रियलको जितमा रामोसको दुई गोल
म्याड्रिड : कोपा डेल रे फुटबलको शुक्रबार विहान भएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा रियल म्याड्रिडले गिरोनालाई ४—२ गोलले हराएको छ । जितसँगै रियलले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सम्भावना पनि बलियो बनाएको छ ।
घरेलु मैदानमा खेलिएको खेलमा रियलका लागि प्रभावशाली खेलाडी सर्जियो रामोसले दुई गोलको योगदान गरे । खेलको प्रारम्भमै गोल गरेर पनि गिरोनाले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको सातौं मिनेटमै गिरोनाका लागि एन्थोनी लोजानोले पहिलो गोल गरेका थिए ।
खेलको १८औं मिनेटमा रियलका लुकास भासक्वेजले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २—१ को अग्रता दिलाए । उनले जारी सिजनमा पेनाल्टी प्रहारबाट सातौं गोल गरेका हुन् ।
यसैगरी खेलको ६६औं मिनेटमा गिरोनाका एलेक्स ग्रानेलले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गरेपछि खेल २—२ को बराबरीमा पुगेको थियो । त्यसपछि चार मिनेटको बीचमा लगातार दुई गोल थप्दै रियलले नतिजालाई आफ्ना पक्षमा पारेको थियो ।
रियलका लागि ७७औं मिनेटमा रामोसले तेस्रो गोल गरे । खेलमा रामोसले गरेको यो ब्यक्तिगत दोस्रो गोल थियो । ८०औं मिनेटमा अर्का अनुभवी खेलाडी करिम बेन्जेमाले गोल गर्दै रियललाई सहज जित दिलाए ।
रियलले सन् २०१३÷१४ सिजनपछि कोपा डेल रेको उपाधि जित्न सकेको छैन । त्यसयता लगातार रुपमा रियलको चिर प्रतिद्वन्द्वी बार्सिलोनाले उपाधि जित्दै आएको छ । बार्सिलोना भने क्वार्टरफाइनलको पहिलो खेल खेलमा बिहीबार सेभिलसँग २—० गोलले पराजित भएको थियो ।
बार्सिलोनाले हालसम्म कीर्तिमानी रुपमा ३० पटक कोपा डेल रेको उपाधि जितेको छ । सर्वाधिक उपाधि जित्ने सूचीमा एथलेटिक बिल्बाओ (२३ पटक) दोस्रो र रियल म्याड्रिड (१९ पटक) तेस्रो स्थानमा आसिन छन् ।
शुक्रबार विहान खेलिएको अर्को खेलमा रियल बेटिसले स्पान्योललाई उसैको मैदानमा १—१ गोलको बराबरीमा रोक्यो । क्वार्टरफाइनलको दोस्रो लेग खेल अब रियल बेटिसको घरेलु मैदानमा खेलिने छ ।