैले पनि अमर्यादीत भाषा बोलेको सुनेको छैन’, महराले भने।
कांग्रेस सांसदले बुधबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टमा जान रोक लगाएका थिए। शिक्षामन्त्रीलाई रोक्ने क्रममा सत्तापक्ष र प्रतिपक्ष सांसदबीच घम्साघम्सी भएको थियो।
सांसद बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।