सभापति देउवा भन्छन् : सडक र सदनबाट विरोधमा उत्रिन्छौँ
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफ्ना पूर्व नेताहरुको नामै मेट्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा आफूहरुको विरोधकाबीच नेकपा नेतृत्वको सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि बाहिरिने क्रममा देउवाले सञ्चारकर्मीहरुसँग यस्तो भनेका हुन् ।
‘कम्युनिष्ट सरकारले कांग्रेस नेताहरुको नामै मेट्न खोज्यो, हाम्रा दुई नेताको नामै सुन्न चाहेन’, देउवाले भने, ‘हाम्रा नेताको नाममा खुलेका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णय हामीलाई कदापि स्वीकार्य छैन ।’
सभापति देउवाले कम्युनिष्ट पार्टीको कार्यविरुद्ध कांग्रेसले निरन्तर विरोध कार्यक्रम राख्ने पनि जानकारी दिए । ‘हाम्रो विरोध निरन्तर जारी रहन्छ । सदन र सडक दुवै ठाउँमा कांग्रेसले विरोध चर्काउँछ’, देउवाले अगाडि भने ।