पश्चिमाले नेपाललाई प्रयोगशाला बनाउन खोजे : योगेश भट्टराई
काठमाडौँ : सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले नेपालको शान्ति प्रक्रियामा पश्चिमाहरुले खेल्न खोजिरहेको बताएका छन् । नेता भट्टराईले लामो द्वन्द्व व्यवस्थापन र संक्रमणकालिन न्यायको अभ्यास पास गर्दै नेपाल शान्ति प्रक्रियामा अघि बढिरहेका बेला पश्चिमा मुलुकहरुले प्रयोगशाला बनाउन खोजेको गुनासो गरेका हुन् ।
'संक्रमणकालिन न्याय र द्वन्द्व ब्यबस्थापनका हाम्रा आफ्नै अभ्यास र अनुभब, अन्तरास्ट्रिय अभ्यासहरुका अनुभव र नेपालको स्थायी हितमा कानुनी बाटोबाट यो बिषय अघि बढाउन नेपाल र वर्तमान सरकार प्रतिवद्ध छ', उनले सामाजिक सञ्जालमा भनेका छन्, 'यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव सधैँ अपेक्षित रहन्छ । नेपाललाई प्रयोगशाला नबनाउन र आफ्ना स्वार्थको भारी नेपाली जनतालाई नबोकाउन अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्दछु ।'
नेपालको शान्ति प्रक्रियासँग जोडिएका डा. गोविन्द केसीका केही मागप्रति इंगित गर्दै नेता भट्टराईले नेपालको शान्ति प्रकृया विश्वकै नमूना भएकाले संक्रमणकालिन न्याय र द्वन्द्व ब्यवस्थापनका लागि अन्तरास्ट्रिय अभ्यासका अनुभव र नेपालको स्थायी हितमा कानुनी बाटोबाट अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।
'नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना बनेको कुरा इतिहासबाट मेटाउन नसकिने सत्य हो', उनले भनेका छन्, 'द्वन्द्वलाई शान्तिपूर्ण र बैधानिक बाटोबाट अधि बढाउँदै संबिधान निर्माण, तीन तहको निर्वाचन, संक्रमणकालिन न्यायका लागि अधिकार सम्पन्न आयोगको गठनसहितका काम पनि सहमतिबाटै सकिएको र कतिपय काम सकारात्मक रुपमा जारी रहेको पनि बिर्सन मिल्दैन ।'
नेता योगेशले नेपाली राजनीतिक नेतृत्वको सुझबुझ, जनताको सहयोग र धैर्यता तथा संयुक्त राष्ट्र संघसहितका अन्तर्राष्ट्रिय संस्था र मित्र राष्ट्रको सद्भाभावले यी कामहरु भएका बताएका छन् । उनले यसमा नेपालले अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिन पनि नचुकेको उल्लेख गरेका छन् ।
'कुनै पनि स्वतन्त्र मुलुकले आफ्ना घरेलु मामिलामा आफैँ निर्णय गर्ने अधिकार राख्छ', उनले भनेका छन्, 'स्वतन्त्र पररास्ट्र नीति अवलम्बन गर्ने अधिकार पनि अन्तरनिहित हुन्छ ।पछिल्ला दिनमा नेपालको शान्ति प्रकृयाबारे संयुक्त राष्ट्र संघसहित केही मुलुकका नियोगहरुले सँगै बक्तब्य जारी गर्नु नि:सन्देह असुहाउँदो कुरा हो ।'