तन्नेरी पुस्ताको हुटहुटी
बुटवलको एक विश्वविद्यालय क्याम्पसमा स्नातक तह अध्ययनरत एक छात्राले देशको शैक्षिक अवस्थाबारे यसरी चित्रण गरिन्– नेपालमा प्राप्त गरिने शिक्षाले गरिखाने सीप दिँदैन। पढ्नु भनेको केवल शैक्षिक प्रमाणपत्र जुटाउनु हो।
हामी अनेकन ढंगले त्यही कागजी खोस्टो संकलन गरिरहेका छौं। विश्वविद्यालय शिक्षाले सिकाउँदैन बरु अलमल्याउँछ। त्यसैले शैक्षिक प्रमाणपत्र बाकसमा थन्क्याएर रोजगारका लागि बिदेसिन बाध्य हुनुपरेको छ।
यो एक प्रतिनिधि दृष्टान्त हो। अहिले शिक्षा आर्जन गर्न विश्वविद्यालय धाउने आम युवा पुस्ताको धारणा यस्तै छ। जोकोही यो व्यवस्था र शैक्षिक अवस्थाप्रति सन्तुष्ट छैनन्। आफ्नो भविष्य अजमाउने सीप, क्षमता र कौशल विश्वविद्यालय शिक्षाले दिँदैन। त्यसैले हाम्रा शिक्षालयहरू फगत शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता देखिएका छन्। जहाँ प्रत्येक वर्ष शिक्षित जनशक्ति त उत्पादन हुन्छ, तर बिकाउको जनशक्ति उत्पादन हुँदैन। सीप, दक्षता र क्षमता पर्गेल्ने जनशक्ति उत्पादन हुँदैन।
तन्नेरी पुस्ताको दुखेसो
तन्नेरी पुस्ताको दुखेसो छ– सीपमुखी र कामकाजी शिक्षा भए कम्तीमा बेरोजगार भएर बस्नुपर्ने थिएन। युवालाई रोजगार अनि बेरोजगार भत्ताको सपना देखाउने सरकारले कत्ति पनि रोजगार सिर्जना गर्न सकेको छैन। सरकारले प्रत्येक वर्ष नयाँ थपिने युवा शक्तिका लागि कुनै संगठित अवसर सिर्जना गर्न सकेको छैन। युवा शक्तिलाई देशमै खपत गर्ने वातावरण बनाउन नसक्दा युवाका अगाडि बिदेसिनुको विकल्प छैन। त्यसैले देशमै गरिखान सक्ने अवस्था सिर्जना गर्न शिक्षामा धेरै सुधार गर्नुपर्छ। खै सरकारले यतातिर ध्यान दिएको ?
केही समयअघि ‘अन्नपूर्ण सम्पूर्ण’ ले नेपालका तन्नेरी पुस्ताको मनोकांक्षाबारे सर्वेक्षण गर्यो। सर्वेक्षणको निष्कर्ष छ– नयाँ पुस्ताले चलनचल्तीको राजनीतिको वादविवाद बुझ्दैन। विकास र समृद्धिका सरकारी भाष्य बुझ्दैन र बुझ्न पनि खोज्दैन। सरकारले घोषणा गरेको समृद्धि के हो र कसरी आउँछ ? पत्तो छैन। अझ समृद्धि आउनेमा युवा पुस्ता विश्वस्त छैन। सरकारी समृद्धिका लक्ष्यदार भाषण युवापुस्तालाई फगत ‘चटके गफ’ लागेको छ। युवालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा निकै अट्टाहास लागेको छ। भ्रष्टीकृत राजनीति र भ्रष्टाचारमा डुबेको नेतृत्वबाट युवा पुस्ताले आशा मारिसकेको छ। त्यसैले राजनीतिप्रति नयाँ पुस्तामा रुचि पैदा हुन सकेको छैन। नयाँ पुस्ता सरकारप्रति विश्वस्त हुन सकेको छैन। स्वदेशमा आफ्नो भविष्य अजमाउने विश्वास पैदा भएको छैन। त्यसैले नयाँ पुस्ता बिदेसिएर आफ्नो भविष्य खोज्न विवश छ।
नयाँ पुस्ताले मुलुकको अर्थराजनीतिक अवस्थाप्रति बेवास्ता गर्ने हो भने त्यसले अर्को त्रासदी निम्त्याउने खतरा रहन्छ। पुनरुत्थानवादी राजनीतिको त्रासदी। अन्नपूर्णले गरेको सानो सर्वेक्षण मूलभूत रूपमा नयाँ पुस्ताको ओरियन्टेसनबारे प्रशस्तै सूचना दिने काम गरेको छ। त्यसकारण सरकार र सम्बन्धित सरोकारवालाले यसबारे गम्भीर भएर नीतिगत परिमार्जन आवश्यक छ। नयाँ पुस्तालाई देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाप्रति सही ओरियन्टेसन गर्न सकिएन भने हामी अर्को नयाँ राजनीतिक दुष्चक्रमा फस्ने खतरा रहन्छ।
विकासको विम्ब
गत वर्ष सम्पन्न निर्वाचनयता देशमा विकास र समृद्धिको खुब चर्चा छ। सरकारको प्रत्येक डकुमेन्ट, प्रधानमन्त्रीका प्रत्येक भाषण अनि मन्त्री र सांसदका हरेक बोलीमा समृद्धिकै अन्तरा आउँछ। तर के हो विकास ? के हो समृद्धि ? त्यो कसरी आउँछ ? अनि कसका लागि आउँछ ? अत्तोपत्तो छैन। प्रधानमन्त्रीले निर्माण गरेको समृद्धिको भाष्यमा पूर्वपश्चिम रेल, नेपाली झन्डावाला पानीजहाज, हावाबाट बिजुली, घरघरमा ग्याँसको पाइप, बिजुली गाडी, स्मार्ट सिटी इत्यादि परेका छन्।
निराश अनि विकल्पविहीन झैं देखिएको तन्नेरी पुस्तालाई आशावादी बनाउने नयाँ राजनीतिक संस्कारको अभ्यास अहिलेको टड्कारो आवश्यकता हो।
तर तिनको व्यावहारिक कार्यान्वयन कहिले र कसरी हुन्छ ? अनि आम गरिखाने नागरिकले त्यो समृद्धिको लाभांश कहिले र कसरी पाउँछन् ? यी विकास प्रक्रियाले नागरिकको दैनिकी कसरी बदल्छ ? अलमलमा परेका युवा पुस्तालाई कसरी विश्वस्त तुल्याउँछ ? आफ्नो भविष्य अजमाउन अमिलो मन बनाउँदै बिदेसिन विवश तनहरूलाई कसरी रोक्छ ? कसरी उनीहरूको जीवन सहज बनाउँछ ? गुणस्तरीय शिक्षा भन्दै जायजेथा बेचेर बिदेसिने सोच बोकेर अंग्रेजी भाषा सिक्न कन्सल्टेन्सी धाउने युवाको पाइला कसरी रोकिन्छ ? समृद्धिका सुन्दर भाष्य रचना गर्ने सरकार, देशमै जनशक्ति खपतको योजना किन बनाउँदैन ?
अपेक्षित दिशातर्फको परिवर्तन नै विकास हो। विकास एक गतिशील प्रक्रिया हो, जसले कुनै पनि एकाइको आर्थिक, भौतिक, वातावरणीय तथा सामाजिक अवयवहरू परिवर्तन गरिदिन्छ। यद्यपि हामीले विकासलाई केवल भौतिक उपलब्धिका रूपमै ग्रहण गर्यौं। हाम्रा लागि ठूलाठूला भौतिक सम्पदाको निर्माण र पूर्वाधारजन्य क्षेत्रहरूको विस्तार नै विकास भइदियो। गाउँगाउँमा बाटो पुग्नु, पुल बन्नु, हवाई अड्डा बन्नु, व्यापारिक मलहरू खुल्नु, सडक फराकिलो हुनु, सहरहरू बन्नु, बजार बढ्नु आदि नै हामीले बुझ्ने विकासका नमुना हुन्। तर यिनको प्रभावकारिता मापन हुन सकेन।
अहिलेसम्मको अवस्था हेर्दा विकास प्रक्रियाले समाजको एउटा निश्चित तप्कालाई मात्रै हित गर्यो। जोसँग मोटर कुदाउने हैसियत छ, उसैले फराकिलो सडकको भरपूर उपभोग गर्ने हो। जोसँग जहाज चढ्ने क्षमता छ, उसैले विमानस्थलको प्रयोग गर्छ। ती गाउँघरका गरिब गुरुवा न त कहिल्यै चिल्लो मोटरमा हुइँकिने सपना देख्छन्, न त बोइङ चढेर विदेश सयर गर्ने कल्पनैै। त्यसो भए तिनका लागि हाम्रो विकासले के दियो ? हो, अहिलेसम्मको तीतो यथार्थ भनेकै हाम्रो विकासले आम नागरिकलाई छुन सकेन। तिनको दैनिकी बदल्न सकेन। तिनको आर्थिक अवस्थामा सुधार ल्याउन सकेन। यो केवल समाजका भुइँफुट्टा वर्गकै हितको वरिपरि घुमिरह्यो। त्यसैले अब विकासले मात्र पुगेन, समृद्धि र प्रगति चाहियो।
समृद्धिका सर्तहरू
सरकारी समृद्धिको भाष्य हेर्दा लाग्छ– समृद्धि यस्तो आलंकारिक शब्द हो, जसले सबैको सपना पूरा गरिदेओस्। अहिले समृद्धिका नाममा अमूर्त र अलंकारिक विम्बहरू निर्माण गरेर यो शब्दलाई नै विकृत बनाइँदैछ। समृद्धिको कुरा गर्दा यसको अन्तरवस्तु र आम नागरिकको दैनिकीमा पार्ने प्रत्यक्ष प्रभावलाई मूल्यांकन गर्नु जरुरी छ। समृद्धिको पैरवी गर्दैगर्दा यसका अन्तरवस्तुहरू पहिल्याउन जरुरी छ।
समृद्धिका अन्तरवस्तु हुन्– पर्याप्त भौतिक पूर्वाधारको निर्माण, उत्पादन र उपभोगमा वृद्धि। राज्यको उत्पादनको न्यायोचित वितरण। राज्यको स्रोत साधनको संरक्षणको सुनिश्चितता र पर्यावरणीय सन्तुलन तथा दिगोपना। मानवीय खुसी एवं सन्तुष्टि। यी अन्तरवस्तुहरूसहितको समृद्धि हासिल गर्न आर्थिक पुनर्संरचना अपरिहार्य छ। हामीले अर्थतन्त्रको पुनर्संरचना गरी हाम्रा आवश्यकता र प्राथमिकताअनुसार आर्थिक नीति, नियम बनाएर प्रभावकारी उत्पादन र पुँजी निर्माण प्रक्रिया आरम्भ गर्नुपर्छ।
यसका लागि सबैभन्दा पहिले राजनीतिक, आर्थिक, प्रशासनिक एवं संस्थागत सुधार अपरिहार्य छ। अहिलेको भ्रष्टीकृत राजनीतिक पद्धति, उच्छृंखल आर्थिक प्रणाली, क्षमताहीन र कामचोर प्रशासनिक संयन्त्र अनि ‘माथि’ तिर फर्किएका संस्थागत सम्बन्धले देशलाई गति दिन सक्दैन। त्यसैले यिनको पुनर्संरचना पहिलो र अनिवार्य सर्त हो।
दोस्रो सर्त हो– नयाँ पुस्तालाई उत्पादनशील बनाउने र देशमै भविष्य अजमाउन सक्ने वातावरण निर्माण गर्ने। जबसम्म नयाँ पुस्तालाई यो मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक अवस्था र तिनको संरचनागत परिवर्तनको आवश्यकताबारे बोध गराउन सक्दैनौं, हामीले चाहेको जस्तो देश बन्नै सक्दैन। यसका लागि राजनीतिक शुद्धीकरण अभियानलाई तीव्रताका साथ अघि बढाउनु जरुरी हुन्छ।
तेस्रो सर्त हो– सुशासन र सदाचारयुक्त राजनीति। शासनको अर्थ हो राज्य सञ्चालन गर्नु। अर्थात् उत्तरदायी एवं नियमसंगत तरिकाले सञ्चालन गरिने कार्यविधि। लोकतन्त्रमा शासन गर्ने अधिकारको आर्जन र उपयोग जनसहभागितामै आधारित हुनुपर्छ। त्यसैले सुशासनका लागि शासन गर्ने तरिका जनअनुमोदित, उत्तरदायी र जवाफदेही हुनुपर्छ। अनि राज्यका सम्पूर्ण निर्णय प्रक्रिया पारदर्शी हुनुका साथै सहभागितामूलक पनि हुनुपर्छ। शासन प्रणालीमा आम नागरिकको सहभागिता र निगरानी जति प्रभावकारी हुन्छ त्यति नै बढी सुशासन कायम हुन्छ।
युवाको कार्यभार
माथि उल्लिखित राजनीतिक लक्ष्य हासिल गर्न सुशासन र समृद्धिमुखी राजनीति आवश्यक छ। यो नै अबको नयाँ राजनीतिक गन्तव्य पनि हो। अनि यो नयाँ राजनीतिक कार्यभार पनि। यो कार्यभार पूरा गर्ने जिम्मेवारी र दायित्व नयाँ पुस्ताको हो। यो नयाँ राजनीतिक कार्यभारलाई पूरा गर्ने साहस नयाँ पुस्तामै हुन्छ र हुनुपर्छ। त्यसकारण राजनीतिमा पनि अब युवा सहभागिताको प्रश्न हिजोको जस्तो प्रतिनिधित्वमूलक होइन निर्णायक हुनु आवश्यक छ।
यहाँनेर नयाँ पुस्ता र पुरानो पुस्ताबीच विरोधाभास बुझाइ छ। अघिल्लो पुस्तालाई युवा पुस्ता अल्लारे लाग्छ। अस्थिर लाग्छ। योजनाविहीन लाग्छ। अर्कोतिर प्रविधि उपयोग गर्ने सवालमा प्रौढको तुलनामा युवा मस्तिष्क निकै छिटो छ। त्यसैले युवाले पनि अघिल्लो पुस्तालाई आउटडेटेड सम्झन्छ। यी दुईविपरीत र विरोधाभाषी बुझाइका कारण नेपालको राजनीतिमा युवा र प्रौढबीच जहिल्यै सघन टकराव हुने गरेको छ। अब यो अन्तरविरोधको हल गर्दै प्रौढ पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जालाई मिलाएर समृद्धिको खाका कोर्नुपर्ने बेला भएको छ। पुरानो पुस्ताले जे गर्नुपर्ने हो त्यो गरिसक्यो। अब पालो नयाँकै हो र हुनुपर्छ। अब फेरि पनि पुरानै पुस्ताले नयाँ बदलिएको राजनीतिक गन्तव्यमा पुर्याउँछ भनेर आशा गर्नुचाहिँ बैलगाडाको अमेरिका यात्राजस्तै हो। अमेरिका जान जहाजै चढ्नुपर्छ।
त्यसकारण बदलिएको राजनीतिक गन्तव्य पहिल्याउन नयाँ पुस्ता अगाडि सर्नैपर्छ। निराश अनि विकल्पविहीन झैं देखिएको तन्नेरी पुस्तालाई आशावादी बनाउने नयाँ राजनीतिक संस्कारको अभ्यास अहिलेको टड्कारो आवश्यकता हो। युवाले समाज अनि देश देखेको छ। अब त्यो समाज र देश चिनाउनु छ। यहाँको समस्यासँग परिचित गराउनु छ। यसलाई बदल्ने हुटहुटी पैदा गराउनु छ। आफ्नै अग्रसरतामा देश र समाज बदल्ने हुटहुटी नै तन्नेरी सपना हो र हुनुपर्छ। यसका लागि राजनीतिको वैकल्पिक अभ्यास जरुरी छ।