बुवाआमाको मृत्युपछि तीन बालकको बिचल्ली

बुवाआमाको मृत्युपछि तीन बालकको बिचल्ली

सुनवर्षी : मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोकाइबाट मृत्यु भएको स्थानीयको भनाइ छ ।

२०७० साल चैत ३० गते सेतो लामखुट्टेको टोकाईबाट फगुलालको मृत्यु भयो । सेतो लामखुट्टेले टोकेको थाहा भए पनि आर्थिक अभावले उपचार गराउन नसक्दा उनको मृत्यु भएको छिमेकी गणेशप्रसाद राजवंशीले बताए । कान्छो छोरो रोशन फगुलालको मृत्यु हुँदा गर्भमै थिए । १५ वर्षको उमेरमा दुई भाईको अभिभावक बन्नु परेपछि दीपकको पढाई बीचमै छुटेको हो ।

बुवाको मृत्युपछि दीपक आमासंग काममा जान्थे । काम गर्दै पढ्दै गरेका उनले भाई हुर्काउन आमालाई सहयोग गर्दै आएका थिए । आमाको पनि साउन २५ गते सेतो लामखुट्टेकै टोकाइबाट मृत्यु भएपछि टुहुरोमात्रै भएनन् दुई भाईलाई हुर्काउने र परिवार चलाउने दायित्व पनि उनकै काँधमा आइपरेको हो । ‘बावुको मृत्यु भएपछि आमालाई सहयोग गर्दै आएका दीपकको जसोतसो दैनिकी चल्दै थियो’, छिमेकी गणेशप्रसादले भने, ‘आमाको पनि मृत्यु भएपछि उनलाई ठूलै समस्या आइपरेको छ ।’

पतिको मृत्युपछि गाउँ घरमा काम गरेर तीन सन्तानको लालनपाल गर्दै आएकी सन्तोषीलाई सेतो लामखुट्टेले टोकेकाले अस्पताल ल्याउन पनि नपाई मृत्यु भएको हो । गाउँलेले चन्दा उठाएर उनको काजकिरिया गरिएको थियो । आफूले पढ्न नपाए पनि भाईहरुलाई पढाउने उनको इच्छा छ । फगुलाल र सन्तोषीको मृत्युपछि फूपु सरसादेवी राजवंशी तथा मावलकी ७० वर्षीय हजुरआमा कृष्णवति मिलेर दीपक र उनका भाईहरुको हेरचाह गर्दै आएका थिए । पुसमा फूपु पनि वितेपछि तीन जनाको झनै विचल्ली भएको छ । ‘बुवाआमाको मृत्युपछि हेरचाह गर्दै आएकी फूपुको पनि केही दिनअघि मृत्यु भएपछि तीनैजनाको कन्तविजोग भएको छ’, छिमेकी गणेशप्रसादले भने । उनका अनुसार फूपुको यसैसाता काजकिरिया सकिएको हो ।

७० वर्षीय हजुरआमाले तीनजना नाबालक नाती हुर्काउन सक्ने स्थिती छैन । ‘आमाको मृत्युपछि फूपुले बनिबुतो गरेर ल्याउने र हजुरआमाले रेखदेख गर्ने गर्थिन’, छिमेकी गणेशले भने, ‘फूपु बितेपछि र हजुरआमाले नसकेपछि उनीहरुलाई विहान बेलुका हातमुख जोर्न पनि समस्या भएको छ ।’ दिनभर सामान्य काम गरेर कमाएको थोरै पैसाले दीपकले आफू, हजुरआमा र भाईहरुलाई खानेकुराको जोहो गर्छन् । दीपकले राजमिस्त्रीकोमा काम गर्न जाने गरेको सुनाए । ‘भाईहरु भोक लाग्यो भन्दै रुन्छन्’, दीपकले भने, ‘बुवाआमा र फूपु वितेपछि पेटभरी खानेकुरा खुवाउन पनि सकेको छैन ।’ दीपक काममा जाँदा भाईहरुलाई केही होला कि भन्ने चिन्ता पनि त्यतिकै हुन्छ ।

हजुरआमा कृष्णवतिले भक्कानिँदै पीडा सुनाइन् । ‘साना नातीहरु आमा खोज्दै रातदिन रुन्छन् । हरेक रात आमाको खोजी गर्दा मन चसक्क हुन्छ’, उनले भनिन्, ‘जसोतसो फकाउँदै सुताउनु पर्छ ।’ नातीहरुले राति निद्रामा समेत आमा खै भन्दै रुने गरेको उनले सुनाइन् । उनीहरुको नाममा जग्गा जमिन पनि छैन । ‘फूपुको थोरै जग्गामा फगुलाल बनाएको सानो झुप्रो छ । त्यही झुप्रोमा फुपुले रेखदेख गर्दै आएकी थिइन् । फूपु पनि वितेपछि नातीहरुले पेटभरी खान पाएका छैनन्’, वृद्धा हजुरआमाले दुखेसो पोखिन् ।

छिमेकी गणेशका अनुसार उनीहरुलाई स्थानीय बासिन्दाले खाने कुरा दिएर सहयोग गरिरहेका छन् । ‘माघको चिसोमा अन्न, ओढ्ने ओछ्याउने केही छैन’, गणेशले भने, ‘आङ्भरी लगाउने कपडा नहुँदा चिसोले सिउसिउ गर्दै काप्छन् । यस्तो कन्तविजोग त कसैको देखेको थिइनँ ।’ लामखुट्टेले टोकेर आमा सन्तोषी बिरामी भएपछि उपचार गर्दा दीपकले गणेशसँगै २० हजार रुपैयाँ ऋण लिएका थिए । उपचार गर्न नपाउँदै आमाको मृत्यु भएपछि त्यो पैसा अन्य काममा खर्च भयो । उनलाई ऋणको बोझ पनि थपिएको छ । ‘भाइको शरीरमा घाउ खटिराले ढाकेको छ । उपचार गर्न पाएको छैन’, दीपकले भने ।

बुवाआमा गुमाए पनि आडभरोसा दिंदै आएकी फूपुको समेत निधनले भएपछि आफूहरुलाई झन् समस्या भएको उनको दुखेसो छ । आमाको मृत्युपछि राजीव र रोशनले समेत स्कुल जान छाडेका छन् । ‘भाईहरुलाई कम्तिमा १० कक्षासम्म पढाउने रहर छ’, दीपकले भने, ‘विहान बेलुका खानै नभएको अवस्थामा कसरी स्कुल पठाउनु ? ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.