टोट्टनहामलाई हराउँदै चेल्सी फाइनलमा, म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त
लन्डन : बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई हराउँदै चेल्सीसँग इङ्लिस लिग कप फुटबलको फाइनलमा पुगेको छ। चेल्सीले शुक्रबार बिहान घरेलु मैदानमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा टोट्टनहामलाई २-१ गोलले हरायो। उक्त खेलपछि दुबै टोलीको कूल गोलभिन्नता २-२ भएको थियो।
यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा टोट्टनहाम १-० गोलले विजयी भएको थियो। दुबै टोलीको कूल गोलभिन्नता समान भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भने चेल्सीले टोट्टनहामलाई ४-२ गोलले हराउँदै म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गर्यो।
स्टामफोर्ड ब्रिजमा खेलिएको दोस्रो लेग खेलको २७ औं मिनेटमा एनगोलो कान्टेले चेल्सीका लागि पहिलो गोल गरे। ३८ औं मिनेटमा इडेन हाजार्डले अर्को गोल थपेपछि पहिलो हाफमै चेल्सी २-० ले अगाडि बढेको थियो। ५० औं मिनेटमा टोट्टनहामका लागि फर्नान्डो लोरेन्टले एक गोल फर्काएका थिए।
पहिलो पेनाल्टी प्रहार गर्न आएका टोट्टनहामका क्रिस्टियन इरिक्सन गोल गर्न सफल भए। त्यसलगत्तै आएका चेल्सीका विलियनले पनि गोल गरे। दोस्रो प्रहारका लागि आएका टोट्टनहामका एरिक लामेलाले पनि गोल गरे। त्यसपछि चेल्सीका सेसर एजपिलिक्वेटाले पनि आफ्नो प्रहारलाई गोलमा परिणत गरे।
तेस्रो र चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका टोट्टनहामका दुई अनुभवी खेलाडी क्रमशः एरिक डियर र लुकास मोउरा भने गोल गर्न असफल भए। चेल्सीका जर्जिन्हो र डेभिड लुइजले भने लगातार आफ्नो प्रहारलाई गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। काराबाओ कपको नाममा चर्चित लिग कपको फाइनल खेल आगामी फेब्रुअरी २४ तारिखमा वेम्बली रंगशालामा खेलिने छ।
टोट्टनहाम आफ्ना तीन प्रभावशाली खेलाडी ह्यारी केन, डेल अली र सन ह्युङ मिन बिना नै मैदानमा ओर्लिएको थियो। माउरिजियो सारी चेल्सीलाई लिग कपको फाइनलमा पुर्याउने छैटौं प्रशिक्षक बनेका छन्। उनी आफूले जिम्मेबारी सम्हालेको पहिलो सिजन नै चेल्सीलाई लिग कपको फाइनलमा पुर्याउने चौथो प्रशिक्षक पनि हुन्।
चेल्सी काराबाओ कपको फाइनलमा पुगेको यो आठौं पटक हो। चेल्सीले यसअघि पाँच पटक उपाधि चुमेको छ भने दुई पटक फाइनलमा पराजित भएको छ। टोट्टनहाम भने सेमिफाइनलको पहिलो लेग खेल जितेर पनि फाइनलमा पुग्न नसकेको यो तेस्रो पटक हो। टोट्टनहाले हालसम्म चार पटक लिग कपको उपाधि जितेको छ भने चार पटक फाइनलमा पराजित भएको छ।