नारायण गोपालको नयाँ धुन भेटियो

नारायण गोपालको नयाँ धुन भेटियो

काठमाडौं : ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ। धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ ।

त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

नारायणगोपालका गीत-संगीत र उनका अप्रकाशित साम्रगीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् । लामाका अनुसार भक्तपुरका एकजना साथीले गुनगुनसहितको संगीत रेकर्ड गरिएको क्यासेट उनलाई दिएका थिए । लामाले नै त्यसलाई एमपीथ्रीमा कन्भर्ट गरेर नयाँ गीत बनाउने योजना बनाएका हुन् ।

नेपाल कला संस्कृति विकास केन्द्रका अध्यक्षसमेत रहेका लामाले उक्त धुन नारायणगोपालको जीवनको पछिल्लो सिर्जना हुन सक्ने अनुमान गरेका छन् । नारायणगोपाल संगीत कोषले गीत रेकर्ड गराउन अनुमति दिएको छ ।

 भेटिएको नारायण गोपालको नयाँ धुन 

लामा स्वरसम्राटका छिमेकी थिए । ‘हामी नारायणगोपालको घरछेउमा भलिबल, फुटबल खेल्थ्यौँ, उहाँलाई जिस्क्याउँथ्यौं,’ उनी भन्छन्, ‘उहाँले गीत गाएको, हार्मोनियम र पियानो बजाएको लुकीलुकी हेथ्र्यांै ।’ लामाले यी प्रख्यात गायकका थुप्रै नेवारी धुन पनि संग्रह गरेका छन् ।

मेरो भूगोल त्यति नै हो, जहाँ तिमी अटाउँछौ

मेरो जीवन त्यति नै हो, जति तिमी कटाउँछौ

तिम्रै आँखाभित्र मैले, मेरो संसार देखेको छु

जिन्दगीका झरी बादल, तिम्रै भरमा छेकेको छु

मेरो मनको पूर्णिमा हौ, सधैं जून पठाउँछौ

मेरो जीवन त्यत्ति नै हो, जति तिमी कटाउँछौ

भेटिएको संगीतलाई सुहाउँदो शब्द खोजिरहेका थिए लामा । उनले पत्रिकामा देवकोटाको यो गीत पढ्ने मौका पाए । त्यसपछि गीतकारलाई बोलाएर धुन सुनाए । संगीतको मिटरअनुसार शब्द मिलाउन लगाए । देवकोटाका शब्द धुनसँग मिल्न पुग्यो ।

‘धुन सुनेरै थाहा हुन्छ रोमान्टिक गीत हो कि सेन्टिमेन्टल,’ देवकोटा भन्छन्, ‘नारायणगोपालको चिनारी नै वियोगान्त गीत हो । तर यो संगीत रोमान्टिक थियो ।’ धुन सुनिसकेपछि उनले गीतको अन्तरा लेखे ।

न्यानो लाग्छ तिम्रो माया, पहारिलो घामसरि

फुल्छौ मेरो मुटुमाझ, लाग्छौ मनको सुनाखरी

मेरो सत्य त्यही नै हो, जे जे तिमी बताउँछौ

मेरो जीवन त्यति नै हो, जति तिमी कटाउँछौ

नारायणगोपालको संगीतमा आफ्ना शब्द रेकर्ड गर्ने अवसर पाएकोमा गौरव लागेको उनले बताए । उनी भन्छन्, ‘उहाँको संगीतलाई फिट हुने गीत लेख्न अत्यन्तै गाह्रो थियो । संयोगवश मैले पहिल्यै लेखेको गीतले यो अवसर पायो ।’

नेपाली संगीतका शिखर व्यक्तित्वको धुनमा गाउन पाउँदा अत्यन्तै खुसी लागेको गायक रामकृष्ण ढकालले बताए । नारायणगोपालका गीत गाएर आफू सांगीतिक संसारमा आएको सम्झिँदै उनले यो गीत संगीतप्रेमीका लागि ठूलो उपहार भएको बताए ।

पहिलो पटक यो धुन सुन्दा आफू निशब्द बनेको सम्झिन्छन्, एरेन्जर प्रदीप श्रेष्ठ । ‘रियाजमा स्वरको मुस्लो निस्किरहेका थियो’, उनी भन्छन्, ‘संगीत अत्यन्त मीठो थियो । संगीतमा खेक्टा बिटलाई नयाँ मेलोडीमा मिसाउन खप्पिस थिए नारायणगोपाल । उनको संगीतको साधनामा बेग्लै जादु थियो ।’

नारायणगोपालको संगीतलाई न्याय दिन सके त उनले ? श्रेष्ठ भन्छन्, ‘उहाँको गीतमा कस्तो कट्स हुन्छ, कस्तो काउन्टर र मेलोडी मिसिएको हुन्छ, सामान्य जानकारी मलाई थियो । पुरानो फ्लेवरलाई नयाँमा मिक्स गरेर एरेन्ज तयार गर्नु चुनौती थियो । त्यही लय अरूले गाउँदा फितलो सुनिन्छ, नारायणगोपालले गाउँदा भयानक सुनिन्छ ।’

गीत केही समयपछि बजारमा आउने तयारीमा रहेको गीतकार देवकोटाले जानकारी दिए । ‘गीत रेकर्ड भइसकेको छ, मिक्सिङ चलिरहेको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.