आज यूएईको सामना गर्दै नेपाल
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत शुक्रबार पहिलो खेल खेल्दै छ । आफ्नो अन्तर्राष्ट्रिय यात्राको २३ वर्षे इतिहासमा केवल दोस्रो एकदिवसीय शृंखला खेल्ने तयारीमा जुटेको नेपालका लागि यो खेलले धेरै महत्व बोकेको छ । यही खेल र शृंखलामार्फत नेपाली क्रिकेटले आफ्नो इतिहासमा अरू नयाँ कीर्तिमान जोड्न सक्छ ।
गत मार्चमा जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो एकदिवसीय शृंखला खेलेको थियो । गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा टुङ्गिएको थियो । त्यसैले यूएईविरुद्धको खेल नेपालका लागि पहिलो एकदिवसीय शृंखला जित्ने अवसर पनि हो । यद्यपि त्यसका लागि नेपाली टोलीले मैदानमा धेरै मेहनत गर्नुपर्ने निश्चित छ । आफ्नै मैदानमा खेल्न लागेको यूएई नेपालका लागि परम्परागत र बलियो प्रतिद्वन्द्वी हो । यूएईले नेपाललाई सधैं दबाबमा राख्ने गरेको छ ।
यूएईविरुद्ध नेपालले खेलेको पछिल्लो एकदिवसीय खेलमा समेत नेपाल पराजित भएको छ । गत अगस्टमा मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा यूएईले नेपाललाई ७८ रनले हराएको थियो । उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि एकदिवसीय खेलको मान्यता दिएको थियो । त्यही नतिजालाई आधार मान्दा पनि नेपालका लागि यो शृंखला सहज हुनेछैन ।
यूएई आफ्ना नियमित कप्तान रोहन मुस्तफा र अन्य दुई अनुभवी खेलाडीबिना नै नेपालविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल पनि बिरामी परेका आफ्ना अनुभवी ब्याट्सम्यान शरद भेषावकरबिना नै दुबई पुगेको छ । मुस्तफाको अनुपस्थितिमा टोलीको कप्तानी गरिरहेका तीव्र गतिका बलर मोहम्मद नाभिदले पछिल्लो समय लगातार नेपालको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) र एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेलेकाले उनले नेपालविरुद्ध बलियो रणनीति बनाउन सक्ने सम्भावना छ । त्यसका बीच पछिल्लो समय घरेलु प्रतियोगितामा सशक्त प्रदर्शन गरेका क्षमतावान् युवा खेलाडी र अनुभवी खेलाडीको सम्मि श्रणसहित दुबई पुगेको नेपाली टोलीले शुक्रबार यूएईविरुद्धको पहिलो खेलमा सुखद सुरुआत गर्ने अपेक्षा गरिएको छ ।०००