पूर्व मिस टिन खुश्बुको गाउँप्रेम
झापाको दक्षिणमा रहेको झापा गाउँपालिका पुगेपछि देख्न सकिन्छ, मदरगाछ गाउँ। टाढासम्म बाँझो जमिन। कहीँ कतै भने तोरी र फापरको खेती छ। यहाँका गाउँलेको जीवन त्यति सुन्दर छैन तर सपना भने विशाल छ। ‘तपाईंले त्यो ठाउँमा अकल्पनीय दृश्य देखिरहनुभएको छ। म भविष्य देखिरहेकी छु’, १९ वर्ष पहिलेकी लिटिल लेडी खुश्बु ओलीले भनिन्। मदरगाछको भविष्यसँग जोडिएकी महŒवपूर्ण पात्र खुश्बु ओलीलाई भेटेर सुन्न सकिन्छ, मदरगाछको सुन्दर भविष्यको वर्णन।
झापाको सुरुंगामा रहेको एउटा रेस्टुरेन्टमा हालै भेटिएकी खुश्बु भन्दै थिइन्, ‘त्यो गाउँको बाँझो जमिनमा उद्योगी पवन गोल्यान र त्यहाँका किसान मिलेर खेती उब्जाउने हो। खासमा मदरगाछ र वरपर रहेका किसानका लागि गोल्यानले यो खेतीको अभियान चलाएका हुन्। त्यसमा मेरो पनि योगदान छ।’
ओली देख्नमा जति सुन्दर छिन्, उत्तिकै बौद्धिक पनि। बेलायतमा राजनीतिशास्त्र पढ्दै गरेकी उनी केही समययता नेपालमै छिन्। सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन्। पूर्वसुन्दरी ओलीको योजना भविष्यमा राजनीतिमा लाग्ने पनि छ।
उनले भनिन्, ‘म डेढ वर्षदेखि बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अन्डर ग्राजुएट गरिरहेकी छु, राजनीतिशास्त्र, कानुन र इतिहास विषय लिएर। पढाइ राम्रो गइरहेको छ। त्यसो त बेलाबेलामा आई नै रहेकी छु।’ राजनीति नै मेरो विषय भएकाले सुरुमा संयुक्त राष्ट्रसंघको मिसनमा रहेर नेपालजस्ता विकासोन्मुख राष्ट्रमा काम गरिरहेको उनले सुनाइन्।
ब्युटी कन्टेस्ट विजेता यो बाटोमा कसरी नि ? उनी भन्छिन्, ‘सामाजिक काममा लाग्ने इच्छा पहिलेदेखिकै हो। मेरा हजुरबुवा र बुवा पनि सामाजिक कार्यमा क्रियाशील भएकाले म त्यही संस्कारमा हुर्कें। अरूलाई खुसी बनाउँदा सन्तुष्टि मिल्छ। मिस टिनमा समेत मैले आफूले जीवन बाँच्ने क्रममा अरूलाई पनि हँसाएर गरौं भनेकी थिएँ।’
यो त भावना र कदरको कुरा भयो तर पछिल्ला वर्षमा मदरगाछमा युवाको संख्या पातलिँदै गएको छ। अहिले झापा गाउँपालिकामा मात्रै ३५ हजारभन्दा बढी मानिस छैनन्। ‘जनसंख्या कम त होइन, उर्वर भूमि पनि प्रशस्तै छन् तर युवाको संख्या कम देख्दा नरमाइलो लाग्छ’, ओली भन्छिन्, ‘आफ्नो इनिसियसनमा सुरु भएको प्रोजेक्ट भएर होला, यो गाउँ र यहाँका किसानको अति माया लाग्छ।’
अध्ययनपछि नेपाल फर्केकी खुश्बुलाई आफ्नो इच्छा पूरा गर्नु थियो। आ श्रय नेपाल संस्था चलाएर बसेकी खुश्बुसँग सामाजिक कार्य गर्ने सपना थियो। हुन त सामाजिक काम स्वैच्छिक विषय हो तर यसका लागि मन भएर मात्र हुँदैन, धन पनि चाहिन्छ। धन र मन दुवै हुनेमा मात्र यस्तो काममा सफलताको सम्भावना बलियो बन्दै जान्छ। त्यसै क्रममा उस्तै भिजन बोकेका धनाढ्य उद्योगी पवन गोल्यानसँग भेट भयो। उनीहरूको सहकार्यमा गाउँमा खेतीको योजना बन्यो।
योजनाअनुसार काम सुरु पनि भयो। उनको भनाइमा कृषिलाई व्यवसायीकरण गर्न भिजन मात्र होइन, लगनशीलता चाहिन्छ। खुश्बु आफैं फिल्डमा खट्छिन्। नतिजा उनको भिजनलाई सपोर्ट गर्ने किसिमको छ, जसबाट उनी असाध्यै उत्साहित छन्। ‘अब यहाँ कागती रोपेपछि फल्न दुई वर्ष लाग्छ। त्यसबीच इन्टर क्रपिङ हुन्छ। यो जमिनमा मेवा, तेजपात, अदुवा, बेसार जस्ता अन्य फलफूल लगाउने हो’, खुश्बु खेतमै छिन् र किसानले झैं बालीको योजना बनाइरहेकी छन्।
आफ्नै गाउँघरका दुःख पनि हेर्नुपर्ने उनको भनाइ छ। उनले समाज, देशका लागि केही गर्नुपर्ने तर त्यस्तो नभएको बताइन्। उनले भनिन्, ‘धेरैजनाले अवसर पाएको हिसाबले त्यो राम्रो पनि भइरहेकै छ। तर, त्यो उपयुक्त ठाउँमा प्रयोग भएको भए उत्पादनमूलक हुन्थ्यो।’ यस्तो प्रायः नभएकाले त्यो अवसर त्यत्तिकै गुमिरहेको उनको जिकिर छ।
धनाढ्य गोल्यानसँगको सहकार्यमा खुश्बुले एक गाउँ नै बनाइदिने प्रयास गरेकी हुन्। नेपालमा धागो, कपडा उद्योगमा लगानी रहेको गोल्यान परिवारका सदस्य पवनको स्वदेशप्रति आत्मीयता देखिन्छ। खुश्बुसँगको यो सहकार्य के कसरी अघि बढ्छ, त्यसका लागि भने प्रतीक्षा गर्नैपर्छ।