डा. केसीलाई योगेश भट्टराईको सुझाव, 'उत्सव मनाउनुहाेस्'
काठमाडौं : नेकपाका सांसद् योगेश भट्टराईले १७ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन सुझाव दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्।
‘डा. केसीले १६ पटकसम्म अनसन बसेर अगाडि सारेका माग पूरा भएका छन्। अब उहाँ अनसन तोडेर उत्साव मनाउन आउनुपर्छ’, सांसद् भट्टराईले भने, ‘अब तपाईं पनि उत्सवका निम्ति तयार हुनुहोस्।’
सँगै भट्टराईले अब केसीका नाममा राजनीति गर्ने दिन गएकोसमेत बताए।
विधेक पारित भएपछि केसीका शतप्रतिशत माग पूरा भएको भट्टराईको भनाइ छ ‘तपाईंका शतप्रतिशत माग पूरा भएका छन्’ भट्टराईले भने, ‘अब सँगै उत्सव मनाऔं।’ उनले अब जीवनभर केसीले अनसन बस्नु नपर्नेसमेत दाबी गरे।
सँगै सांसद् भट्टराईले कांग्रेसका स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल कुनै पनि हालतमा बन्द नहुने विश्वास प्रतिपक्षी दललाई दिलाएका छन्।
उनले अस्पतालका विषयमा चिन्ता नलिन प्रतिपक्षी दल कांग्रेसलाई आग्रहसमेत गरेका छन्।