यूएईलाई नेपालले दियो ११४ रनको लक्ष्य, सुरुवाती बलिङ सशक्त
काठमाडौं : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले यूएईलाई ३३.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ११४ रनको लक्ष दिएको छ ।
राम्रो लयमा खेलिरहेको यूएईको टीमका लागि नेपालले दिएको यो झिनो चुनौती हो । टस हारेर खराब प्रदर्शन गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो ।
मुस्किलले ११३ रन बनाएको नेपाली टीमका लागि सोमपाल कामीले ३० रन बनाएका थिए । आरिफ शेखले २५ र कप्तान पारस खड्काले जम्मा २० रन बनाए ।
सोमपाल र आरिफले तुलनात्मक रुपमा राम्रो खेले पनि समग्र नेपाली टोलीको प्रदर्शन अपेक्षा गरे भन्दा कमजोर थियो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी समेत जम्मा ५ रनमै आउट भएका थिए ।
यस्तै पवन सर्राफले ४ र करण केसीले ३ रन मात्रै जोडे । ओपनिङमा खेलेका मल्ल र विनोदको कमजोर प्रदर्शनबाटै नेपाली टोली खेल अवधिभर दबाबमा खेलिरह्यो । अहिले सुरु भएकाे दाेस्राे ईनिङमा भने नेपालले सशक्त बलिङ गरिराखेकाे छ । नेपालका लागि करण केसीकाे बलमा यूएईका अस्फाक अहम्मद आउट भएका छन् ।