सहर पसेकाे कवि
काठमाडाैं : नवीन प्यासी मूलतः कवि हुन् । तर उनी आफूलाई भने कवि भनिहाल्दैनन् । भन्छन्, ‘मैले आफ्ना पीडा, जीवनप्रतिको कुण्ठा, अनुभूतिलाई कविताको माध्यमबाट बाहिर निकाल्छु र शान्त हुन्छु ।’ कविता नै लेख्छु भनेर नलेखेर आफूलाई संप्रेषण गर्छु भनेर लेख्ने गरेको बताउँछन् ।
सहरमा मानिस अनेकौं सपना लिएर आउँछन् । लाग्छ, यो सहर सपनाहरुको चिहान हो । यहाँ हर पाइलामा सपनाको कंकाल भेटिन्छन् । सपनाको प्रेत लागेका मानिसहरु दौडिरहन्छन् । नवीन प्यासी भन्छन्, ‘यो सहर मेरो पनि हो, यहाँ मेरो पनि सपनाको आत्माहरु छन् ।’ सहरप्रतिको प्यासीको दाबी जायज छ ।
शुरुमा उनलाई कविता लेखेर मञ्च खोज्ने हुटहुटीले कविता लेखायो । आफ्ना मनका भावना शब्द र लयले अर्को मान्छेसम्म पुर्याउने कुरामा उनलाई गहिरो रुची भयो । ‘बिस्तारै यो क्रम लतजस्तै बन्दै गयो’, नवीन भन्छन्, ‘यसपछि लेखनमा जिम्मेवारी, चेतना र कर्तव्य थपिएपछि त लेखनबाट भाग्नै सकिएन ।’ यिनै युवाकवि नवीन प्यासी यसै हप्ता साताको साहित्य पुरस्कारबाट सम्मानित भए ।साताको साहित्य डटकमले वर्षभरी प्रकाशित रचनामध्येबाट उत्कृष्ट एक रचनालाई प्रदान गर्ने यो पुरस्कार उनले हात पारेका हुन् । अष्ट्रेलियाबाट सञ्चालित यस संस्थाले उनलाई पुरस्कार दिने घोषणा गत शनिबार गरेको हो ।
विभिन्न राष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत भइसकेका तथा काठमाडौं र काठमाडौंबाहिर उनका एकल वाचन गरिसकेका प्यासीले अहिले बोध गरेको कुरा हो, ‘प्रतियोगिताले कवि नबनाउँदो रहेछ ।’ भन्छन्, ‘म संसार जित्न हिँडेको मान्छे होइन, म आफैं विरुद्ध लडाइँ लडिरहेको मानिस हो । उनी आफ्नै चेतना, मान्यता र हठको विरुद्ध लडिरहेको बताउँदै भने, ‘ तर म सात अरब सपनामध्ये एउटा सपना हुँ ।
नवीन प्यासी कवितालाई ध्यानको उपमा दिन्छन् । कवितामा शालीन विद्रोह गर्न रुचाउने प्यासी आक्रोश र ठूलाठूला नारालाई कविताको शिल्पमा बुन्न उति रुचि राख्दैनन् । भन्छन्, ‘कवितामा मैले आफूभित्रको नदेखिएको जीवनको उछ्यास् लेख्न कोसिस गर्छु ।’ उनले लेखेका फिक्सनका स–साना प्लटहरू फेसबुकमा सेयर गरिरहन्छन् । बाटो भेटिएका हर कुरालाई आफूसँग जोडेर लेखिएका स्टाटसहरु निकै रुचाइन्छन् । मनमा उब्जेका हासपरिहास र नोस्टाल्जिया टिपेर प्लट बनाउने उनी भन्छन्, ‘म सामुन्ने आएका हर कुरासँग संवाद गर्न चाहन्छु ।’
ठट्टा गरिरहनुपर्ने खालको मिजाशिलो स्वभावका नवीन प्यासी झट्ट हेर्दा मोडलिङ गर्ने वा युट्युबमा अभिनय गर्ने कलाकारजस्तो देखिन्छन् । तर बौल्दै र खुल्दै गइसकेपछि समाज र कर्मप्रति निष्ठावान् युवा भएको प्रतित जोकोहीलाई भइहाल्छ । आखिर झट्ट हेर्दा नुन पनि चिनीजस्तो र चिनी पनि नुनजस्तो देखिन्छ । यसको भित्री अन्तर्य थाहा पाउन पानीसँग त्यो पदार्थको समागम हुनैपर्छ ।
प्यासी आफेँ पनि स्वीकार्छन् कि उनी एक यायावर हुन् । समस्या र सानातिना उल्झनले केही प्रभाव नपार्ने यायावर । हर कुरालाई चियर्स गर्न खोजिरहन्छन् । अगाडि भएका हर कुरा भोलि अरु कसैको आफ्नो हुनसक्ने मत राख्छन् । भन्छन्, ‘तर ती कुराहरु सामुन्ने भएसम्म यसरी बाँचुँ कि भोलिको दिनमा आफूसँग सुन्दर स्मृतिहरुका संग्रहालय नै होउन् ।’
यात्रा उनको अर्को शौख हो । यात्राले नै जनजीवन र प्रकृतिका लुकेका रहस्य बोध गराइदिने बताउँछन् उनी । यात्राले म को हुँ भनेर आत्मसमीक्षा गराउँछ भन्छन् । फुर्सद मिल्ने बित्तिकै काठमाडौं आसपासका डाँडाहरू र उपत्यका आसपासका जिल्लातिर पुगिहाल्छन् । यात्रामा निस्कँदा उनको यौटा शर्त हुने गर्छ त्यो हो, फकिरपना । घुक्ने डुल्ने र केवल यात्राकै वरीपरि केन्द्रित रहेर त्यो समयलाई चियर्स गर्ने । समूहमा अक्सर यात्रा गर्ने उनी एक्ला यात्री हुन रुचाउँछन् ।
पाँच वर्षअघि, एउटा किशोर खोटाङबाट काठमाडौं आयो। त्यतिबेला ऊसँग केही थिएन, मीठो सपना शिवाय । भर्खरै प्लस टु सकेर बिबिए पढ्नकै लागि ऊ सहर आएको थियो । तर, यहाँ पढ्नभन्दा दूरको कुरा गाँस र वासकै लागि शरणार्थी जस्तो जीवन बिताउन बाध्य हुनुपर्यो । यस्ता दिन आए, न ऊ दिल खोलेर हाँस्न सक्यो न त रुन नै ।
रातहरु मन्दिरका सिँढीहरुमा, गल्लीमा बित्थे हल्लिएरै बित्थे । जीवनलाई फर्केर हेर्दा यो सपनाझैं लाग्छ उनलाई । तिनै गन्तव्यहीन समयले एउटा किशोरलाई कविताको लय दियो । र त्यो लयलाई पकडिएर ऊ साँच्चै कवि बन्यो । त्यो कविको एउटा नाम बन्यो, ‘नवीन प्यासी’। उनी काठमाडौं आउनुपूर्व नवीन काजी राई थिए । काठमाडौं आएपछि एकाएक उनी नवीन प्यासी बने । यिनै कवि प्यासी बेलाबखत भन्ने गर्छन् कि, ‘यो सहर मेरो पनि हो ।’ उनी यो सहरमा आफ्नो पाइलाको डोब खोज्न मन पराउँछन् । उनी यो सहरमा बन्धन मन पराउँदैनन् । भन्छन्, ‘यो सहरले मलाई ठूलो सबक सिकाएको छ।’
दिनदिनै सयौं पटक मनले ‘विदेश’ उच्चारण गरे पनि उनी काठमाडौंमा टिक्न चाहन्थे । यहीँ टिक्नको लागि आफूले ठूला संघर्ष गर्नुपरेको उनको अनुभव छ । ‘मैले गर्न बाँकी त कुनै काम राखिनँ होला,’ प्यासी त्यतिबेला काठमाडौंमा गरेको दुःख सम्झन्छन् । उसो त उनी अहिले पत्रकारिता गर्छन्, अरुको दुःख लेख्छन् ।
कहिले ज्यामी, कहिले वेटर, गार्ड लगायत सबैको अभिनय गरेको उनको अनुभव छ । ठूलो सपना बोकेर आएका उनी सपनाभन्दा परको काम गर्नुपर्दा फ्रस्टेड भए जीवनसँग । त्यति नै बेला उनको साहारा बन्न पुग्यो कविता । कविता लेख्न थाले र पीडालाई कम गर्न थाले । मञ्चहरुतिर कविता सुनाउने रहर हुँदा सातदोबाटोतिर हुने कार्यक्रमका एक संयोजकले मेलमा कविता पठाउनु भनेका थिए । उनले लगातार ४ पटकजति पठाएपछि उनले वाचनको मौका पाएका थिए । हाँस्दै भन्छन्, ‘त्यस्तै थिए ती दिन ।
बिस्तारै समकालीन पुस्ताको सशक्त कविको रुपमा प्यासी परिचित हुन थाले । कवितासँगै पत्रकारिताको क्षेत्रमा पनि प्यासी उतिकै सक्रिय छन् । भन्छन्, ‘मलाई कविताभन्दा ज्यादा जीवनप्रति कम गुनासो बोकेर जीवन जिउनु छ, त्यो नै मैले लेखेको सबैभन्दा सुन्दर कविता हो ।’