तीन सय गीत गाएर सन्न्यास
घोराही उपमहानगरपालिका–४, लक्ष्मीपुर, दाङका डा. गोविन्द आचार्य (५६) लाई धेरैले गायकका रूपमा चिन्छन्। तर, जब उनले ‘राप्ती अञ्चलको लोकगीतको विश्लेषण’ शीर्षकमा त्रिविबाट विद्यावारिधि गरे, उनको गायनको रुचि अनुसन्धानमा फेरियो।
२०६१ सालमा गरिएको उक्त अनुसन्धान नेपालमा लोकगीतका क्षेत्रमा पहिलोपटक विद्यावारिधि थियो। प्रस्तुत छ, गीत र लोकसाहित्य अनुसन्धानबारे केन्द्रित रही हालै प्राज्ञ सदस्य भएका आचार्यसँग कृष्णराज सर्वहारीले गरेको कुराकानी :
तपाईंले हालसम्म कतिवटा गीत रेकर्ड गर्नुभयो ?
मेरा दुई दर्जनभन्दा बढी गीति क्यासेट/सीडी छन्। लोक, आधुनिक, राष्ट्रिय गीतदेखि फिल्मका गीतसम्म गरी तीन सयभन्दा बढी गीत रेकर्ड भएका छन्। पाँच दर्जनभन्दा बढी गीतमा संगीत भरेको छु। म्युजिक नेपालले २०५५ सालमा निकालेको भानुभक्तीय रामायण श्रव्य क्यासेटको सर्वाधिक गायक पनि हुँ। त्यस्तै छन्दमा राप्ती (२०३८), स्मृतिमा (२०५२), मेरा दुई गीतसंग्रह प्रकाशित छन्। अक्षरयात्रा (२०६५) मा पनि केही गीत समेटिएका छन्।
गीत गाउने, रचना गर्ने, संगीत भर्ने मान्छे अनुसन्धानमा कसरी तानिनुभयो ?
मेरा गीत सँगसँगै पे्रयसी (२०५१) र राप्ती (२०५६) खण्डकाव्य आमा (२०५९) कवितासंग्रह पनि प्रकाशित छन्। गीत मात्रै मेरो रुचिको विषय थिएन, होइन। भानुभक्तीय रामायण गायनको क्यासेट निकालेपछि यसैबारे विद्यावारिधि गर्ने हुटहुटी जाग्यो।
काठमाडौंको डेरामा सँगै बस्ने मित्र डा. भीमार्जुन आचार्यले तपाईं लोकगीत बढी गाउने मान्छे, रामायणभन्दा पनि लोकगीत विषयमै विद्यावारिधि गर्नुस् भनेर सल्लाह दिए। यसरी विद्यावारिधिको बहानाले अनुसन्धानमा लागियो।
तपाईंको विद्यावारिधि खासगरी केमा केन्द्रित छ ?
राप्ती क्षेत्रमा खासगरी थारू, मगर र अवधीभाषीको बसोबास छ। राप्ती अञ्चलका लोकगीतको विश्लेषण शीर्षकमा ती भाषीका लोकगीत र नेपाली लोकगीतको तुलना गरेको छु मैले। प्रायःले कामचलाउ थेसिस बनाउँछन् र लुकाउँछन्। तर, मेरो विद्यावारिधिकै विषयवस्तुमा आधारित रहेर लोकगीतको विश्लेषण (२०६२), राप्ती लोकसासहित्य (२०६३), अवधी लोकसंगीतको विश्लेषण (२०७०), थारू जातिको लोकगीत तथा लोकसंगीत (२०७१), मगर जातिको लोकगीत तथा लोकसंगीत (२०७४) पुस्तक पनि प्रकाशित छन्।
तपाईं अब अनुसन्धानमै केन्द्रित हुने कि गीतसंगीतमा पनि फर्किने ?
गाउन छाडेको १० वर्ष भयो। गाउने अझै रहर छ। तर, अब त मेरो स्वास्थ्यले पनि साथ दिँदैन। यसैबीच अस्ट्रेलिया बस्दै आएको मेरो छोरो समीर आचार्य पनि गायनमा आइसक्यो। उसले मेरा ६ वटा गीत रेकर्ड गरिसक्यो। उसको मेरो दुनियाँ बेग्लै छ बोलको गीत तीन महिनामै एक करोड १४ लाख भ्युअर्स पुगेको छ।
गायनमा अब उसले मेरो बिँडो थाम्छजस्तो लाग्छ। लोकवार्ता विधामा अझै पनि धेरै अुसन्धानको काम बाँझो भएकाले यसमै केन्द्रित छु, सन्तुष्ट छु।
हाल केमा व्यस्त हुनुहुन्छ ?
नेपालमा लोकसंगीतलाई पेसा बनाएका गन्धर्व, दमाई, चमार, वादी, किंगरियन, नट, थारू समुदायका ढकेहेरहरूको जीवनशैली अध्ययनमा लागेको छु। दाङ, बाँके, बर्दियामा केन्द्रित यो अध्ययनले उनीहरूको पेसा के गरी जोगाउन सकिन्छ भन्नेमा केन्द्रित रहनेछ।
त्यस्तै ६ महिना भो; म्युजिक नेपालको पहलमा छन्दका चर्चित कवितामा संगीत, स्वरको रेकर्डको काममा छु। भानुभक्त, मोतीराम, लेखनाथ, माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, प्रभा भट्टराई, गजाधर पौडेल लगायतको छन्द कविता रेकर्ड पनि भइसकेको छ। आगामी माघसम्म भानुभक्तको जन्मस्थान तनहुँको चुँदी, रम्घामा छन्द कविताको अडियो विमोचन गर्ने योजना छ। त्यसैगरी नेपालभरिका छन्द गायकहरूको पहिचान गरी छन्द गायन प्रतियोगिता गराउने तयारीमा छु।
तपाईंले हालसम्म काम गर्दा सबैभन्दा बढी समय दिएको काम के हो ?
डकुमेन्ट्री निर्माणमा पनि मेरो रुचि छ। संख्या (२०६३), दाङका पर्यटकीय सम्पदा (२०६७), गोरक्षरत्न नाथ वृत्तान्त (२०७०), पवित्र भूमि स्वर्गद्वारी आ श्रम (२०७०) लगायत वृत्तचित्रको लेखन, निर्देशन र संयोजन पनि गरेको छु। यसमध्ये स्वर्गद्वारीबारे डकुमेन्ट्रीमा मेरो दुई वर्ष समय खर्च भयो। २१ पटक स्वर्गद्वारी पुगेँ। पुस्तक लेखनभन्दा डकुमेन्ट्रीको काम गाह्रो लाग्यो। हालसम्म काम गर्दा सबैभन्दा बढी समय दिएको काम स्वर्गद्वारीबारे डकुमेन्ट्री निर्माण हो।
लोकवार्ताको आफ्नो अभियानमा पथप्रदर्शक कसलाई मान्नुहुन्छ ?
मेरो अभियानमा होस्टेमा हैंसे गर्ने म्युजिक नेपालका सन्तोष शर्मा हुनुुहुन्छ, जो गौशालामा म्युजिक स्कुलसमेत खोलेर नेपालको मौलिक संगीत जोगाउने, नवप्रतिभा उत्पादन गर्ने काममा लाग्नुभएको छ। म्युजिक नेपालको सहकार्यमा विभिन्न एल्बमदेखि हाल ‘लोकसंस्कृति’ खोजमूलक पत्रिका पनि सम्पादन गरिरहेको छु। मेरो पछिल्लो काम छन्द कविताको रेकर्ड पनि म्युजिक नेपालकै सहकार्य हो। त्यसैले मैले प्रस्ताव गरेका कार्यमा होस्टेमा हैंसे गर्ने सन्तोेष शर्मा मेरा पथप्रदर्शक हुन् भन्दा फरक परोइन।